पुर्व प्रधानमन्त्रीका ड्राइभरले महिला पत्रकारको मुखमा थुकेपछि…

पुर्व प्रधानमन्त्रीका ड्राइभरले महिला पत्रकारको मुखमा थुकेपछि…


लन्डन ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ यतिबेला स्वदेश फर्कने चर्चामा छन् ।

यसैबीच उनका चालकले निकै घिनलाग्दो काम गरेका छन्, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा उनी एक महिलामाथि थुकेको देखिन्छ । विशेष कुरा के छ भने यो घटनाका बेला नवाज शरीफ आफैं कारमा उपस्थित देखिन्छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा एक महिला ७३ वर्षीय राजनीतिज्ञको कार नजिक आउँदै गरेको देखिन्छ । पूर्व प्रधानमन्त्री नवाज शरीफ आफै अगाडिको सिटमा बसेका छन् । नवाज शरीफलाई महिलाले सोधिन्, ‘के तपाई भ्रष्टाचारी हुनुहुन्छ ?’ यसै क्रममा पीडित महिलाले मोबाइलमा जवाफ रेकर्ड गर्ने प्रयास गरिरहेकी छिन् ।

भाइरल भिडियोमा चालकले कारको झ्याल खोलेको देख्न सकिन्छ, जसमा महिलाले आफ्नो प्रश्न दोहोर्‍याउँछिन् । उनी भन्छिन्, ‘मैले सुनेको छु कि तपाईं पाकिस्तानी राजनीतिज्ञ धेरै भ्रष्ट हुनुहुन्छ।’ यो प्रश्नबाट रिसाएर नवाज शरीफको ड्राइभरले उनको अनुहारमा थुक्छ, झ्याल लगाउँछन र त्यहाँवाट कुनै जवाफ नदिई हिडछन् ।

पाकिस्तान तहरीक ए इन्साफ पार्टीकी सदस्य डाक्टर फातिमाले ट्विटरमा भिडियो शेयर गर्दै भिडियोमा देखिएकी महिला पत्रकार भएको लेखेकी छन् । उनले लेखेकी छिन्, ‘नवाज शरीफका ड्राइभरले प्रश्न सोध्ने पत्रकारको अनुहारमा थुके, यसको विरुद्धमा कुनै पनि उदारवादी, बुद्धिजीवी वा नारीवादी बोल्दैनन् । तर यो अत्यन्तै घृणित छ।’

सो घटना गत सेप्टेम्बर १६मा लण्डनको हाइड पार्क क्षेत्रमा भएको बताइएको छ । नवाज शरीफ २०१९ मा पाकिस्तान छोडेर लन्डनमा बस्दै आएका छन् ।

नवाज सरिफलाई सन् २०१८ मा भ्रष्टाचार मुद्दामा दोषी ठहर गरिएको थियो । त्यसपछि उनलाई ७ वर्षको जेल सजाय सुनाइएको थियो । यसपछि सन् २०१९ मा उनी उपचारका लागि लण्डन गएका थिए र त्यहाँदेखि नै बस्दै आएका थिए तर अब उनी अक्टोबर २१ मा पाकिस्तान फर्किने खबर छ ।