जिम्मेवारी राष्ट्रिय सुरक्षाकाे, काम सडक निर्माण

जिम्मेवारी राष्ट्रिय सुरक्षाकाे, काम सडक निर्माण


काठमाडौँ ।

राष्ट्रिय सुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाली सेना रणनीतिक महत्त्वका सडक पूर्वाधार निर्माणमा पनि सक्रिय छ ।

नेपाली सेनाको व्यवस्थापनमा ४ वटा सडक आयोजनाको निर्माण तीव्र गतिमा भइरहेको छ । राष्ट्रिय गौरवका काठमाडौँ तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक), खाँदबारी-किमाथांका (च्याम्ताङ-घोंघप्पा), कर्णाली करिडोर (लालीबगर-दुल्लीकुना खण्ड र घाटपारीचौर-बद्रीगाउँ-भुक्का खोला खण्ड) सेनाको व्यवस्थापनमा अघि बढेका सडक आयोजना हुन् ।

बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक र दार्चुला-तिंकर (तुसारपानी-तिंकर खण्ड) पहिलो प्राथमिकताका सडक आयोजना सेनाकै व्यवस्थापनमा निर्माण भइरहेको छ । ती सडकको लम्बाइ कुल २७४.५३७ किलोमिटर छ ।

रानी, विराटनगरदेखि किमाथांकासम्मको ३९० किमी दुरीको राष्ट्रिय गौरवको आयोजनामध्ये सेनाको व्यवस्थापनमा खाँदबारी-किमाथांका सडकअन्तर्गत (च्याम्ताङ-घोंघप्पा खण्ड) १०.५१ किमी सडक निर्माण कार्य भइरहेको छ । २०७७ माघ २४ गतेबाट निर्माण सुरु एको उक्त सडक ९ मिटर फराकिलो हुनेछ ।

गत आवसम्म उक्त सडकको प्रगति ६ दशमवल ५ किमी रहेको र चालु आवमा २ किमी नयाँ ट्र्याक निर्माण र ३ दशमवल ५ किमी ट्र्याक स्तरोन्नतिको लक्ष्य राखिएको छ ।

निर्माणाधीन राष्ट्रिय गौरव एवं रणनीतिक महत्व बोकेका सडक पूर्वाधार आयोजना निर्माण कार्यमा प्राप्त जिम्मेवारीलाई गुणस्तरीय लक्षित समयसीमाभित्रै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए । कर्णाली करिडोर सडक आयोजनाअन्तर्गत लालिबगर-दुल्लिकुन्ना ११ किमी र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डको ११ दशमलव ५ किमी क्षेत्रमा सेनाले काम गरिरहेको छ ।

लालीबगर-दुल्लिकुन्ना खण्डमा गत आवसम्म छ किमी र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा तीन दशमलव पाँच किमी ट्र्याक खोलिएको छ भने चालु आवमा लालिबगर-दुल्लिकुन्ना खण्डमा दुई दशमलव पाँच नयाँ ट्र्याक निर्माण र घाटपारीचौर-बद्रीगाउँ-भुक्काखोला खण्डमा एक दशमलव ५ किमी ट्र्याक निर्माणको गर्ने लक्ष्य राखिएको छ । बाँकेको जमुनाहादेखि हुम्लाको हिल्सासम्मको सो आयोजनाको कुल लम्बाई छ सय ८२ किमी छ ।

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको बेनिघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक (एक सय ५४ किमी)मध्ये सेनाको व्यवस्थापनमा कूल ९२ किलोमिटर क्षेत्र निर्माण भइरहेको छ । सो आयोजनाको गत आवसम्म ३५ दशमवल ५ किमी नयाँ ट्र्याक निर्माण भएको छ भने चालु आवमा दुई दशमवल ५ किमी नयाँ ट्र्याक निर्माण र तीन किमी स्तरोन्नतिको लक्ष्य राखिएको छ ।

यस्तै महाकाली करिडोरअन्तर्गत दार्चुला-तिंकर (तुषारपानी-तिंकर खण्ड) सडक आयोजनाको कूल चार सय २५ किमीमध्ये सेनाले ७९ किमी सडक सेनाको अगुवाईमा निर्माण कार्य भइरहेको छ । गत आवसम्म १० दशमलव ४ किमी सडक ट्र्याक निर्माण सम्पन्न भएको छन् चालु आवमा नयाँ तीन किमी र दुई किमी स्तरोन्नतिको लक्ष्य राखिएको नेपाली सेनाले जनाएको छ ।

कडा चट्टानयुक्त भूबनोट तथा अग्ला पहाड र भीर भएका कारण ती सडक आयोजनामा काम गर्न चुनौतीपूर्ण रहेको सेनाका प्रवक्ता भण्डारीको भनाइ छ । सेनाले यसअघि मुलुकका हिमाली तथा पहाडी क्षेत्रमा विकट भौगोलिक अवस्थामा रहेका विभिन्न १० वटा सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ । ती सडकको कूल लम्बाई एक हजार चार सय ११ किलोमिटर छ ।

सेनाले सुर्खेत-जुम्ला ८८ किमी, बेनी-जोमसोम ९१ किमी, छिन्चु-जाजरकोट ४५ किमी, बेँसीसहर-चामे ६५ किमी, नाङ्मा-गमगढी ९४ किमी, द्रुतमार्गको ‘ट्र्याक’ निर्माण ८० किमी, मैलुङ-स्याफ्रुबेँसी १७ किमी, जाजरकोट-डोल्पा (दुनै) एक सय १७ दशमलव ७ किमी, कालीगण्डकी कोरिडोर (गुल्मी-बागलुङ खण्ड) ७५ दशमलव ४ किमी र कर्णाली कोरिडोर (खुलालु-लैफु-सलिसल्ला खण्ड) एक सय २२ दशमलव ७५ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

यसबीचमा सेनाले प्राकृतिक प्रकोप तथा बाढीपहिरोका कारण अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा हालसम्म ३७ वटा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्न सहयोग पुर्‍याएको छ । संविधानमा नेपाली सेनालाई राष्ट्रिय सुरक्षाको अतरिक्त विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा सते परिचालन गर्न सकिने व्यवस्था छ ।

राष्ट्रिय सुरक्षा नीति २०७५ मा भौतिक पूर्वाधारमा जोड दिने एवं राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन एकीकृत कार्ययोजना, विकास र समृद्धिका कार्यमा नेपाली सेना संलग्न हुने उल्लेख छ । नेपाली सेना राष्ट्रिय सुरक्षाका साथै विकास निर्माण कार्यमा लामो समयदेखि निरन्तर सहभागी हुँदै आएको छ ।