new

नेपाल चार दर्शनको उत्पत्तिस्थल

Published Date: August 1, 2017

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानमा ‘नेपाली दर्शनका विविध पक्ष’ विषयको गोष्ठीमा विभिन्न चार दर्शनका विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ ।

प्रतिष्ठान, दर्शन विभाग र नेपाल प्राज्ञिक अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा सोमबार आयोजित कार्यक्रममा दर्शनका ज्ञाता विष्णु प्रभातले ‘प्र्रकृतिपूजक बोन दर्शन संक्षिप्त परिचय’, डा. भक्त राईले ‘किरात राई मुन्धुमको तत्व मीमांसा’, डा चन्द्रकुमार शेर्माले ‘किरात धर्म, मुन्धुम दर्शन’ र किरण राईले ‘प्रेमवाद दर्शनको परिचय’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

दर्शन विभागका प्रमुख दिनेशराज पन्तको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा मुन्धुमविद् वैरागी काइँलाले नेपालमा मुन्धुमी दर्शनदेखि बौद्ध दर्शन, सत्यहाङ्मा पन्थी किरात दर्शन र प्रेमवादसम्मको उत्पत्ति भएको बताउँदै दर्शनको सही व्याख्या र प्रचारप्रसारमा ध्यान पु¥याउन जरुरी रहेकामा जोड दिए।

प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानले छुट्टै दर्शन विभागको स्थापना गरेर नेपाली दर्शनमा बहस र छलफलको परम्परा बसाएको बताए भने सदस्य सचिव जीवेन्द्रदेव गिरीले पुर्खाले विविध दर्शनको खोज गरेको उल्लेख गर्दै दर्शनले जीवन र जगत्लाई हेर्न र बुझ्न सहयोग पुर्याउने बताएका थिए।

अनुसन्धान केन्द्रका अध्यक्ष डा भक्त राईले गोष्ठीले मूलधारमा नपरेका दर्शनलाई पनि छलफल र बहसमा ल्याउन जरुरी भएको उल्लेख गरेका थिए।

लोकप्रिय