ठेकेदारको फोटो टाँसेर स्थानीयले सोधे, ‘माननीयज्यू बाटो कहिले बन्छ ?’

ठेकेदारको फोटो टाँसेर स्थानीयले सोधे, ‘माननीयज्यू बाटो कहिले बन्छ ?’


सुर्खेत ।

पश्चिम सुर्खेतको बड्डीचौरदेखि खम्मागाढेसम्मको १२.६ किलोमिटर सडक निर्माण नगरेको भन्दै स्थानीयले प्रतिनिधि सभा सदस्य दिक्पालकुमार शाहीको फोटो टाँसेर विरोध जनाएका छन्।

दैलेख २ बाट निर्वाचित सांसद शाहीले यो सडक कालोपत्रे गर्नका लागि २०७९ भदौ ५ गते ठेक्का संझौता गरेका थिए। २०८० असार १५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सडकको भौतिक प्रगति जम्मा १३ प्रतिशत मात्रै छ।

समयमै काम नगरेको भन्दै स्थानीयहरूले नेता ठेकेदार शाहीको फोटोहरु निर्माणस्थलमा टाँसेर लेखेका छन्, ‘माननीय ठेकेदार दिक्पाल शाहीज्यू बाटो कहिले बन्छ’

यो सडक कालोपत्रे गर्नका लागि प्रतिनिधि सभा सदस्य शाहीको अनक जयदेवी जेभीले पूर्वाधार विकास निर्देशनालय सुर्खेतसँग ४२ करोड ४७ लाख ६१ हजार रुपैयाँमा संझौता गरेको थियो।