घाँटीको आधा भाग छिनाइएको अवस्थामा भेटिइन् भावना

घाँटीको आधा भाग छिनाइएको अवस्थामा भेटिइन् भावना


सुर्खेत ।

रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा महिला मृत अवस्थामा भेटिएकी छिन् ।

ती महिलाको महिलाको बीभत्स तरिकाले हत्या गरिएको बताइएको छ ।

मुसीकोट नगरपालिका –१ खलंगामा रहेको होटेल सत्कारको कोठा नम्बर १ मा मंगलबार बिहान मृत अवस्थामा भेटिएकी मुसीकोट नगरपालिका –७ साँख घर भई मुसीकोट नगरपालिका १ छिङस्थित माइती घरमा बस्दै आएकी २८ वर्षीया भावना बिकको घाँटी रेटेर हत्या गरिएको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईका अनुसार घटनास्थल प्रकृति हेर्दा महिलाको हत्या बीभत्स तरिकाले गरिएको छ । डिएसपी भट्टराईले घाँटी रेटिएको र आँखा छोपिएको अवस्थामा शव रहेको बताए ।

प्रहरीले घटनास्थलबाट धारिलो चक्कु समेत बरामद गरेको छ । महिलाको घाँटीको भाग आधाभन्दा बढी छिनाइएको छ ।

प्रहरीले महिला हत्याको घटनाको अनुसन्धानका लागि कुकुरसहितको अनुसन्धान टोली मगाएको थियो । मंगलबार बेलुका घटनास्थल पुगेको कुकरसहितको विशेष प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । घटनाको सफल अनुसन्धानको नजिक पुगिसकेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा समेत लिएको छ । पक्राउ परेकाको विवरण भने सार्वजनिक गरिएको छैन ।

घटनाको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम, नेपाल प्रहरीको केनाइन कुकुर शाखा कोहलपुरबाट तालिम प्राप्त कुकुर र प्रदेश प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा आएको टोलीले अनुसन्धान गरिरहेको छ ।