म्याग्दी नदीमा ११४ मिटर लामो झोलुङ्गे पुल निर्माण

म्याग्दी नदीमा ११४ मिटर लामो झोलुङ्गे पुल निर्माण


म्याग्दी ।

मालिका गाउँपालिका–१, खोप्ती र वडा नं. ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ ।

५९ लाख ९ हजार ३ सय ६५ लागतमा एक सय १४ मिटर लामो पुल निर्माण भएसँगै म्याग्दी नदी वारि र पारिका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ।

वि.सं २०७८ असोजदेखि निर्माण सुरु भएको उक्त पुल यही असोज २१ गते सम्पन्न भएपछि मङ्गलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

नवनिर्मित पुलको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गरेका हुन्। कार्यक्रममा उनले विकास निर्माणका पूर्वाधारले स्थानीयवासीको दैनिकीमा सहयोग पुग्ने बताए।

मालिका गाउँपालिका झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोग, टिविएसयु र पिटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीयवासीको श्रमदानमा उक्त पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लले जानकारी दिए। पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने भएको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति केबी भण्डारी र सचिव भरत रकाल, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा नं १ का वडाध्यक्ष टङ्कप्रसाद पुन, वडा नं ६ का वडाध्यक्ष पथबहादुर रोका, पिटिएपी पोखराका प्राविधिक अधिकृत दयाराम शाह, मिलनका प्राविधिक यामबहादुर विकलगायतले पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत तथा सामान ढुवानी गर्न सहज हुने विश्वास व्यक्त गरेका थिए।