११ अंकले ओरालो लाग्यो नेप्से, १ अर्बको कारोबार

११ अंकले ओरालो लाग्यो नेप्से, १ अर्बको कारोबार


काठमाडौं ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ओरालो लागेको छ ।

बजार सुधारका लागि नियामक निकाय मौन बसेपछि लगानीकर्तामा निराशा छाएको हो ।

बिहीबार नेप्से सूचक ११.०४ विन्दुले घटेर १९५६.९२ अंकमा झरेको छ । यस दिन १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् ।

यस दिन २८० कम्पनीको ३५ लाख ६२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ करोड ४३ लाख रुपैयाँसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र सोल्टी होटल परेका छन् ।

क्रेताहरू निस्क्रिय बस्दा बजारको ओरालो यात्रा जारी रहेको हो । सेयर बजार सुधारका लागि तत्काल नीतिगत सुधार आवश्यक रहेको जानकारहरूले बताउँदै आएका छन् ।

लगानीकर्ताले १२ करोडको क्याप हटाउन, १५० प्रतिशतको जोखिम भार १०० प्रतिशतमा झार्न अनि ब्याजदर घटाउने टुल्स प्रयोग गर्न माग गर्दै आएका छन् । तर यी ३ मध्ये अहिलेसम्म एउटा पनि समस्या समाधान गरिएको छैन ।

सरकार र नियामक निकायका पदाधिकारी चुपचाप बस्दा बजार दबाबमा परेको हो । लगानीकर्ताले भने बजार पुँजीकरणका आधारमा झर्दा करिब १४ खर्ब रुपैयाँ गुमाइ सकेका छन् । यसअघि ४४ खर्ब हाराहारीमा पुगेको बजार पुँजीकरण अहिले ३० खर्ब नजिक झरिसकेको छ ।