new

कीटजन्य रोगको जोखिमसँग सामना गर्न जनशक्ति छैन

Published Date: April 5, 2017

कल्पना पौडेल,हेटाँैडा । पछिल्लो समय नेपाल कीटजन्य रोगको उच्च जोखिममा परेको भएपनि त्यसको नियन्त्रणका लागि जनशक्तिको भने अभाव रहेको छ ।

सरकारले कीटजन्य रोगको नियन्त्रणका लागि हरेक क्षेत्रका क्षेत्रीय अस्पतालमा दरबन्दी कायम गरे पनि हेटौँडामा रहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा बाहेक अन्य पाँचै विकास क्षेत्रमा विज्ञको दरबन्दी खाली रहेको छ । केन्द्रमा पनि पारासाइटोलोजिस्ट, भेक्टर कन्ट्रोल अधिकृत, सहायक इन्टोमोलोजिस्टलगायतका पद खाली नै छन् ।

पछिल्लो समय साँघुरिँदै गएको विश्वमा मानिस एक देशबाट अर्को देश ओहोरदोहोर गरिरहन्छन् । यस क्रममा यी मानिसले आफूसँगै आफ्ना देशमा भएका रोगलाई शरीरमा बोकेर आउँछन् र उनीहरुलाई लामखुट्टे वा अन्य जीवले टोक्दा रोगका जीवाणु सर्ने खतरा अझ बढ्छ । विसं २०१५ मा औलोको महामारी फैलिएपछि औलो उन्मूलन सङ्घ स्थापना भएको थियो । पछि विश्वमा देखापरेको जलवायु परिवर्तन र बाहक जीवाणु (भेक्टर), विषाणुको स्वभावमा परिवर्तनका कारण औलोबाहेक कालाजार, जापानिज इन्सेफ्लाइटिस, डेङ्गु, हात्तीपाइलेजस्ता अन्य कीटजन्य रोगको पनि प्रकोप बढ्दै गएपछि विसं २०५४ जेठ १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा एकीकृतरुपमा कीटजन्य रोगको अनुसन्धान तथा तालिम गर्ने संस्थाको आवश्यकता महसुस गरी कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको रुपमा नामकरण गरेको थियो ।

देशको जुनसुकै स्थानमा कुनै कीटजन्य महामारी फैलियो भने केन्द्रबाटै टोली खटिनुपर्छ । सम्बन्धित जिल्लामा यससम्बन्धी जानकार व्यक्ति नहँुदा अनुसन्धानमा समस्या पनि हुने गरेको छ ।
पछिल्लो समय कीटजन्य जीवबाट हुने १० प्रकारका रोगको उच्च जोखिममा नेपाल रहेको विश्लेषण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा बाबुराम मरासिनी सुनाउनुहुन्छ । नेपालका एक मात्र कीटविज्ञ (इन्टोमोलोजिस्ट) शिशिरकुमार पन्तले जनशक्ति नहुँदा कीटजन्य रोगको प्रकोपका बेलामा जता पनि आफँै मात्र खटिनुपर्ने भएकाले अन्य जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपालमा कालाज्वर, जापानिज इन्सेफ्लाइटिस, डेङ्गु, चिकनगुनिया, वेस्ट नाइल भाइरस, हात्तीपाइले तथा स्क्रब टाइफस, जिका भाइरस, प्लेग, टाइफाइड, हैजा र आउँ रोगको जोखिम रहेको बताउनुभयो । यी रोगमध्ये धेरै रोग एडिस नामक लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टे नियन्त्रणको काम गर्न आवश्यक देखिएको उहाँको सुझाव छ । भुसुना, लामखुट्टे तथा मुसाबाट सर्ने घातक रोगको नियन्त्रणका लागि आवश्यक बजेट नहुँदा कार्यक्रम गर्न नसकिएको पूर्वनिर्देशक डा मरासिनीले अनुभव छ ।

नेपालमा बढ्दो अव्यवस्थित सहरीकरण र त्यसबाट हुने फोहरका कारण लामखुट्टेको बढ्दो विकासले यस्तो रोगको जोखिम बढाएको हो । मध्यमाञ्चल स्वास्थ्य निर्देशनालयका निर्देशक डा वासुदेव पाण्डे देश सङ्घीय संरचनामा जाने भएकाले तथा बढ्दो कीटजन्य रोगको फैलावका कारण यो केन्द्रलाई केन्द्रीय संरचनाभित्र राखी यसको कार्यक्षेत्रलाई विस्तार गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ । यसका लागि पनि जनशक्ति आवश्यक छ । डा मरासिनीले भन्नहुन्छ, “उपत्यका र बढी गर्मी हुने तराईका जिल्लामा बिनायोजना बढिरहेकोे सहरीकरणका कारण फोहरमैलाको व्यवस्थापन गर्न नसक्दा ठूला रोग फैलाउने लामखुट्टेको पनि वृद्धि भइरहेको छ जसले रोगको खतरालाई अझ बढाएको छ ।”

काठमाडौँ, पोखरा, चितवन, भैरहवा, नेपालगन्ज, वीरगन्ज, विराटनगरजस्ता ठूला व्यापारिक जिल्लामा बढ्दो जनसङ्ख्यासँगै कीटजन्य रोगको जोखिम पनि उच्च रहेको छ । समयमै यस्ता रोग नियन्त्रणका लागि सरकारले जनशक्ति उत्पादन गरी नियन्त्रणका कार्यक्रम नचलाउने हो भने यी रोग महामारीका रुपमा कुनै पनि समय फैलने खतरा रहेको कीटविज्ञ पन्तको भनाइ छ । उहाँले नेपालमा कीटजन्य रोग जनस्वास्थ्य समस्याका रुपमा देखापरेकाले नियन्त्रण र निवारणका लागि जनशक्ति निकै नै कम भएको बताउनुभयो । सङ्क्रमित रोग मानिसबाट मानिसमा अथवा जनावरबाट मानिसमा सार्न सक्ने यस्ता जीवित जीवमध्ये धेरैजसो रगत चुस्ने कीट हुन्छन् । यसमा पनि लामखुट्टेले धेरै रोग सार्छ । सुलसुले, उपियाँ, झिँगा, भुसुना, किर्ना, उडुस आदिले पनि कीटजन्य रोगको खतरा बढाएका छन् ।

नेपालमा समयमै कीटजन्य रोग नियन्त्रणका लागि योजनाबद्ध कार्यक्रम नल्याउने हो भने यसले धेरै ठूलो समस्या निम्त्याउने पक्का छ । नेपालमा एसिड नामक लामखुट्टेबाट डेङ्गु, चिकनगुनिया, चाँदीपुरा भाइरस, मलेरियाजस्ता डरलाग्दा रोगको खतरा छ । यसैगरी भुसुनाको टोकाइबाट कालाजार र मुसाको टोकाइबाट हुने स्क्रब टाइफस, प्लेगजस्ता डरलाग्दा ३७ रोगको खतरा रहेको रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

बढ्दो गर्मीसँगै लामखुट्टे पनि सक्रिय हुने भएकाले यसको टोकाइबाट बच्नु नै सबैभन्दा उपयुक्त उपाय भएको चिकित्सकको भनाइ छ । त्यसका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले जुनियर कीटविज्ञ उत्पादन गर्ने काम गरिरहेको छ । गर्मीको सुरुवातसँगै यस्ता रोग बढ्ने भएकाले जोखिमपूर्ण जिल्लाका स्वास्थ्यकर्मीलाई हेटौँडामा लामखुट्टेको जाँच गर्ने र अनुसन्धान गर्ने विधिबारे तालिम दिइरहेको पन्तले जानकारी दिनुभयो । लामखुट्टेको टोकाइबाट बच्न साँझमा घरबाहिर नबस्ने, लामा बाहुला भएका लुगा लगाउने, हातगोडामा तोरीको तेल लगाउने, राति सुत्दा झूल टाँगेर सुत्ने तथा घरवरपर पानी जम्ने खाल्टाखुल्टी भएमा पुर्नेजस्ता उपाय अपनाउन पनि चिकित्सकले सुझाएका छन् ।

यीबाहेक पनि सरकारी तवरबाट नै लामखुट्टे नियन्त्रणका लागि सहरमा ढलको उचित व्यवस्थापन तथा कीटजन्य रोग नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम गर्न आवश्यक देखिएको छ । यदि माथि उल्लिखितमध्ये कुनै एक रोगले पनि महामारीको रुप लिएमा यसको नकारात्मक असर मुलुककै अर्थतन्त्र, शिक्षा तथा पर्यटन क्षेत्रमा समेत पर्ने भएकाले सावधानी अपनाउनु बुद्धिमानी हुन्छ । रासस

लोकप्रिय