फागुन १ गतेको सार्वजनिक बिदा फिर्ता नहुने

फागुन १ गतेको सार्वजनिक बिदा फिर्ता नहुने


काठमाडौं ।

सरकारले फागुन १ गतेको सार्वजनिक बिदा फिर्ता नहुने बताएको छ ।

सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सार्वजनिक बिदा फिर्ता नहुने बताएकी हुन् ।

माओवादीले सशस्त्र युद्ध सुरु गरेको दिनलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउन मन्त्रिपरिषद्ले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

यस विषयलाई लिएर नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले असोज १६ गते प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राखेका थिए। ओलीले फागुन १ गतेको सार्वजनिक बिदा फिर्ता हुनुपर्ने बताएका थिए।

त्यसलाई लिएर मन्त्री शर्माले स्पष्टीकरण दिएकी हुन्। बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा फागुन १ गतेको बिदा सम्बन्धी सोधिएको प्रश्नको जवाफमा मन्त्री शर्माले भनिन्, ‘मन्त्रिपरिषद्ले गरेको निर्णयबाट सरकार तलमाथि भएको छैन, हुँदैन पनि ।’

एमालेसँग गठबन्धनमा रहेकै बेलाको सरकारले यो निर्णय गरेको उनको भनाइ थियो।