Logo

भ्रष्टाचारी जोसुकै होस् कानुनी दायरामा ल्याउनैपर्छ



काठमाडौ । एम्नेस्टी इन्टरनेसनल पुर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार राजन कुइकेलले बालुवाटारस्थित ललिता निवासको जग्गा खरिदबिक्री प्रकरणमा भ्रष्टाचार मुद्दाका बारेमा आफुनो धारणा सामाजिक संजाल मार्फत आफ्नो सार्वजनिक गर्दै भनेका छन् । भ्रष्ट र भ्रष्टाचारी जोसुकै होस् । कानुनी दायरामा ल्याउनैपर्छ ।
उनले लेखेको पुर्णपाठ-

भ्रष्ट र भ्रष्टाचारी जोसुकै होस् । कानुनी दायरामा ल्याउनैपर्छ । मेरो र तेरो भनेर कोकोहोलो मच्चाउनुको कुनै तूक छैन । कसैले कसैको प्रतिरक्षा गर्नै पर्दैन । धेरै त भन्दिन म, ५० को दशक यताका नेताका जीवनशैली र हैसियत राम्रैसँग चिनेको छु । २०४६ सालको आन्दोलन र त्यसपछिका दिनमा सडकदेखि सदन र सत्तासम्म पुगेका नेताको उद्यम र तिनको रातारात फेरिएको जीवनशैली र जोडिएका सम्पत्तिको स्रोत के हो भन्ने सामान्य जानकारी र अनुमान पनि छ । नेताका मात्रै होइन, कर्मचारी, प्रशासक र तिनलाई लोभमा फसाएर देश लूट्नेहरूका बारेमा पनि दुई दशकको मेरो पत्रकारिता साक्षी छ । त्यो सबै पेशा र व्यवसायसँग जोडिएकाहरूको सन्दर्भमा लागु हुन्छ ।
जहाँसम्म अख्तियारले ललिता निवास जग्गा प्रकरणमा लगाएको मुद्दामा पार्टी विशेषमा लक्षित गर्‍यो भन्ने सन्दर्भ छ, हेर्दा त्यस्तो देखिन्छ । गच्छदार दूधले धोएका पात्र हुन् भन्ने भ्रम कसैले पालेका छन् र उनको बचाउमा उत्रन मन छ भने राम राम मात्र भन्न सकिन्छ ।
तर चन्द्रदेव जोशी जस्ता पात्र डामिने र त्यही क्याबिनेटबाट निर्णय गराउने प्रधानमन्त्रीहरूले उन्मुक्ति पाउने, बिष्णु पौडेलको संलग्नतालाई छोराले जग्गा फिर्ता गर्छु भन्यो त्यसैले उन्मुक्ति दिइयो भन्नुचाहिं कानुनको प्रथम दृष्टिमै दोषपूर्ण देखिन्छ ।
फेरि अर्को संयोगचाहिं टुँडिखेलबाट भ्रष्टचारी घोषणा गरिएकाहरू पुरस्कृत हुँदै जाने, दुनियाँले औला ठड्याएका एकै प्रकरणका आशंकितहरू दलीय जामाको रंग फरक भएकै आधारमा उन्मुक्ति पाउने जस्तो देखिनुचाहिं दूर्भाग्य हो । यसमा एमालेको कोटामै सिफारिश भएर अख्तियारमा पुगेको भएपनि आयुक्त र प्रमुख आयुक्त भैसकेपछी भेद गरेको नदेखियोस्, नागरिकको चाहना यत्ति हो ।
यो दलीय जामाले निम्त्याउने रोग त अब अदालतमा सर्छ । यी मुद्दा कुन दलले सिफारिश गरेका न्यायाधीशको बेन्चमा पर्छ र उसले कस्तो आदेश गर्छ भन्नेले नै हाम्रो प्रणाली कसरी कुहिएको छ भन्ने खुल्दै जानेछ । पशुपतिनाथले हामी सबैको रक्षा गरून् ।

प्रतिक्रिया दिनुहोस्