बनेर नसकिदै भत्कियो मधुवनी–सुपौल कोशी पुल

बनेर नसकिदै भत्कियो मधुवनी–सुपौल कोशी पुल

पुल भत्किँदा एकजना मजदुरको मृत्यु


काठमाडौ । भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणले बिहारको सुपौल जिल्लामा कोशी नदीमा निर्माण गरिरहेको पुलको एक भाग भत्किँदा एकजना मजदुरको मृत्यु भएको छ। नेपाल र भारत सीमाबाट करिब ७० किलोमिटर दक्षिण भारत बिहारको सुपौलमा शुक्रवार बिहान उक्त पुल भाँचिँदा ११ जना कामदार घाइते भएका थिए। मृत्यु हुनेमा किशनपुर प्रखण्ड मौजहास्थित पञ्चगछिया गाउँका विपीनकुमार यादव रहेको सुपौल प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा असमका दीपचरण राम, भुपेन्द्र मल्लाह, रमानन्द कुमार, नुर हसन, उत्तर प्रदेश फिरोजावादका लवकुश कुमार, सिवनका दिलीप शर्मा, पञ्चगछिया सुपौलका प्रयागलाल यादव, नवहटा सहरसाका हुकुमदेव पासवान, केनगर पूर्णियाका जवेल पासवान, मुरलिगंज मधेपुराका मुकेशकुमार रहेको सुपौल प्रहरीले जनाएको छ।

यहाँ पुल बनेपछि बिहारको मधुबनी र सुपौलबीचको दूरी करिब ३० किलोमिटरले घट्ने अपेक्षा गरिएको छ। यहाँ हिउँदमा बाँसको पुल बनाएर मानिसहरू कोशी नदी पार गर्दै आएका छन्। बर्खामा मानिसहरू डुंगाबाट नदी तर्न बाध्य छन्। घटनास्थलमा भाँचिएको पुलको संरचनामुनि एउटा निर्माण सामग्री ओसार्ने गाडी भेटिएको छ। गाडी र भत्किएको संरचना मुनि च्यापिएर एकजना मजदुरको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए। कामको उचित अनुगमन नहुँदा दुर्घटना भएको स्थानीयको आरोप छ। कतिपयले ठेकेदार कम्पनीलाई घटनाको जिम्मेदार बनाइरहेका छन्। यद्यपि सरकारले जाँचका लागि टेली नै बनाइसकेको छ। कोशी नदीमा निर्माण भइरहेको पुलको खन्ड भत्किएपछि शनिबार घटनास्थलको पाँच सय मिटरभित्र ब्यारिकेडिङ गरिएको छ।

निर्माण कार्य रोकिएको छ। निर्माण कार्यमा संलग्न कम्पनीका इन्जिनियर तथा मजदुरहरू निर्माणस्थलबाट अन्यत्र गइसकेका छन्। सुरक्षाको दृष्टिले निर्माणस्थलमा जिल्ला प्रशासनले म्याजिस्ट्रेटसहित प्रहरी परिचालन गरेको छ। सडक यातायात राजमार्ग मन्त्रालयका पूर्वएडीजी एके श्रीवास्तव, महेश टन्डन र जिएल बर्मा, अनुसन्धान टोलीमा रहेका तीन प्रख्यात पुलविज्ञसहित घटनाको कारणको मूल्यांकन गर्न घटनास्थलमा पठाइएको छ। दुर्घटना र आवश्यक उपचार उपायहरूका विषयमा तत्काल कारबाही गर्न वरिष्ठ अधिकारीहरू पनि घटनास्थल पुगेको भारतीय सञ्चार माध्यमले जनाएको छ। घटना छानबिन गर्न बनेको टोलीसँग डिएम कौशल कुमारले अवश्यक समन्वय गरिरहेको जनाइएको छ। टोली शुक्रबार साँझदेखि नै सुपौल पगेर शुक्ष्म छानविन गरिरहेको छ।

टोलीले सबै पक्षलाई नजिकबाट अनुसन्धान गरिरहेको छ। अनुसन्धानपछि मात्र घटनाको वास्तविक कारण खुल्ने छ। अहिले भग्नावशेषमा अरू कुनै मजदुर नरहेको यकीन भैसकेको डिएमले जनाएको छ। निर्माणमा कार्यरत कामदार सबैको उपस्थिति लिइएपछि यकिन गरिको थियो। डिएमसँगै, एसपी शैशव यादव, एसडिएम इन्द्रवीर कुमार र एसडिपिओ आलोक कुमार पनि घटनास्थल गुगेर थप अनुसन्धान र छानबिन टोलीसँग समन्वय गरिरेहेका छन्।

१० किलोमिटरको पुल

भारतको राष्ट्रिय राजमार्ग प्राधिकरणले मधुबनीको भेजा र सुपौल जिल्लाको बकौर बीचको कोशी नदीमा निर्माण गरिरहेको १०।२ किलोमिटर लामो पुलको एक भाग भत्किएको हो। यो पुलमा १७१ वटा पिलर रहेका छन्। जसको १५३ र १५४ नम्बरको पिलरको बीचको भाग भाँचिएको छ। सडक निर्माण विभागको जिम्मेवारी सम्हालिरहेका उपमुख्यमन्त्री विजयकुमार सिन्हाले घटनाको छानबिन गर्न निर्देशन दिँदै घटनामा संलग्नलाई कारबाही गर्ने बताएका छन्।

तर, बिहारमा निर्माणको क्रममा पुल भत्किएको यो पहिलो घटना भने होइन। बिहारमा पछिल्लो एक वर्षमा पुल भत्किनेहरूको लामो सूची छ। भारतमाला आयोजनाअन्तर्गत बिहारको कोशी नदीमा १२ सय करोडको लागतमा निर्माण भइरहेको पुलको खन्ड शुक्रबार बिहान सुपौलमा भत्किएको छ। घटनापछि निर्माण कम्पनीका सबै इन्जिनियर र कामदार भागेका थिए। तर, स्थानीयले मानवता देखाउँदै घाइते सबै मजदुरलाई मोटरसाइकलको सहायताले अस्पताल पुर्‍याएका थिए। घटना सदर प्रहरी चौकी क्षेत्रको मरिचा गाउँनजिक भएको हो। शुक्रबार बिहान १५३–१५४ नम्बरको पिलरको बीचमा खण्ड खडा गर्ने काम भइरहेको थियो।

यसैबीच, बक्स खण्ड ट्रकद्वारा ढुवानी गरिएको थियो। जसलाई क्रेनले तानेको थियो। यस समयमा, एक कुनामा एक क्लिप ढिलो भयो। जसका कारण सेग्मेन्ट बक्स ट्रकमा खसेको थियो। ट्रक पहिल्यै एउटा सेग्मेन्ट बक्समा उभिएको थियो, जसका कारण दोस्रो खण्डको बक्स पनि बगेको थियो। केही बेरमै १२ वटा बाकस खसे। यो खन्डको बाकस दुई स्तम्भबीचको थियो।