२ नेताको जुँगाको लडाइँमा पिल्सिएको मधेस !

२ नेताको जुँगाको लडाइँमा पिल्सिएको मधेस !


काठमाडौँ ।

सप्तरी–२ मा अहिले राजनीतिक शक्तिको लडाइँ चलिरहेको छ । आफू ‘मधेसको मसिहा हुँ’ भन्ने २ ठुला नेताको जुँगाको लडाइँमा कार्यकर्ताहरू आपसमा भिडिरहेका छन् । ती २ नेता हुन्– जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र जनमत पार्टीका अध्यक्ष उपेन्द्र यादव । यी २ नेताको अहमका कारण आज सप्तरी हाई–अलर्टमा छ ।

सोमबार हुने सप्तरीको मधेस कृषि विश्वविद्यालयको शिलान्यासमा जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाउने विषयमा जनमतका कार्यकर्ता तथा जसपा कार्यकर्ता आमने–सामने भएपछि सप्तरी जिल्लालाई हाई–अलर्टमा राखिएको छ ।

जनमतका कार्यकर्ता कुनै पनि हालतमा जसपा अध्यक्ष यादवलाई प्रमुख अतिथि नमान्ने अडानमा छन् भने अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाएर जसरी पनि कार्यक्रम गर्ने जसपा कार्यकर्ताको अडान छ । यसरी यी २ नेताको प्रतिष्ठाको लडाइँमा अहिले सप्तरी रणमैदान बनेको छ ।

यो लडाइँ अहिलेको भने होइन । गत आमनिर्वाचनमा त यो द्वन्द्व सतहमै देखिएको थियो । मधेसको मसिहा बन्ने दौडमा यी २ नेता कम्मर कसेरै लागेका छन् । गत आमनिर्वाचनमा यादवको किल्ला भत्काउँदै राउतको उदय भएको थियो । सप्तरीमा यादवको लालकिल्ला भत्काउँदै निर्वाचित भएका राउतलाई मधेसको भावी ‘राजनेता’का रूपमा हेरिएको थियो ।

कम्तीमा पनि अबको ५ वर्ष यादव राजनीतिबाट बाहिरिए भनेर विश्लेषण पनि गरियो । तर, अनिश्चितताको खेल मानिने राजनीतिमा अनेक तिकडम अपनाएर भए पनि उपनिर्वाचनबाट यादव संसद्मा प्रवेश गरेरै छाडे ।

त्यसपछि त जुँगाको लडाइँ नै सुरु भयो । उपेन्द्रलाई जिताउन सत्ता गठबन्धन नै लागेपछि सरकारबाट जनमत बाहिरियो पनि । तर, सत्ताको मोहबाट लामो समयसम्म टाढा रहन भने सकेन । यी दुवै दल सत्ता साझेदार हुन्, तर एकअर्काको पत्तासाफ गर्न यिनीहरूले कुनै कसर बाँकी राखेका छैनन् ।

‘काम गर्ने कालु, मकै खाने भालु । यस्तै हस्तक्षेपको रबैया रहे अब प्रतिकार हुन्छ !,’ माघ १ मा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो फेसबुकमा राखेको स्टाटसको अंश हो यो । अनि यो पोस्ट जसपाका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित थियो । कारण थियो, सप्तरी निर्वाचन क्षेत्र–२ मा भएका कार्यक्रममा यादवलाई प्रमुख अतिथि र राउतको उपेक्षा ।

जनमत पार्टीले मिहिनेत गरेर आफ्नो निर्वाचन क्षेत्रमा बजेट ल्याउने गरेको, तर त्यहाँ कार्यक्रम हुँदा प्रमुख अतिथिमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई बोलाउने गरेकोप्रति राउत रुष्ट थिए ।

राउतको प्रश्न थियो– के त्यो उहाँको निर्वाचन क्षेत्र हो ? हुन पनि सप्तरी–२ मा राउतसँग पराजित भएपछि यादव उपनिर्वाचनमा बारा–२ पुगेका थिए ।

केही दिनअघि मधेस प्रदेश सरकारको उपलब्धि सार्वजनिक कार्यक्रम हुँदा पनि सत्ता साझेदार दलका रूपमा रहेको जनमत पार्टीले आफ्नै सरकारको विरोध गरेको थियो । मुख्यमन्त्री सरोजकुमार यादवले उपलब्धि सार्वजनिक गर्दा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले कार्यक्रम स्थलमै भ्रष्ट सरकार भन्दै नाराबाजी गरेका थिए ।

यो नाराबाजी र विरोध प्रत्यक्ष रूपमा मधेसका मुख्यमन्त्रीप्रति देखिए पनि जनमतका अध्यक्ष यादवप्रति लक्षित थियो । मधेसका मुख्यमन्त्री पनि जसपाकै हुन् । अघिल्लो कार्यकालमा मुख्यमन्त्री रहेका जसपाकै लालबाबु राउतविरुद्ध त जनमतले भण्डाफोर अभियान नै चलाएको थियो ।

२०६२/६३ देखि मधेसमा उदाएका उपेन्द्र यादव त्यसपछिका हरेक सरकारमा अट्दै आएका छन् । तर, आफ्नो पार्टीलाई बचाउन भने सकेको देखिँदैन । आफू मोटाउँदै र पार्टीलाई खियाउने श्रेय पनि यादवलाई नै जान्छ ।

उता, एकाएक उदाएका राउत पहिलै प्रयासमा आफ्नो पार्टीलाई राष्ट्रिय दल बनाउन सफल भए भने आफ्नो व्यक्तित्वलाई पनि उचाइ दिलाउन पनि सफल भए ।

एकातर्फ नेपालको राजनीतिमा जरा गाडेर बसेका यादव छन् भने अर्कातर्फ उदीयमान नेताका रूपमा आफूलाई स्थापित गराएका राउत । दुवै आफूलाई मधेसको मसिहा ठान्छन् । तर, मधेसका जनताले अहिलेसम्म कसलाई स्वीकार गर्छन् भन्ने एकिन छैन । तर, एउटा कुराचाहिँ के पक्का छ भने यी २ नेताको लडाइँमा मधेसका जनता एकपटक फेरि पिल्सिनेछन् ।