Logo

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुई : नेपालको तेस्रो जित



काठमाडौं । नामिबियामा जारी आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन दुई अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले सोमबार केन्यालाई ३ विकेटले पराजित गर्दै एकदिवशिय विश्वकपको विश्वस्तरको छनोट खेल्ने सम्भावना बलियो बनाएको छ। केन्याले दिएको एक सय ७८ रनको लक्ष नेपालले ४९ ओभर ५ बलमा ७ विकेट गुमाएर पुरा गर्‍यो। नेपालका जितमा बलिङतर्फ सन्दिप लामिछाने तथा ब्याटिङतर्फ दुई युवा खेलाडी आरिफ शेख र रोहित पौडेलले बेजोड प्रदर्शन गरे। आरिफ र रोहितले छैटौं विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। आरिफले ४२ र रोहितले ४७ रन बनाए। आरिफले ८२ बलमा एक चौका प्रहार गरे। रोहितले ८५ बलमा एक चौका प्रहार गरे।

नेपालका कप्तान पारस खड्का ४२ , शरद भेषावकर १९ , ज्ञानेन्द्र मल्ल ९, दीपेन्द्रसिंह एेरी एक र अनिल शाह शुन्यमा आउट भए। तर माथिल्लोक्रमका ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा दुई युवा खेलाडी रोहित र आरिफमाथी जिम्मेवारी आएको थियो। नेपालले ८२ रन जोड्दा पाँच विकेट गुमाईसकेको थियो। भेषावकर र पारसबीच चौथो विकेटका लागि ५५ रनको साझेदारी भएको थियो। यसअघि केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर एक सय ७८ रन जोड्यो। नेपालका युवा स्पिनर सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए।

१० ओभर बलिङ गरेका सन्दीपले पाँच मेडन राख्दै २० रन खर्चिए। बसन्त रेग्मी , शरद भेषावकर र सोमपाल कामीले एक एक विकेट हात पारे । सन्दीपले बलिङ गरेका ६० बलमध्ये ५० बलमा रन दिएनन्। उनले दुई चौका दिएका थिए। पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको केन्याका सुरुका दुई विकेट सन्दीपले लिएका थिए। केन्याले एक सय तीन रन जोड्दा बसन्तले तेस्रो विकेटका रुपमा विकेटकिपर इरफान करिमलाई ४२ रनमा आउट गरे। त्यसपछि आफ्नो सातौ‌ं ओभर लिएर आएका सन्दिपले त्यस ओभरमा दुइ विकेट लिएका थिए।

उनले ३४औं ओभरको पहिलो दुई बलमा दुई विकेट लिएका हुन्। सन्दीपले आफ्नो १० औं तथा अन्तिम ओभरमा एक विकेट लिएर पाँच विकेट पुरा गरेका थिए। १७ औ‌ ओभरको अन्तिम बलमा सन्दीपले एलेक्स ओबान्डालाइ ब्यक्तिगत ४१ रनमा बोल्ड आउट गर्दै केन्याको पहिलो विकेट साझेदारी तोडेका थिए।

उनले १९ औ‌ं ओभरमा दोस्रो विकेट लिए। त्यसपछिका आफ्ना लगातार दुई ओभर सन्दीपले मेडन फ्याँके । उनले आइतबार यूएईविरुद्ध पहिलो ओभरमै दुई विकेट लिएका थिए। त्यतिबेला लगातार बलमा उनले विकेट हात पारेका थिए। सन्दीपले प्रतियोगिताका आफ्ना चार खेलमा १४ विकेट लिएका छन्।

नामिबियाविरुद्ध चार विकेट लिएका सन्दिपले ओमानविरुद्ध दुई र यूएईविरुद्ध तीन विकेट लिएका थिए। पहिलो खेलमा नामिबियालाई एक विकेटले हराएको नेपालले दोस्रो खेलमा ओमानसँग ६ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा यूएईलाई चार विकेटले पराजित गरेको थियो ।

चार खेलपछि ६ अ‌ंक भएको नेपाल तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको क्यानडाको तीन खेलबाट ६ अ‌ंक छ। ६ टोली सहभागी प्रतियोगिताको शीर्ष दुई टोली एकदिवशिय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन्। तीन तीन खेल खेलेका यूएई र ओमानको समान दुई अ‌ंक छ। नेपालले आफ्नो पाँचौं तथा अन्तिम खेलमा बुधबार क्यानडाको सामना गर्ने छ।

प्रतिक्रिया दिनुहोस्