Logo

हतियार संग्रह गर्ने काममा नोना !



♦दिनेशचन्द्र थपलिया

काठमाडौँ : नोना कोइरालाको निधनलगत्तै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भावविह्वल हुँदै भन्नुभयो, ‘कोइराला निवासको बत्ती निभ्यो, त्यो रिक्तता कसले पूरा गर्नेरु’ नोना नेपाली राजनीतिभित्रको त्यो नाम हो जसले मात्र त्याग र निष्ठाको राजनीतिको प्रतिनिधित्व गर्छ। राजनीति केवल प्राप्तिका लागि गरिन्छ भन्ने समकालीन नेपाली नेताले नोनाबाट धेरै कुरा सिक्न जरुरी छ। नोना राजनीतिक, सामाजिक, सभ्य र अनुशासित परिवारको सञ्चालक हुनुहुन्थ्यो।

नोनाको राजनीतिक जीवनको सुरुवात २००३ सालको मजदुर आन्दोलनबाट भएको हो। त्यतिबेला उहाँले मजदुर आन्दोलनका घाइतेहरूलाई औषधि उपचार र भोजन व्यवस्थापनको जिम्मा लिनुभएको थियो। निरंकुश राणा शासनविरुद्ध २००७ सालमा कांग्रेसले सञ्चालन गरेको सशस्त्र मुक्ति आन्दोलनमा नोना प्रत्यक्ष होमिनुभयो। २००७ सालको क्रान्तिमा मुक्ति योद्धाका कमान्डरका रूपमा आफ्ना छोराहरू बीपी कोइराला, मातृका कोइराला, केशव कोइराला, तारिणी कोइराला र गिरिजाप्रसाद कोइराला जान लाग्दा दिव्या कोइरालाले बुहारीहरूलाई बोलाएर भन्नुभएको थियो, ‘मेरा छोराहरू लडाइँमा जाँदै छन्, उनीहरू मर्न पनि सक्छन्, यदि उनीहरू मरि नै हाले पनि तिमीहरूले आँसु नझारे।’ ९नेपाली राजनीतिमा नोना कोइराला–इन्दिरा प्रसार्इं०। सासूको यही वचनले नोना कोइरालालाई थप कठोर एवम् साहसिक बनाएको थियो। त्यसैले हरेक निरंकुशताविरुद्धको आन्दोलनमा सधैं अग्रमोर्चामा देखिनुभयो। प्रजातन्त्र प्राप्तिपछि नोनासमेतको अगुवाइमा विराटनगरमा ‘नारी जागृति’ संस्था स्थापना भयो। यही संस्थाबाट नारीहरूलाई पढ्न, लेख्न र सामाजिक रूपले अगाडि बढाउने अभियानमा लाग्नुभयो। आज त्यो संस्था आदर्श बालिका विद्यालयमा परिणत भएको छ।

२०१५ सालको प्रथम आम चुनावमा बीपीले कहाँबाट टिकट लिने भनेर सोध्दा नोनाले ‘सांसद वा मन्त्री बन्न राजनीति गरेकी छैन, म पार्टीमै काम गर्छु’ भनेर टिकट लिन अस्वीकार गर्नुभयो। २०१७ को शाही ‘कु’ पछि नोना पुनस् प्रजातन्त्र प्राप्तिको आन्दोलनमा होमिनुभयो। पाटनको शान्त भवन अस्पतालमा अप्रेसनपछि बेहोस अवस्थामै रहेका आफ्ना १० वर्षीया छोरा शेखर९डा। शेखर कोइराला० लाई डाक्टरको जिम्मा लगाएर शाही ‘कु’ विरुद्ध सडकमा उत्रनुभयो। भूमिगत रहनुभएकी नोनाले २०१७ फागुन १२ गते धादिङबाट आएका तामाङ समुदायका महिलाको विरोध जुलुसको नेतृत्व गर्नुभयो र सुरक्षाकर्मीले घेरा हालेर उहाँलाई त्यहाँबाटै पक्राउ गर्‍यो। त्यसपछि उहाँलाई शैलजा आचार्यहरूलाई थुनिएको थानामा लगियो। पछि उहाँलाई १ वर्ष कैद र ५ सय रुपैयाँ जरिवानाको फैसला सुनाइयो। जेल बसाइलगत्तै विराटनगर जाने क्रममा २०१९ सालमा उहाँलाई बम ओसारेको आरोपमा पुनस् गिरफ्तार गरियो। २०२१ मा जेलबाट नोना बीपी कोइरालासँगै निस्केर २०२४ मा प्रवास जानुभयो। प्रवासमा रहँदा पटना, फारबिसगन्ज, बनारसलगायत स्थानमा रहेका कार्यकर्ताको भरणपोषणको समेत जिम्मेवारी बहन गर्नुभयो। आममाफी पाएसँगै सबै कार्यकर्तालाई नेपाल पठाइसकेर गिरिजाप्रसाद कोइराला, वसन्त भट्टराई, दुर्गा सुवेदी, गोपाल राईलगायतसँग उहाँ स्वदेश फर्कनुभयो। प्रवासमा रहँदा पनि नोनाले हतियार संकलन गर्ने र व्यवस्थापन गर्ने काम गर्नुभयो। बीपी कोइरालाले एकपटक गिरिजाप्रसादलाई भन्नुभएको थियो, ‘हतियार संग्रह गर्ने त्यस्ता जोखिमपूर्ण ठाउँमा तँ आफैं जाँदैनस्, खालि नोनालाई मात्र पठाउँछस्।’

जनमत संग्रहको समयमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा निस्किएको देशव्यापी पैदलयात्रा टोलीमा नोना मात्र महिला सदस्य हुनुहुन्थ्यो। यसै क्रममा नोनाले ६५ भन्दा बढी जिल्ला भ्रमण गर्नुभएको थियो। २०३९ मा पति केशव कोइरालाको निधनपछि पनि उहाँले आफ्नो राजनीतिक यात्रा रोक्नुभएन।

२०४६ सालको आन्दोलनमा नोनालाई पम्प्लेट, पोस्टर र झन्डाको जिम्मेवारी दिइएको थियो। प्रहरीले २०४६ फागुन ५ मै नोनालाई विराटनगरस्थित कोइराला निवासबाट पक्राउ गर्‍यो। किसुनजी दोस्रो पटक प्रधानमन्त्री बनेका बेला बालुवाटारबाट फोन गरेर नोनालाई भन्नुभएको थियो, ‘म भोलि राजाकहाँ जाँदै छु, मन्त्रीमा तपाईंको पनि नाम राखेको छु। कुन मन्त्रालय लिने इच्छा छरु’ ‘मलाई राष्ट्रिय सभाबाट लिन खोज्नुभएको होला, बिन्ती छ मलाई मन्त्री नबनाउनुहोला। शरीरमा एक थोपा रगत रहेसम्म पार्टीमा काम गर्छु, म मन्त्री बन्दिनँ,’ नोनाले भन्नुभएको थियो। नोना विराटनगरस्थित कोइराला निवासलाई संस्कारयुक्त बनाउने काममा अहोरात्र खटिनुभयो। पिताजी कृष्णप्रसाद कोइरालाले स्थापित गरेका परम्परा र संस्कारलाई उहाँले जोगाइराख्नुभयो।

२००३ को भवानीपुरदेखि २०५७ सालसम्मको पार्टी महाधिवेशनमा नोनाले भाग लिनुभयो। २०४८ देखि २०६२ सालसम्म पार्टीको केन्द्रीय सदस्यका रूपमा रहनुभयो। उहाँलाई २०५५ सालमा नेपाली कांग्रेसको महिला विभाग प्रमुखको जिम्मेवारी दिइयो। नेपाल महिला संघको प्रथम महाधिवेशन नोनाले नै सम्पन्न गराउनुभयो। राष्ट्रिय सभामा महिलालाई आरक्षण, पार्टीको महाधिवेशन र महासमितिमा हरेक क्षेत्रबाट १ जना महिला अनिवार्य, हरेक प्राविमा १ महिलाको दरबन्दीलगायत विषयमा उहाँले सधैं आवाज उठाउँदै आउनुभयो र सम्पूर्ण महिलाको प्रेरणाको स्रोत बन्नुभयो।

‘मनमा शुद्धता र कर्ममा विश्वास भए आफंै सफल भइन्छ’ भन्नेमा नोनाको विश्वास थियो। उहाँले २०६२र६३ को जनआन्दोलनमा अग्रमोर्चामा रहेर काम गर्नुभयो। युवाका निम्ति अदम्य साहस बनेर उभिनुभयो। सबैले सम्मान गर्ने नोना आमा भनिएर रहनुभयो। पछिल्ला दिनमा कोइराला परिवारको जिम्मेवार र परिपक्व अभिभावक आफ्ना देवर गिरिजाप्रसाद कोइरालाको सर्वाधिक आडभरोसा र प्रेरणाकी स्रोतका रूपमा रहनुभएकी नोनाको २०६३ माघ १४ गते निधन भयो। कान्तिपुरमा लेखेको छ

प्रतिक्रिया दिनुहोस्