सहकारीले कृषि क्षेत्रलाई समेट्ने पट्टि ध्यान दिएन : सभामुख घिमिरे

सहकारीले कृषि क्षेत्रलाई समेट्ने पट्टि ध्यान दिएन : सभामुख घिमिरे


काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सहकारीले कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका छन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको १६ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै सभामुख घिमिरेले सहकारीले बचत तथा ऋणमा मात्रै ध्यान दिएको तर कृषि क्षेत्रलाई समेट्न ध्यान नदिएको बताएका हुन् ।

कृषिलाई आधुनिक ढंगले अघि बढाउने, बाँझो जमिनलाई उत्पादनमूलक बनाउने र उत्पादनसंगै बजारीकरणका लागि पनि सहकारीले सेवा केन्द्रित गर्नुपर्ने उनले भनाइ राखे । उनले तीन खम्बे अर्थ नीतिका आधारमा सहकारीको माध्यमबाट राज्यले लगानी गर्ने र त्यसमा निजी क्षेत्रलाई सहभागी गर्दै अघि बढ्नुपर्ने बताए ।

सभामुख घिमिरेले सहकारी क्षेत्रको कानुन निर्माणका साथै बजारीकरणमा देखिएको समस्यालाई सहकारी केन्द्रीय संघले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।​

उनले राजनीतिक परिवर्तन गर्दै कृषि क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डको रूपमा विकास गर्दै लैजानुपर्ने उल्लेख गरे ।