Logo

ठुला दलले बिर्से ३३ प्रतिशत महिला सहभागिता


राधिका जोशी 

काठमाडौ । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा प्रतिनिधिसभाको ३७ क्षेत्रमा काँग्रेसले २ जना र वामगठबन्धनले एक जना महिलालाई उमेदवार बनाएको छ । प्रदेशसभाका ७४ सिटमा उम्मेदवारी दर्ता हुँदा वाम र कांग्रेस गठबन्धनबाट गरि ९ जना महिलाले मात्र टिकट पाएका छन् । नयाँ संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेपनि मुख्य दलहरुको चुनाव जित्ने होडबाजीका कारण महिला सहभागीता न्युन देखिएको हो ।
संविधानले आगामी संसदमा ३३ प्रतिशत महिला सहभागीता अनिवार्य हुनुपर्ने भनेपनि आइतबार भएको उम्मेदवारी दर्ताको आधिकारिक विवरण अनुसार मुख्य दल अर्थात वाम र कांग्रेस गठबन्धनबाट प्रतिनिधिसभामा जम्मा तीन जना महिला उम्मेदवार बनेका छन् भने प्रदेशमा ६ महिला नेतृ भिड्दैछन् । दुवै गठबन्धनले जसरीपनि आफुले चुनाव जित्नुपर्ने धारणा बमोजिम राम्रो छवी भएका नेताहरु प्रतिष्पर्धामा उठाएपछि महिला नेतृत्व पछि परेको पार्टी पंक्तिको विश्लेषण छ । तर महिला नेतृहरु भने पार्टीमा भागबन्डा र चाकडी हावी भएको दावी गर्छन् ।
प्रतिनिधिसभामा कांग्रेसबाट दुई महिलाले उम्मेदवारी दर्ता गराएका छन् । खोटाङमा कांग्रेस नेतृ शरस्वती बजिमय र बागलुङ क्षेत्र नं. १ मा पूर्वसांसद चम्पादेवी खड्का उम्मेदवार बनेकी छन् । वाम गठबन्धनबाट माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छिन् । वाम गठबन्धनबाट प्रदेशसभातर्फ ५ महिला भिड्दै गर्दा कांग्रेसले एक जना मात्र अघि सारेको छ । वाम गठबन्धनबाट एमालेले पूर्वराज्यमन्त्री नरदेवी पुनलाई म्याग्दी ख बाट, खण्डा लामा गुरुङलाई मनाङ ख बाट एमालेको उम्मेदवार बनाएको छ भने माओवादीबाट नुवाकोट १ क मा राधिका तामाङ, गोरखा २ ख मा कमला नहर्की र बझाङ ख बाट देवकी मल्ल उम्मेदवार छन् । कांग्रेसले लिलादेवी बोखिमलाई ताप्लेजुङ क बाट उम्मेदवार बनाएको छ। यसबाट महिला उमेदवारभने खासै सन्तुष्ट छैनन्।
प्रत्यक्षतर्फ पहिलो चरणमा महिला सहभागिता अत्यन्त न्युन भए पनि दोस्रो चरणमा धेरै निर्वाचन क्षेत्र रहेका शहरी क्षेत्रमा महिला उम्मेदवारको संख्या बढ्ने महिला नेतृहरुको भनाइ छ । यसोनभए समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दलहरुलाई आउनेछ ।

प्रतिक्रिया दिनुहोस्