आनन्दपुरबासीकाे याे जुक्ति, हट्याे भारतमा मजदुरी गर्नैपर्ने बाध्यता

आनन्दपुरबासीकाे याे जुक्ति, हट्याे भारतमा मजदुरी गर्नैपर्ने बाध्यता


बझाङ ।

बझाङको बित्थडचिर गाउँपालिका-१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यस पटक रातो आलु लगाए। आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनले तरकारी खेती रोजेका हुन्।

बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई यस पटक पर्याप्त आलु उत्पादन भएपछि घर छाड्न मन लागेको छैन। छाड्नुपर्ने अवस्था पनि छैन। ५ कठ्ठा जग्गामा बीउ रोपेका बोहरालाई आलु बेचेर जीविकोपार्जन हुने देखेपछि अब उनको रोजाइ तरकारी खेती नै भएको छ।

‘दुई सुप्पो मकै फल्ने बारीमा यस पटक चार बोरा आलु फल्यो । गत साता ३४ हजार रुपैयाँको आलु बेचेँ । अझै १० क्विन्टल जति आलु खन्न बाँकी छ,’ बोहराले भने । उनी यस वर्ष मात्र लामो समयसम्म घरमा बसेका हुन्।

वर्षमा झन्डै ८ महिना समय बोहराको भारतमै मजदुरी गरेर बित्थ्यो। उसबाटै उनको परिवारको खर्च चल्थ्यो। बोहराले भने, ‘१ वर्षयता मजदुरी गर्न भारत गएको छैन। आलु फल्ने यामपछि अर्को तरकारी लगाउनुपर्ला सोचेको छु। अब मजदुरी गर्न भारत जान्नँ।’

कृषि ज्ञान केन्द्रले बीउदेखि बजारीकरणको सहयोग गरेपछि आलु उत्पादनमा जोडबल गरेको स्थानीय रमादेवी बोहराले बताइन्। ‘हामीलाई आलु खेतीबारे खासै ज्ञान थिएन। कहिलेकाहीँ तरकारी खानका लागि मात्र लगायौँ, बिक्री गर्ने उद्देश्यले भने लगाएका होइनौँ। यसरी व्यावसायिक रूपमा आलु खेती गरेको पहिलो पटक हो। सुरुआतमै फाइदा भयो।’

बोहराका अनुसार रातो आलु एउटै बोटमा २० दानासम्म फलेको छ। हालसम्म २७ हजारको आलु बिक्री गरिसकेको उनले सुनाइन् ।

किशोरावस्थामै घरका पुरुषहरू पढाइ छाडेर भारतमा मजदुरी गर्न जाने गरेका छन्। रमादेवीका छोरा किरण पनि मजदुरी गर्न भारतको पिथौरागढ जाने तयारीमा थिए । रमादेवीले भनिन्, ‘अब गाउँमै तरकारी खेतीमै मिहिनेत गर्न लगाउँछु। यसबाटै जिन्दगी चल्छ जस्तो लागेको छ। पढाइ पनि गर्छ, भारत पठाउँदिनँ ।’

राजमार्ग नजिकका कृषक तरकारी खेतीतर्फ

मनमती बोहरा ७१ वर्षकी भइन्। उनलाई अहिलेको जसरी आनन्दपुरमा यसरी आलु फलेको सम्झना छैन। ‘एक पटक श्रीमानले बाली फेर्नुपर्‍यो भनेर आलु र टमाटर लगाउनुभएको थियो । तर, त्यो बेला बढी मल र निरन्तर पानीका कारण खासै उब्जनी भएन,’ उनले भनिन् । त्यसपछि कहिल्यै आलु नलगाएको उनले बताइन्।

यस पटक भने एकै गह्राबाट ११ क्विन्टल आलु बेचेको मनमतीले बताइन्। ‘हाम्रो सबै बारी गरेर ३ क्विन्टल बराबर मकै फल्थ्यो। आफूले खाने, वस्तुभाउलाई खुवाउनमै बराबर हुन्थ्यो। यस पटक भने नसोचेकै आलु उत्पादन भयो। आलु निकाल्न, सुकाउन घरमा सबैलाई दौडधुप भइरहेको छ,’ उनले भनिन्।

धवलसिंह बोहरा अहिले दोस्रो चरणमा आलु बजारीकरण गर्नका लागि तयारी गरिरहेका छन्। ‘पहिलो चरणमा लिएको आलु कैलालीसम्म पुग्यो,’ उनले भने, ‘फेरि आलु निकालेर सुकाइरहेका छौँ। अब दोस्रो साता ट्रकमा नै तराईसम्म लिने तयारी भइरहेको छ।’

धवलसिंहको परिवारमा अहिले ५ जना छन्। पाँचै जना आलुकै पछाडि लागिरहेका छन्। २ वर्ष अघिदेखि नै नेपाल आएका धवलसिंहलाई यस पटक भने व्यावसायिक सफलता मिलेको छ।

‘वर्षभरि काम गर्दा हजार रुपैयाँ पनि गाउँमा नकमाउने हामी अहिले निर्धक्क छौँ। समयअनुसारको व्यवसायबाट लाभ लिन सकिने रहेछ भन्ने सिकाइ पनि भयो,’ उनले भने।

यता कृषि ज्ञान केन्द्र बझाङका प्रमुख टेकबहादुर विष्टले कृषकलाई व्यावसायिक बनाउन आफ्नोतर्फबाट सक्दो सहयोग गरिरहेको बताए।

‘कृषकलाई व्यवसायमा प्रेरित गर्नका लागि बीउदेखि बजारसम्मको काम गरिरहेका छौँ,’ विष्टले भने, ‘काम गर्ने कृषकका लागि हामी रात दिन नभनी सहयोग गर्छौँ।’

आनन्दपुरमा पनि आफूले गरेको मिहिनेतअनुसार सिँचाइ, मलको अभाव हुँदासमेत निकै राम्रो फलेको उनले बताए। ‘कृषकले इमान साथ काम गरे उनीहरूको भविष्य कृषिमै सुनिश्चित हुन्छ,’ उनले भने।

जिल्लामा विभिन्न प्रकारका हाइब्रिड खाले तरकारी, फलफूल अन्य बालीको परीक्षणसमेत भइरहेको उनले बताए। उनले भने, ‘हामीले चैते धानको पनि सफल परीक्षण गरिसकेका छौँ। ड्रागन खेती भर्खर सुरु गरेका छौँ। नतिजा सफलोन्मुख देखिँएको छ।’

नेपालमा मजदुरी गर्न पनि पाइन्न

आनन्दपुरकै सीताराम ३ वर्षअघि सडकमा ग्याबिन जाली भर्ने काम गर्थे। ३ महिनासम्म लगातार सडकमा काम गरेको ज्याला १ वर्षसम्म पनि नपाएपछि उनी पिथौरागढ हानिए। ठेकेदारले भोलि भोलि भन्दै हैरानी पारेपछि परिवार पाल्नै समस्या भयो। बिस्तारै ठेकेदारले फोन नउठाउने, अफ गर्ने भएपछि साउनको महिना सीताराम पिथौरा गए।

काम गर्ने अवसर हुँदाहुँदै पनि मजदुर ठगिने हुँदा नेपालमा बस्ने समस्या हुने गरेको उनले बताए। उनले भने, ‘हामी दैनिक ज्यालादारी गरेर परिवार पाल्ने मान्छे। काम गराएर पैसा नदिएपछि त गाउँघरमा कसरी बस्नु!’

काम गरेको पैसा समयमै पाउनुको सट्टा उल्टै ‘दश ढोग, अठार सलाम’ गर्नुपर्ने उनले बताए। ‘पिथौरागढमा भने काम गरेपछि जुन बेला पनि पैसा पाउँछ,’ उनले भने, ‘पिथौरामा सानो-ठुलो काम गरेपछि उसैबेला पैसा पाइन्छ। पैसाको खाँचो पनि हुँदैन। काम भने शक्तिअनुसारकै हुन्छ।’

भारतकै पैसाले फेरिएको आनन्दपुर

आनन्दपुरमा ३५ परिवार छन्। ती परिवारका सदस्य अधिकांश भारतको पिथौरागढमै छन्। सानो तिनो काम गर्न सक्ने सबै पुरूष ४ महिनाबाहेकका ८ महिना मजदुरीका लागि जाने गर्छन्।

पिथौरागढमा उनीहरू भारी बोक्ने, गाडी उतार्ने, भर्ने, सामान ओसारपसार गर्नेलगायत काम गर्छन्। धनसिंह बोहराले भने, ‘पिथौरागढमा जति काम गर्‍यो, त्योअनुसारको पैसा आउँछ। ३-४ महिनामै कमाएको पैसाले पनि वर्षभरि घर खर्च चल्छ। यहाँ त खाली बस्नुपर्छ, नुन, तेल किन्ने पैसा पनि कमाउन सकिँदैन।’

काम गरे कमाउन सकिने भन्दै बाजे बराजुको पालादेखि पिथौरागढमा हाम्रो रोजीरोटीस्थल बनेको उनले बताए। पिथौरागढमा कमाएको पैसाले अहिले आनन्दपुर नै फेरिएको छ।

‘पहिले सबैका घरहरू स-साना खरले छाएका थिए। अहिले भने गाउँको रूप नै फेरिएको छ। धेरैले पक्की घर बनाइसकेका छन्। कतिपयका निर्माणाधीन अवस्थामा छन्। घरहरू छरिएका नभएको भए टाढाबाट बिछट्टै सुन्दर देखिन्थ्यो होला।’ अहिले आनन्दपुरमा कमजोर हुनेले पनि राम्रो घर बनाइसकेको उनले बताए।

पिथौरागढ आनन्दपुरवासीको रोजाइमा पर्नुको कारण नजिकको विदेशी सहर भएकाले हो। आनन्दपुरबाट बिहान गए साँझ पिथौरागढ पुग्न सकिने, सधैँ गएको ठाउँ पनि हुँदा काम गर्न सजिलो हुँदा सबैको मजदुरको छनोटमा परेको उनले बताए।