Logo

 भारत्तोलन खेलाडी सञ्जु झुन्डिएको अवस्थामा मृत फेला


काठमाडौं । नेपाली भारत्तोलनकी कीर्तिमानी खेलाडी सञ्जु चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन्। ललितपुरको लुभुस्थित भारत्तोलन प्रशिक्षक सन्जय महर्जनको घरमा उनी सलले पासो लागेको अवस्थामा फेला परेको भारत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जानकारी दिए। उनी केही दिनयता महर्जनको घरमा बस्दै आएकी थिइन्।

सन्जु दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला भारत्तोलन खेलाडी हुन्। उनले १३ औं सागमा उक्त सफलता हात पारेकी थिइन्। नेपालगन्ज स्थायी घर भएकी सन्जु एसियाली खेलकुदको छनोटका लागि केही समययता काठमाडौंमा आफन्तकोमा बस्दै आएकी थिइन्। घटना आत्महत्या वा हत्या के भन्ने स्पष्ट भइसकेको छैन। अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भारत्तोलन संघका अध्यक्ष श्रेष्ठका अनुसार सोमबार साँझ प्रशिक्षक महर्जनको घरमा जात्राको भोज भएको थियो। ‘हामी सबैजना भोजमा गएका थियौं । राति ९ बजे त्यहाँबाट फर्कँदा सन्जुसँग बिदा भएर निस्किएका थियौं। तर बिहान साढे ५ बजे एक्कासी त्यस्तो खबर आयो’ उनले भने।

प्रतिक्रिया दिनुहोस्