Logo

बिगतमा नयाँ अनुहारमा छान्ने कास्कीका मतदाता के गर्लान यसपालि


पोखरा,
कास्कीमा लगातार एउटै पार्टीले चुनाव जितेको छैन । २०४८ देखि अहिलेसम्म प्रदेश, प्रतिनिधिसभादेखि स्थानीय तहको चुनावसमेत हरेक पटक फरक नतिजा आएको छ ।

२०४९ मा कांग्रेसले चुनाव जितेको यहाँ २०५४ मा एमाले विजयी भयो । तर, अल्पमतमा । कांग्रेसका वडाध्यक्ष बहुमतमा थिए । २० वर्षपछि भएको बहुमतसहित एमालेले चुनाव जित्यो ।

प्रतिनिधिसभाको चुनाव हेर्दा २०४८ मा कांग्रेस, २०५१ मा एमाले, २०५६ मा फेरि कांग्रेस, २०६४ मा माओवादी, २०७० मा कांग्रेस–एमाले र २०७४ मा एमाले–माओवादी बढी विजयी भएको रेकर्ड छ ।

२०४८ सालमा क्षेत्र नम्बर १ बाट कांग्रेसका तारानाथ रानाभाट एमाले उम्मेदवार खगराज अधिकारीलाई १ हजार ७ सय ३३ मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । रानाभाटले २० हजार ४ सय १६ मत ल्याउँदा अधिकारीको १८ हजार ६ सय ८३ मत थियाे ।

क्षेत्र नम्बर २ मा एमालेका तुलबहादुर गुरुङ कांग्रेसका शुक्रराज शर्मालाई २ हजार ७ सय २३ मतान्तरले पराजित गरी निर्वाचन जितेका थिए । गुरुङले २० हजार ३४ मत पाउँदा शर्माको २१ हजार ३ सय ११ मत रह्याे । क्षेत्र नम्बर ३ मा एमालेकै सोमनाथ अधिकारीले १ हजार ५ सय ६५ मतान्तर सहित कांग्रेसका महादेव गुरुङलाई हराए । अधिकारीले १७ हजार ८ सय १८ मत पाउँदा गुरुङले १६ शजार २ सय ५३ मत मात्रै पाए ।

तत्कालीन समयमा क्षेत्र नम्बर १ मा खसेको ४१ हजार ९ सय ८० मतमध्य १ हजार १ सय १३ मत बदर भएको थियो भने २ नम्बरमा ४९ हजार १ सय २९ मत खसेकोमा १ हजार १ सय ८३ मत बदर भएको थियो । क्षेत्र नम्बर ३ मा भने ३८ हजार ०७८ मत खस्दा १ हजार २ सय ९१ मत बदर भएको थियो ।

२०५१ मा ठ्याक्कै विपरित नतिजा थियाे । कांग्रेसले जितेको ठाउँमा एमाले र एमालेले जितेको ठाउँमा कांग्रेस विजयी भयो । क्षेत्र नम्बर १ मा बहालवाला सांसद तारानाथ रानाभाटलाई १ हजार २ सय ५१ मतान्तरले पराजित गरी पूर्वप्रतिस्पर्धी खगराज अधिकारी विजयी भए । क्षेत्र नम्बर २ मा भने एमालेकै तुलबहादुर विजयी हुँदा शुक्रराज अझै फराकिलो मतले हारे । क्षेत्र नम्बर ३ मा कांग्रेसका कृष्णबहादुर गुरुङले बहालवाला सांसद सोमनाथ अधिकारीलाई १ सय ४९ मतान्तरले हराए ।

२०५६ को चुनावमा तीनवटै क्षेत्र कांग्रेसले लपेटेको थियाे । क्षेत्र नम्बर १ मा तारानाथ रानाभाटले एमालेका खगराज अधिकारीलाई ३ हजार ८ सय ३ मतान्तरले हराउँदा २ नम्बर क्षेत्रमा कांग्रेसका महादेवले एमालेका तुलबहादुरलाई सर्वाधिक ४ हजार ३ सय १७ मतान्तरले हराइदिए । क्षेत्र नम्बर ३ मा कांग्रेसका प्रकाश गुरुङ २ हजार ६ सय ४८ मतान्तर सहित विजयी हुँदा एमालेका सोमनाथ दोश्रो पटक पराजित भए ।

२०६४ को संविधानसभा निर्वाचनमा ४ वटा क्षेत्र कायम गरिएको थियो । क्षेत्र नम्बर १ मा माओवादीका देव गुरुङले २ हजार ५ सय २३ मतान्तरले एमाले उम्मेदवार खगराज अधिकारीलाई नै हराए । तेस्राेमा रहेका कांग्रेसका यज्ञबहादुर थापाले खगराजको भन्दा ५९३ मत कम ल्याए ।

क्षेत्र नम्बर २ मा माओवादीका राजकाजी गुरुङले ४ हजार ८९ मतान्तरसहित कांग्रेसकी शारदा पौडेललाई हराए । तेस्राेमा रहेकी एमालेकी गजकुमारी गुरुङले शारदाको भन्दा १ सय ६ मत कम पाइन् । क्षेत्र नम्बर ३ मा अप्रत्यासित रुपमा एमाले उम्मेदवार रवीन्द्र अधिकारी विजयी भए ।

माओवादीका झलकपाणी तिवारीलाई २ हजार ४ सय ६० मतान्तरले हराएका हुन् । तेस्राेमा कांग्रेसकी बृन्दा राना तिवारीभन्दा १ हजार ८ सय ८५ मतान्तरले पपछि परिन् । क्षेत्र नम्बर ४ मा पनि माओवादीकी दुर्गा विक एमालेकी सीता गिरीलाई ४ सय ३८ मतान्तरले हराएकी थिईन् । कांग्रेसका प्रकाश गुरुङ गिरी भन्दा १ हजार ५ सय ३७ मत पछि परे ।

संविधानसभा निर्वाचन २०७० मा माओवादी क्लिन स्वीप भयो । त्यतिमात्रै होइन, माओवादी यो चुनावबाट निकै कमजोर भयाे ।  क्षेत्र नम्बर १ मा कांग्रेसका यज्ञबहादुर थापा २ सय ७२ मतान्तरले विजयी हुँदा एमालेका मानबहादुर जिसी (हालका मेयर) पराजित भए । तेस्राे बनेको माओवादीका विष्णु पौडेलले जिसीको भन्दा ९ हजार ८५ मत कम ल्याए ।

क्षेत्र नम्बर २ मा पनि कांग्रेसकी शारदा पौडेल विजयी हुँदा अहिले मेयरका प्रत्यासी कृष्ण थापा ३ सय ४४ मतले पछि परे ।  तेस्राे बनेका बखानसिंह तमुले थापाको भन्दा ५ हजार ७ सय १३ मत कम पाए । क्षेत्र नम्बर ३ मा एमालेका रवीन्द्र अधिकारी दोस्राे पटक भारी मतान्तरले विजयी भए । उनले कांग्रेसका शोभियत अधिकारीलाई २ हजार ३ सय २ मतान्तरले हराएका थिए ।

तेस्राे  बनेका हालका प्रदेश अर्थमन्त्री रामजी बरालले शोभियतको भन्दा ६ हजार ३ सय ७७ मत कम ल्याए । क्षेत्र नम्बर ४ मा एमालेकी सीता गिरीले कांग्रेसका महादेव गुरुङलाई पराजित गरेकी थिइन् । उनले २ हजार २ सय ९१ मतान्तरले हराउँदा तेस्राे बनेका माओवादी उम्मेदवार गुप्तबहादुर हमालले गुरुङको भन्दा ५ हजार ९ सय ६४ मत कम पाए ।

माओवादी २०७४ मा झन् कमजोर बन्यो । एमालेसँग मिलेर दुईवटा प्रदेशसभा चुनाव जितेको माओवादीले ७० को मत समेत जोगाउन सकेको छैन । २०७४ मा प्रतिनिसभा तर्फ कांग्रेस क्लिन स्वीप भयो भने प्रदेशसभामा एउटा सीट मात्रै जित्न सक्यो ।

जिल्लामा ३ वटै प्रतिनिधिसभा सदस्य एमालेका छन् भने प्रदेशसभामा ३ वटा एमाले, २ वटा माओवादी र एउटा कांग्रेसले जितेका छन् । अहिले माओवादी र एमालेको गठबन्धन छैन ।

स्थानीय चुनाव हेर्दा पनि सँधै एकैखालको नतिजा देखिँदैन । २०४९ सालमा मेयर र उपमेयर कांग्रेसले जितेको तत्कालीन पोखरा नगरपालिकामा त्यसको ५ वर्षपछि नतिजा उल्टो आयो । मेयर र उपमेयर दुवै एमालेले जिते । २०४९ मा कांग्रेसका भोला थापा मेयर र नरेशशंकर पालिखे उपमेयर बने ।

१८ वडामध्ये ११ वटामा कांग्रेस र ६ वटा एमाले तथा एउटामा राप्रपा विजयी भएको थियो । ०५४ मा एमालेका कृष्ण थापा (हालका मेयर प्रत्यासी) मेयरमा जिते भने एमालेकै मानबहादुर गुरुङ उपमेयरमा जिते ।

तर, १८ वडामध्ये ९ वडा कांग्रेसले जितेको थियो भने एमालेले ७ वटा वडा मात्रै जितेको थियो । २ वडामा राप्रपा विजयी भएको थियो ।

२०७४ को स्थानीय चुनावमा मेयर उपमेयर सहित बहुमत वडा एमालेले जितेको थियाे । ३३ वडा रहेको यहाँ २२ वटा एमालेले जित्यो भने ११ वटा कांग्रेस जितेको थियो । एउटा तथ्य चाहिँ के नयाँ आएको छ भने, पछिल्ला निर्वाचनमा एमालेको मतान्तर निकै बढिरहेको छ । अहिले यहाँ पूर्वएमाले र वर्तमान एमालेका उम्मेद्वारबीच मेयरमा प्रतिश्पर्धा छ । कसको पक्षमा माहोल बन्छ भन्ने अझै निधो भएको छैन । दुवै पक्षले आफुले चुनाव जित्ने दावी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्