Logo

कालीदेवी मिडिया हाउसबाट बुद्धि तामाङ ‘हैट’ सहित ७ कलाकार सम्मानित


विभिन्न नेपाली चलचित्र, डकुमेन्ट्री, शर्ट मुभी, टेलिसिरियल आदि निर्माण गर्दै आएको कालीदेवी मिडिया हाउसले चर्चित कलाकार बुद्धि तामाङ लगायत सात जना कालाकारलाई सम्मानित गरेको छ । सो मिडिया हाउसबाट निर्माण गर्दै आएको टेलिसिरियल नम्बरी को ५१ औँ भागको स्वर्ण महोत्सवको अवसरमा कलाकारहरुलाई सम्मान गरेको हो ।

२०७६ देखि सुरु भएको सिरियल अहिले ५१ औँ भाग पुगेको छ । शनिबार ५१ औँ भाग पुगेको अवसरमा स्वर्ण महोत्सव आयोजना गर्दै मिडिया हाउसले सिरियलका कलाकारलाई सम्मान पत्र प्रधान गरेको हो । सो अवसरमा गीतसंगित, चलचित्र, टेलिसिरियल लगायत विभिन्न विधामा महत्वपूर्ण योगदान दिएका ७ जना कलाकारलाई विशेष सम्मान दिएका छन् । सम्मानित हुनेमा चर्चित कलाकार बुद्धि तामाङ, कलाकार एवम समाजसेवी राजकुमार तामाङ, गायक आशमान वाइबा, कलाकार अनिता नेगी, गायक निमा दोङ, उत्तर लामा संगोल, समाजसेवी कुङ्गा लामा रहेका छन् ।

सिरियलमा सुरुको अंकदेखि ५१ औँ भागसम्म नै देखिएका कलाकार हरिप्रसाद घिमिरेलाई पनि विषेश सम्मान गरिएको छ ।
पूर्व युवा तथा खेलकुद मन्त्री दावा लामाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य श्याम लामा, नेपालको पहिलो महिला रेस्लर भगवती खड्का, पहिलो महिला साझा बस चालक रेविका थापा, चर्चित कलाकार बुद्धि तामाङ हैट लगायत दर्जनौँ कलाकारहरुको उपस्थिति थियो । जमलस्थित राष्ट्रिय नाचघरमा भएको कार्यक्रममा दर्जनौँ कलाकारहरुले आफ्नो प्रस्तुति समेत दिएका थिए ।

कालीदेवी मिडिया हाउसका अध्यक्ष एवम कलाकार चित्र कुमार निरौलाले कलाको सम्मान गर्नका लागि कार्यक्रमको आयोजना गरिएको बताए । नम्बरी सिरियलको लेखन, तथा निर्देशन समेत गर्दै आएका कलाकार विनायक दाेङ तामाङले कार्यक्रममा ८५ जना भन्दा बढी कलाकारलाई सम्मान गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्