Logo

तनहुँका सभापति आले पौडेल समुहमा

गण्डकी प्रदेश अधिवेशनमा खुले शर्माको पक्षमा


नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गृह जिल्ला तनहुँको जिल्ला अधिवेशनबाट निर्वाचित सभपाति जीतप्रकाश आलेलाई जिल्ला सभापतिहरुमा सभपाति शेरबहादुर देउवाको पक्षको भनिएको छ । उनी तनहुँमा बैकुण्ठ न्यौपानेलाई पराजीत गर्दै सभापतिमा निर्वाचित भएका हुन् ।

आलेलाई केन्द्रीय राजनीतिमा सभापति शेरबहादुर देउवा निकट रहेका केन्द्रीय सदस्य शंकर भण्डारी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेको सहयोग र सर्मथन रहेको थियो । भण्डारी, भट्टराई र वाग्लेको सहयोगमा सभापति बनेका आलेलाई सभापति देउवा पक्षको भनिएको हो ।

तर आलेले शनिवार भएको गण्डकी प्रदेश अधिवेशनमा भने पौडेल पक्षका उमेदवार शुक्रराज शर्मालाई सहयोग गरेका छन् । कास्कीका एक पत्रकारका अनुसार आलेले शुक्रराजको पक्षमा खुलेरै सहयोग गरेको देखियो । तनहुँको जिल्ला अधिवेशनमा समेत वरिष्ठ नेता पौडेलले सभापतिका दुवै उमेदवार आले र न्यौपाने आफु निकट रहेको भन्दै कसैको पक्षमा लविङ गरेका थिएनन् । कास्कीका ती पत्रकारका अनुसार आलेले पनि पौडेललाई सभापति बनेपछि सहयोग गर्ने बचन दिएको आफ्नो जानकारीमा रहेको बताए ।

ती पत्रकारका अनुसार आलेका निकट रहेको तनहुँ क्षेत्र नम्बर दुईका क्षेत्रिय सभपाति चुडामणी खनाल गण्डकी प्रदेशमा खुलेर नै शुक्रराज शर्माको पक्षमा देखिएका थिए । खनाल मात्र नभएर आले निकट रहेका धेरै नेता कार्यकर्ताहरु शर्माको पक्षमा खुलेर लागेका थिए । शनिवार भएको प्रदेश अधिवेशनमा तनहुँका सभापति जीतप्रकाश आले र पराजीत सभापति बैकुण्ठ न्यौपाने दुवै शुक्रराज शर्माको पक्षका उमेदवारको पक्षमा देखिएपछि आले रामचन्द्र पौडेल पक्षमा रहेको प्रमाणीत भएको छ ।

प्रतिक्रिया दिनुहोस्