Logo

विपीको नजरमा कांग्रेस कार्यकर्ताका ७ खराबी


प्रिय साथी,
धेरै दिनपछि यस्ता किसिमको पत्र तपाईं साथीहरू कहाँ पठाउँदै छु। मलाई लाग्दछ, आज यसको आवश्यकता पनि पर्न आएको छ। आज हाम्रो प्यारो देशसरह नै नेपाली कांग्रेस पनि एउटा ठूलो संकटको अवस्थाबाट गुज्रँदै छ र यो आवश्यक छ कि यसको पूर्ण निराकरण गर्नमा हामी हालका लागि त्यति समर्थ नभएता पनि यसका ठीक(ठीक कारणहरूको ठेगाना लागोस्। अतएव हाम्रो पार्टी भित्रका रोगहरूको ठेगाना लाग्नु आज आवश्यक हुन आएको छ। पार्टीहरू देशको सामाजिक, राजनैतिक र आर्थिक स्थितिका प्रतिबिम्बमात्र हुन्छन्, हाम्रो पार्टी पनि त्यस्तै हो। नेपाली कांग्रेस यदि नेपाली जनताको वास्तविक प्रतिनिधि हो भने यो निरोग र स्वस्थ रहेमा क्रमशः हाम्रो देशको एक(एक रोग र व्याधी आफैं हट्दै जाने छन् र कालान्तरमा यो देश विश्वका अरू देशसरह व्यवस्थित र उन्नतिशील भएर जाने छ।

तपाईं साथीहरूले प्रारम्भदेखि नै मेरोउपर ठूलो विश्वास र प्रेम देखाउनुभएको छ। मैले पनि सकेसम्म आफूलाई यसको उपयुक्त बनाउने प्रयत्न बराबर गरेको छु। तर, मलाई आफ्नो कामबाट नै न सन्तोष छ न तपाईं साथीहरूको कामबाट नै। यसो नभएको भए यस्ता किसिमको पत्र लेख्न आवश्यकता नै पर्ने थिएन। त्यस हुनाले यो स्पष्ट कुराहरू म तपाईंहरूको सोही मैत्री र सद्भावनाका कारणहरूका आधारमा लेख्दैछु र मलाई आशा छ कि यसउपर तपाईंहरूले अवश्य नै गम्भीर विचारका साथ मनन गर्नु हुनेछ।

नेपाली कांग्रेसउपरको ऐतिहासिक उत्तरदायित्वको कुरा जहाँ पनि पार्टीका साथीहरूले गरेको म सुन्दछु। यो ऐतिहासिक उत्तरदायित्व क्या होरु हामीले के गर्नुछरु यसको स्पष्ट वोध हामी सबैलाई नभएको जस्तो छ। यसबारे मैले यता केही विचार गरें।मलाई लाग्दछ, नेपालमा क्रान्तिको नेतृत्व गरी सफलताका साथ कठिन ज्वालामुखीको दुर्गम पहाड चढी त्यसको अखण्ड ज्वालामा हाम फालेर पनि अक्षत र सफल भई निस्केका नेपाली कांग्रेसका क्रान्तिकारी साथीहरू अझ सोही बितेका सपनाका कथाहरूमा अल्झी बसिरहेका छन्। अतीत सबैका लागि सुखद र प्यारो हुन्छ। झन् त्यस व्यक्ति वा संस्थाको के कुरा जसका बितेका दिन इतिहासका सुनौला पृष्ठ हुन गएका छन्। तर, यसैले हामीमा आफ्नो साध्य र साधनलाई नै भ्रममा पारेको जस्तो छ। क्रान्ति प्रजातन्त्र प्राप्तिको एउटा साधनमात्र थियो र साध्य थियो प्रजातन्त्र। साधनको उपलब्धिको उमंगमा हामीले यस महत्वपूर्ण कुरालाई बिर्सियौं र अझै सोही गल्ती गर्दछौं। यसले गर्दा देश प्रजातन्त्रको मार्गमा चाहिने जति अघि बढन सकेन। वास्तविक भन्ने हो भने क्रान्तिजन्य प्रजातन्त्रका प्राप्तिहरू दिनदिनै घट्दै गएर यसले गर्दा क्रान्तिको महत्व पनि कम हुँदै गयो। यस कुरालाई आज हामीले राम्रै गरी बुझ्नु परेको छ।

समयका साथै आज हाम्रो पार्टीभित्र अनेक खराबीहरू आएका छन्। तिनीमध्ये केही प्रमुखबारे यहाँ म तपाईंहरूलाई आफ्नो मनको कुरा भन्न चाहन्छु। सर्वप्रथम क्रान्तिको सफलताले हामी सबैमा एक किसिमको आवश्यकताभन्दा बढी आत्मविश्वासको सिर्जना गर्‍यो। अनवरत कार्यद्वारा यसको पुष्टयाइँ भएको भए सम्भव थियो, यसबाट त्यति नोक्सान थिएन। तर अनेक कारणले सो हुन सकेन। फलस्वरूप आजको हाम्रो निरर्थक आत्मविश्वास हाम्रो बाटोको तगारो हुन आएको छ। यसलाई हामीले हटाउनु परेको छ।हाम्रो दोस्रो अवगुण यो छ कि प्रत्येक प्रश्नउपर हामी आफ्नो व्यक्तिगत दृष्टिकोणले विचार गर्दछौं। आफ्ना चाहना र बानीअनुसार हामी राष्ट्रिय वा पार्टीका समस्याहरूको हल खोज्दछौं। अतएव हाम्रा धेरैजस्तो निर्णयहरू आफ्ना(आफ्ना व्यक्तिगत चाहना वा रूची वा अरूचीका छायामात्र हुन जान्छन्। यसलाई हामीले हटाउनु छ।

हाम्रो तेस्रो खराबी यो छ कि हामीमा आफ्नो जिम्मेदारी प्रतिको उत्तरदायित्व कम छ यद्यपि जिम्मेदारीको काम उठाउने बारेको हाम्रो चाख कम छैन। यी कारणहरूले गर्दा हामी बढ्ता जनतामा भिज्दैनौं र जनताका र हाम्रा बीचको सीमा आज दिनप्रति बढदो छ। यो हाम्रो चौंथो दुर्गुण हो।

हाम्रा साथीहरूको पाँचौं खामी यो छ कि हामी आफूलाई अर्कै तहको र पार्टीका साधारण र सोझा कार्यकर्ताहरूलाई अर्कै तहको भन्ठान्दछौं। जनता र पार्टीकै कार्यकर्ताहरूको बीचको यस किसिमको अन्तर पनि आज देखिन गएको छ। हाम्रो छैठौं खराबी यो छ कि साथीहरूमा अध्ययनको ठूलो कमी छ। इतिहासका बितेका घटनाहरूका प्रकाशमा वर्तमान राजनीतिको बाटो पहिल्याउनु पर्दछ। हामीले यो गर्दैनौं।

उदाहरणका लागि पार्टीको घोषणा पत्रसम्मको उपयुक्त ज्ञान नभएका धेरै साथीहरूलाई मैले देखेको छु। यसलाई पनि हामीले हटाउनु परेको छ। अब म तपाईहरूलाई मैले देखेको पार्टीको सातौं र अन्तिम खराबी लेख्छु उत्कर्ष र संकट दुबै कालमा यदि साथीहरूमा नैतिकताको अभाव हुन गयो भने त्यसको ह्रास निश्चित छ। राजनीति र नैतिकता दुई विभिन्न तत्व हुन र सफल राजनीतिका लागि नैतिकताको आश्रय लिनु आवश्यकता छैन भन्ने एकथरि विचार तपाईंहरूले पनि अवश्य नै सुन्नुभएको होला। यस विचारबाट अलि बढ्ता प्रभावित कसैकसैको भनाइ यो पनि छ कि सफल राजनीतिका लागि नैतिकता बाधामात्र छ। एक अर्कोथरिको भनाइ यो छ कि नैतिकताबिनाको राजनीति सफल भएता पनि ग्राह्य छैन र नैतिकतारहित राजनीति सर्वथा एक पापाचार मात्र हो।

एकमा जहाँ नैतिकताको अभावलाई नै राजनीतिक सफलताको कुंजी भनिएको छ, त्यहाँ अर्कोमा यसउपर आवश्यकताभन्दा ज्यादै बढी ध्यान दिइएको छ। राजनीति मोक्षको मार्ग होइन। पार्टीहरू विभिन्न किसिमका राजनीतिका माध्यम मात्र हुन्। अतएव कुनै राजनीतिक पार्टी मुमुक्षहरूको दलजस्तो निस्पृह र निर्विकल्प हुन सकेन भनेर यदि कसैले गुनासो गर्दछ भने त्यो उसको नै मुर्खता हो। मेरो भनाइको तात्पर्य यो हो कि माथिका नैतिकताबारेमा यो दुबै दृष्टिकोण अतिवादका उदाहरणमात्र छन्।

राजनीति र नैतिकताको एक उपयुक्त समन्वय खोज्ने अवसर आज नेपाली राजनीतिमा आइसकेको छ। म चाहन्छु कि देशको राजनीतिमा अग्रणी हाम्रो पार्टीले नै यसबारे पनि एउटा नयाँ बाटो र सर्वथा अभिनव प्रयोग यहाँ प्रारम्भ गरोस्। र कसले भन्न सक्छ कि यसको प्रभाव कालान्तरमा हाम्रो देशको सीमा नाघेर बाहिर फैलिने छैन ?

जस्तो साधारण जीवनमा नैतिकताको स्थान छ त्यस्तै राजनीति पनि यस जीवन कै एउटा भाग भएको हुनाले नैतिकताबिनाको राजनीति निरर्थक छ, अलिनो छ, र त्यस हुनाले अग्राह्य छ। यदि हामीहरूले साथीहरूकै बीच असत्यको प्रचार गर्‍यौं, गैरइमानदारीका काम गर्‍यौं र आपसमा अविश्वास गर्‍यौं भने हामी राजनीतिक कार्यकर्ताहरूको संघर्षमय शुष्क जीवनको संबल नै के रहने होरु नैतिकताबारे ठूलो लेक्चर दिने मेरो इच्छा यहाँ छैन। मनुष्य आफैं एउटा अत्यन्त कमजोर र निरीह प्राणी छ। तर कस्तै संकटका अवसरमा पनि हामीले यो मानवोचित गुणहरूलाई भुलाएनौ भने घोर अन्धकार र निराशाका अवसरमा पनि यसको क्षीण प्रकाशले हामीलाई जीवित र उल्लासमय राख्ने छ।

माथि नै मैले तपाईंहरूलाई भनेको छु कि मउपरको तपाईंको ठूलो विश्वास, मैत्री र सद्भावनाका भरोसाका कारणले मात्र मैले यस्तो किसिमको व्यक्तिगत पत्र तपाईंहरूलाई लेख्ने धृष्टता गरेका हुँ। सारा कमजोरीहरूका कारण तपाईंहरू नै हुनुहुन्छ भन्ने आशय यस पत्रको होइन। साँच्चै भनौ भने यी कमजोरीहरूको सबभन्दा बढी उत्तरदायित्व मेराउपर छ। हाम्रो केन्द्रीय कार्यालय ढिला भएको छ, उपयुक्त अवसरमा उपयुक्त काम हुन्नन् भन्ने कसलाई थाहा छैन।

यसको जिम्मेवारी पनि धेरैजसो मेरैउपर छ। यसलाई आज हामी सबैले मिली हटाउनु छ। स्थिति अझै नसुध्रिने लायक भएको छैन। अनेक पटक जीवन मरणका संघर्षमा काँधमा काँध मिलाइ हामीहरूले देशका दुश्मनहरूसँग जीवन(मरणको युद्ध गर्‍यौं। भविष्य अत्यन्त अनिश्चित भए तापनि उक्त समयको हाम्रो कर्तव्यपरायणता र मैत्री, एकता र उदारताको आज अभाव हुन गएको छ। यसलाई आज हामीले पुनः प्राप्त गर्नु परेको छ। त्यो अझै बढी त्याग र बलिदानले मात्र हुन सक्तछ। अनि मात्र देशमा प्रजातन्त्रको विकास हुने छ र समाजवादको मार्ग प्रशस्त हुने छ। अनिमात्र हाम्रो ऐतिहासिक उत्तरदायित्व पूरा हुनेछ।

सम्पादकीय नोट: नेपाली कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाले आजभन्दा ६४ वर्षअघि कांग्रेसका कार्यकर्ताहरूलाई सम्बोधन गर्दै एउटा पत्र लेखेका थिए। उक्त पत्रमा उनले कांग्रेस कार्यकर्ताका सात खराबीको चर्चा गरेका छन्। विपीको उक्त पत्रको पूर्णपाठ हामीले प्रकाशित गरेका छौं।

प्रतिक्रिया दिनुहोस्