Logo

नेता प्रकाशले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा


नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी समावेशी दलिततर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । बझाङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित उहाँले पार्टीका नेता र साथीहरूसँग छलफल गरी केन्द्रीय कार्यसमितिमा बसेर पार्टीको भावी कार्यदिशाबारे योगदान गर्न सक्छु भन्ने उद्देश्यले उम्मेदवारी दिने निधो गरेको बताउनुभयो । नेपाल दलित सङ्घका पूर्वकेन्द्रीय महासचिव रसाइली विद्यार्थी कालबाटै कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँले कांग्रेसमा सामान्य नागरिकका मुद्दा उठाउन आफूले उम्मेदवारी दिएको बताउँदै कांग्रेसले निम्न आय भएका तथा सुकुम्वासी, भूमिहीन, दलित, मजदूर वर्गका मुद्दालाई उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । युवा नेता रसाइली २०७४ सालको संसदीय निर्वाचनमा कांग्रेसका तर्फबाट समानुपातिक सङ्घीय सांसद हुनुहुन्छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्