Logo

एमालेको महाधिवेशन दुइ दिन लम्बिदा पार्टीलाई डेढ करोड भार


एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन मंसिर १० गते चितवनको नारायणगढस्थित नारायणी नदी किनारमा भएको थियो । बन्दसत्र मंसिर ११ गते पर्यटकीय नगरी सौराहमा सुरु भएको थियो । सहमतिमा नेतृत्व चयनको प्रयास सफल नभएपछि पूर्वनिर्धारित तालिका प्रभावित भयो । मंसिर ११ गते नै उम्मेदवारी दर्ता, दावी विरोध र अन्तिम नामावली प्रकाशन गर्ने, १२ गते निर्वाचन गरेर १३ गते विहानै चितवनमा पत्रकार सम्मेलन गरी महाधिवेशन समापन गर्ने एमालेको पूर्वनिर्धारित कार्यक्रम थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर १२ गते दिनभरजसो नै सहमतीका लागि प्रयास गर्दा महाधिवेशन थप दुई दिन लम्बियो । नेतृत्वमा सहमति नजुटेपछि १४ गते विहानदेखि मतदान गरियो । निर्वाचित भएकाहरुको आजै सपथ ग्रहणको तयारी गरिएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव तामाङले आज सपथ ग्रहणको तयारी गरिएको बताए । यसका कारण अब महाधिवेशनको मैजारो १५ गते मात्रै हुनेछ । महाधिवेशनमा २१ सय ७५ प्रतिनिधि, स्वयमसेवक र अतिथि गरी ३५ सय जनाका लागि होटल बुक गरिएको छ । त्यसमा प्रतिनिधि बसेको होटलले थप तीन छाक खाना खुवाउने सम्झौता गरिएको छ । खाना र बेडको लागि एमालेले होटल व्यवसायीसँग एक करोड ९० लाख रुपैयाँमा सम्झौता गरेको थियो । मूल व्यवस्थापन समिति सहसंयोजक पाण्डेका अनुसार सोमबार दिउँसो र बेलुकाको खाना, मंगलबार बिहानको ब्रेकफास्ट र बेडको व्यवस्था गर्ने गरी अर्को सम्झौता गरिएको छ । थप एक दिन खाना र बेडको लागि करिब ७० लाख रुपैयाँमा सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्