Logo

छानविनमा विज्ञता नै नभएकाहरुले आशा सिंहलाई दिए सफाइ



काठमाडौं । नेपाल प्रहरी अस्पतालकी प्रमुख एआइजी डा. आशा सिंहमाथि लागेको आर्थिक अनियमितताको आरोपमाथि छानविन गर्न गठित समितिले कुनै कैफियत नभेटिएको निष्कर्ष निकालेको छ । रोचक के छ भने आर्थिक अनियमितता सम्बन्धी छानविन गर्न गठित समितिमा लेखाका विज्ञ थिएनन् भने मेडिकल उपकरणसम्बन्धमा पनि छानविन गर्नु पर्ने थियो तर समितिमा एक जना पनि बायोमेडिकल इन्जिनियर राखिएको थिएन ।

प्रहरी प्रधान कार्यालयले एआइजी विश्वराज पोख्रेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति बनाएर कात्तिकको पहिलो साता नेपाल प्रहरी अस्पताल पठाएको थियो । समितिमा डिआइजी वसन्त लामा, एसएसपीहरु पुजा सिंह र भिम ढकाल, डिएसपी ज्ञानेन्द्र बस्नेत थिए ।

समितिमा भएकी पुजा सिंह र आशा सिंह नातेदार पनि हुन् । यी मध्ये कोही पनि लेखाका विज्ञ वा बायोमेडिकल इञ्जिनियर होइनन् ।
प्रमुख सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । उजुरीमा औषधिजन्य सामाग्री खरिदमा अनियमितता भएको, कम आवश्यक उपकरणकालागि करोडौं खर्चेको, सेकेन्ड ह्यान्ड पिसिआर मेसिन खरिद गरि नयाँ किनेको बिल तयार पारेको, अनुशासनका नाममा कुनै एक वर्गका कर्मचारीहरुलाई मात्रै कारबाही गरेको जस्ता विषयमा छानविन गर्न आग्रह गरिएको थियो ।

अख्तियार आफैंले यो मामिलामा अनुसन्धान नगरेर प्रहरी प्रधान कार्यालयलाई अनुसन्धान गर्न निर्देशन दियो । स्रोत भन्छ ‘आन्तरिक अनुसन्धान विभिन्न कारणहरुले प्रभावित हुन सक्छ भनेर अख्तियारमा उजुरी परेको देखिन्छ । एउटै संगठन भएपछि अनुसन्धान गर्ने र गरिनुपर्ने पात्रहरु आपसमा सम्बन्धित हुन सक्छन् । केही बीच राम्रो मित्रता वा शत्रूता पनि हुन सक्छ । यस्तो सम्बन्धले अनुसन्धान प्रभावित हुन सक्छ भनेर अख्तिायरमा उजुरी परेको होला । तर अख्तियारले नै लाचारी देखायो ।’

अझै अनौठो त के भयो छानविनमा गृह मन्त्रालयका प्रतिनिधि पनि राखिएन । छानविन टोली सन्तुलित बनाउन पनि यो आवश्यक थियो ।
अनुसन्धान गर्ने जिम्मेवारी बोकेको अख्तियार आफैं पन्छिएपछि प्रहरी अस्पतालमा भएको भनिएको अनयिमितताको मामिला सहजै किनार लागेको छ ।

एआइजी विश्वराज पोख्रेलको समितिले तयार पारेको प्रतिवेदनमा ‘कुनै अनियमितता नभएको तर अस्पतालभित्रको दुई गुटले आपसमा हिलो छ्यापाछ्याप गरेको’ भन्ने शैलीमा निष्कर्ष निकालेको छ ।

नपाएका उपाधि/पदक लगाउँदै फोटो खिचाउँदै

संयुक्त राष्ट्र संघको शान्ति मिसनमा कामै नगरे पनि मिसनमा गएकाहरुले पाउने पदक लगाएर फोटो खिचाएको भनेर अस्पतालकी प्रमुख आशा सिंहबारे प्रश्न उठेको थियो । अहिले उनको विषयमा थप विवाद उत्पन्न भएको छ । विवाद हो – सिंहले दुर्गममा सेवा गरेकाहरुले पाउने पदक पनि लगाउने गरेकी छिन् । यथार्थमा उनले दुर्गम क्षेत्रमा गएर जनताको सेवा कहिल्यै गरेकी छैनन् ।

तल दिइएको तस्बीरमा छातीको बायाँ तर्फको कालो सेतो धर्साले दुर्गममा सेवा गरेबापत पाइने पदकलाई जनाउँछ । प्रमुख सिंहले यो पदक पाएको भनेर चिन्ह लगाउँछिन् । तर उनले यस्तो कुनै सम्मान, पदक पाएकी छैनन्।


मुलुकमा राजसंस्था हुँदा दिइने विभिन्न खाले पदक, विभूषण अलंकार मध्येको गोरखा दक्षिण बाहु एक प्रतिष्ठित विभूषण मान्ने गरिन्थ्यो । डा. आशा सिंहले गोरखा दक्षिण बाहु पाएकी हुँ भन्दै पदक जनाउने चिन्ह लगाएर हिँड्ने गर्छिन् ।

तलको तस्बरको बायाँ तर्फको रातो धर्साले गोरखा दक्षिण बाहु प्राप्त गरेको जनाउँछ । जानकार स्रोत भन्छ – ‘सेवाको सुरुवातदेखि नै म उहाँलाई चिन्दछु । उहाँको सेवा पदक सम्मान र सबैबारे जानकार छु । गोरखा दक्षिण बाहु प्राप्त गर्नु भएको कुरामा मलाई विश्वास छैन ।’


कुन धर्साले के जनाउँछ ?

रातो मात्रैले –गोरखा दक्षिण बाहु
रातो र सेतोले –राजा वीरेन्द्रको गद्यी आरोहण रजत महोत्सव पदक
कालो–सेतो–कालो– दूर्गम पदक
हरियो–सेतो –हरियो–सेतो– युएन पदक (सिंहले यसलाई वीरेन्द्र –ऐश्वर्य पदक भन्ने गर्छिन्)
रातो –कालो – सेवा अवधि १२ वर्ष पूरा भएपछि पाउने ।

प्रहरी अस्पतालभित्रका प्रमुख काण्ड यस्ता छन्ः

नेपाल प्रहरी अस्पताल पहिले देखि नै विवादमा पर्दै आएको छ । अस्पतालका वरिष्ठ डिआइजी डा. मिनराज पाठकको पालो मिचेर जुनियर डिआइजी आशा सिंहलाई अस्पतालको प्रमुख बनाए पछि गुटको झगडा सुरु भएको भनेर टिप्पणी पनि हुने गरेको छ । विगतमा यस्तो टिप्पणी हुने भए अहिले त्यस्तो छैन । स्रोत भन्छ– ‘यहाँ कुनै गुट छैन । अस्पताल प्रमुख सिंहका ‘यस म्यान’हरु सात जना जति छन् । बाँकी सबै उनीसँग रुष्ट छन् । पाँच छ सय कर्मचारी भएको अस्पतालमा सात जना एकातिर बाँकी अर्को तिर हुनुलाई गुट भन्न मिल्छ र ?’

ज्यान जोगाउने मेसिन बिगारेर सुन्दरता बढाउने मेसिन किन्न १ करोड

नेपाल प्रहरी अस्पतालमा एउटा एमआरआई मेसिन पहिले देखि नै थियो । त्यो मेसिन बिग्रेको एक वर्षभन्दा बढी भइसक्यो । मेसिन मर्मतका लागि करिब १ करोड रुपैयाँ लाग्ने र त्यो मर्मत गर्ने निर्णय पनि भइसकेको छ । एमआरआई मेसिनबाट निस्केको रिपोर्टले धेरै अवस्थामा बिरामीको ज्यान जानबाट जोगाउँछ । रिपोर्ट हेरेर चिकित्सकहरुले आवश्यक उपचार गर्छन् । तर यस्तो महत्वपूर्ण मेसिन मर्मत गर्न छाडेर अस्पतालले चाहिँ एक करोड हाराहारीमा लेजर मेसिन खरिद गरेको छ । लेजर मेसिनले छालामा भएका मुसा कोठी, चाया पोतो हटाउने काम गर्छ । स्रोत भन्छ–‘ बिरामीको ज्यान जोगाउनुभन्दा बढी महत्वपूर्ण चाहिँ सुन्दरता बढाउनु हो त ? कमिसनको लोभमा कम आवश्यक मेसिन खरिद गरे जस्तो देखियो ।’

अस्पतालका छाला रोग विशेषज्ञहरु डा. विजयराज भण्डारी र डा. सञ्जित घिमिरेलाई ‘लेजर मेसिन खरिद गर्न आवश्यक छ’ भनेर सिफारिस गर्न विवस बनाएर सो मेसिन खरिद गरिएको बताइएकोछ ।

अस्पतालमा भएको सिटी स्क्यान मेसिनको स्थिति पनि उस्तै छ । अहिले बजारमा १२८ स्ल्याबका मेसिनहरुबाट सिटी स्क्यान गरिन्छ । प्रहरी अस्पतालमा १० वर्ष पुरानो १६ स्ल्याबको मेसिन छ । मेसिनको स्तर उन्नती भन्दा महत्वपूर्ण कस्मेटिक बनेको छ ।

सेकेन्ड ह्यान्ड पिसिआर मेसिन
कोभिड महामारीको बेला भारतबाट सेकेन्ड ह्यान्ड पिसिआर मेसिन ल्याइयो । प्रहरी अस्पतालमा स्वास्थ्य सामाग्री आपूर्ति गर्ने एजेन्टले सेकेन्ड ह्यान्ड मेसिन दियो तर त्यसलाई नयाँ खरिद गरेको भनेर बील तयार पारियो । अनुदानको सामाग्रीलाई खरिद गरेको बनाइयो

कोभिड महामारीको बेला अनुदानमा आएका समाग्रीहरुलाई पनि खरिद गरेको भनेर बिल तायर पारिएको स्रोतको दावी छ । पिपिई, मास्क, स्यानिटाइजर जस्ता धेरै सामाग्रीहरु अभाव भएको बेला विभिन्न संस्थाहरुले अस्पतालहरुलाई अनुदानमा त्यस्ता सामाग्री दिए । तर तिनको हिसाब नै गोलमाल पारिएको स्रोत दावी गर्छ ।

दोहोरो विवरण राख्ने परिपाटी अन्त्य
नेपाल प्रहरी अस्पतालमा उपचारका लागि जाने प्रहरीहरुका लागि औषधि निःशुल्क दिने गरिन्छ । निःशुल्क औषधि दिएको कागजी प्रमाणको एक प्रति बिरामीलाई र एक प्रति अस्पताल आफैंले राख्ने गर्छ । यस्तो कागजी प्रमाण भएपछि कति औषधि निःशुल्क वितरण गरियो भन्ने हिसाब स्पष्ट देखिन्छ । अहिलेकी प्रमुख डा. सिंहले कागजी प्रमाण अस्पतालले राख्ने चलन हटाएर कम्प्युटरमा राख्ने बनाएकी छिन् । यो नयाँ व्यवस्थाले नदिएको औषधि पनि निःशुल्क दिएको भनेर थपथाप गर्न सजिलो बनाएको छ ।

प्रहरी अस्पतालमा हिजोआज सर्वसाधारणले पनि उपचार सेवा पाउँछन् । त्यसका लागि निश्चित रकम तिर्नु पर्ने हुन्छ । सर्वसाधारणले उपचार गराए बापत कति रकम संकलन भयो ? भन्ने हिसाब पारदर्शी नभएको बताइन्छ ।

प्रहरी अस्पतालमा कारबाहीको आतंक
नेपाल प्रहरी अस्पतालमा कसैका लागि जसो गरे पनि हुने, कसैले सामान्य त्रुटि गर्दा पनि सजाय पाइहाल्ने अवस्थाबाट गुज्रिरहेको छ । टिकट काट्ने फाँटका एक हवल्दार विजय थापाले ५० रुपैयाँको टिकट एक जनालाई निःशुल्क काटिदिए छन् । त्यो अपराधमा उनलाई एउटा सचेत पत्र मात्रै थमाइ दिएको भए पनि पर्याप्त हुन्थ्यो । त्यति भूलको सजाय थापाले नराम्ररी पाएका छन् । उनको ग्रेड रोक्का मात्रै भएन काठमाडौंबाट सिधै दाङ सरुवा गरियो । दाङमा पनि प्राविधिकका लागि कुनै ठाउँ नभएको भन्दै काठमाडौं नै फिर्ता पठाइदियो । अहिले उनी अस्पतालकै प्रशासन शाखामा थन्क्याइएका छन् ।
सन्तोष रेग्मी नामका प्राविधिक असईलाई त अझै अनौठो तरिकाले कारबाही भएको छ । अस्पतालकी प्रमुख आशा सिंहका आफन्त बिरामीको रगत निकाल्दा सुईले अलिकति दुखाएछ । ति बिरामीले सिंह समक्ष ‘रगत निकाल्दा ती असईले दुखाई दिए’ भन्ने गुनासो गरिछन् । त्यसबाट असई रेग्मीको ग्रेड नै रोक्का भयो ।
प्रहरी निरिक्षक नर्स राधा विष्ट सेवा निवृत्त हुँदाको बखत आयोजना गरिएको विदाइ समारोहमा अस्प्तालमा २६ जना तल्लो तहका कर्मचारीहरु उपस्थित हुन सकेनन् । समारोहको प्रमुख अतिथी अस्पताल प्रमुख सिंह नै थिइन् । ‘म प्रमुख अतिथी भएको कार्यक्रममा पनि नआउने को को हुन् ? तिनलाई कारबाही गर्नू’ भन्ने निर्देशन सिंहले दिएपछि ती २६ लाई नै कारबाही गरियो । यस्ता औपचारिक सभा समारोहमा नजाँदा पनि कारबाही हुने सम्भवतः नेपाल प्रहरी अस्पताल मुलुककै पहिलो संस्था हो ।

प्रतिक्रिया दिनुहोस्