Logo

भारतमा बिजुली बेच्न हामीलाई पनि दिइयोस–निजी ऊर्जा उद्यमी



काठमाडौँ – सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणले भारतीय ऊर्जा बजारमा बिजुली बिक्रीका लागि अनुमति पाएपछि त्यसबाट थप लाभ लिन निजी ऊर्जा उद्यमी लालायित देखिएका छन्। उनीहरुले बिजुलीको व्यापारका लागि निजी क्षेत्रलाई पनि अनुमति दिनुपर्ने माग उठाउँदै आएका छन्।

प्राधिकरणले अघिल्लो सातादेखि भारतमा औपचारिक रुपमा बिजुली निर्यात गरिरहेको छ। पहिलो चरणमा ३९ मेगावाटमात्रै निर्यात भए पनि त्यसले सम्भावनाको ढोका खोलेको ऊर्जा उद्यमीहरुको भनाइ छ।

ढोका खुलेको छ, त्यसलाई थप विस्तार गरेर लैजान सरकारले ऊर्जा उद्यमीलाई पनि अवसर र अनुमति दिनुपर्ने उनीहरुको माग छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिजुली बिक्रीका लागि अनुमति माग्दै विभिन्न पाँच कम्पनीले आवेदन दिएका छन्। मन्त्रालयले कानुनी प्रबन्ध भएपछि मात्रै अनुमति दिन सकिने बताएको छ।

नयाँ विद्युत ऐनमा सो विषयलाई सम्बोधन गर्ने प्रयास गरिएको छ। राष्ट्रियसभामा पेश भएको विद्युत विधेयकमा बिजुलीको खरिद–बिक्रीदेखि निर्यातसम्म पनि निजी क्षेत्रलाई समावेश गर्ने विषय उल्लेख छ। कानुनी प्रबन्धको अभावमा निजी क्षेत्रले स्थापना गरेको कम्पनीले अनुमति पाएको छैन। यद्यपि प्रयास भने जारी छ।

सोही सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालसँग विद्युत व्यापारको समग्र पक्षका बारेमा छलफल गरेको छ।

सो अवसरमा मन्त्री भुसालले तथ्यगत आधार प्रस्तुत गरे निजी क्षेत्रलाई पनि अनुमति दिने बताइन्। परम्परागत तवरले भन्दा पनि परिवर्तित यथार्थमा रहेर जलविद्युत क्षेत्रका निर्णय लिइने स्पष्ट पार्दै उनले निजी क्षेत्रले पनि नयाँ ढङ्गले सोच्नुपर्ने समय आएको बताइन्।

मन्त्री भुसालले विद्युत व्यापार गर्न सक्छौँ भन्ने विश्वासिलो आधार प्रस्तुत गरे सरकारले अनुमति दिने स्पष्ट पारिन्। उनले भनिन्, ‘तर्क र बहसमात्र होइन, हामी विद्युत बिक्री गर्न सक्छौँ भन्ने ग्यारेन्टी गरेर आउनुहोस्, धेरै विलम्ब नगरिकन अनुमति दिउँला।’

विद्युत व्यापार संवेदनशील विषय भएको बताउँदै मन्त्री भुसालको भनाइ छ। उनले विद्यमान चुनौतीलाई सामना गर्दै अगाडि बढ्न सके व्यावसायिक रुपमा निजी क्षेत्र र व्यवस्थापकीय पाटोमा पनि सफल हुँदै जाने विश्वास व्यक्त गरिन्। विकास नियमित हुने प्रक्रिया भएको र त्यसभित्रका जटिलतालाई स्वाभाविक रुपमा लिनुपर्ने बताउँदै उनले भनिन्, ‘व्यावसायिक रुपमा निजी क्षेत्र, नीतिगत र राजनीतिक रुपमा मन्त्रालयको नेतृत्व र समग्रमा सबै सफल हुने नीति मन्त्रालयले बनाउँछ।’

सो अवसरमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो नेतृत्व आएपछि विद्युत खपतसहितका अन्य महत्वपूर्ण निर्णय लिएर काम गरिरहेको स्पष्ट पारे। जलविद्युत विकास र व्यापारका विषयमा मन्त्रालय र प्राधिकरण गम्भीर भएर लागेको बताउँदै उनले निजी क्षेत्रको मागका सन्दर्भमा प्राधिकरणले तत्काल स्वीकृत गरी दिए पनि निजी क्षेत्रका पूर्वाधार तयार नभएकाले तत्काल खपत हुने स्थिति नरहेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्