Logo

एमाले छाड्ने लहर चलेको छ – माधव नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर आफ्नो पार्टीका प्रवेश गर्नेहरूको लहर नै चलेको दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको बैठकमा उनले उत्साहवद्र्धक ढंगले एमाले छाडेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरूको सिलासिला नै चलेको बताए।

अध्यक्ष नेपालले डडेलधुरामा हालसालै एमालेको सिंगो जिल्ला कमिटी नै आफ्नो पार्टीमा प्रवेश गरेपछि देशभर त्यसको प्रभाव राम्रो परेको प्रतिक्रियासमेत दिए। उनले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकताबद्ध भएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताए।

अध्यक्ष नेपालले केपी ओली गुटले पार्टीविरुद्ध झुटा प्रचार गरिरहेको भन्दै त्यसविरुद्ध चोटिलो प्रहार गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘नेकपा एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गर्ने सिलसिला चलेको छ। उत्साहवद्र्धक पनि छ। उदाहरणका निम्ति डडेलधुरा जिल्ला, त्यहाँ झण्डैझण्डै सबै जिल्ला कमिटी नै एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ। बेग्लै किसिमको उत्साह पैदा गरेको छ। तरंग पैदा गरेको छ। तर, यति हुँदाहुँदै पनि हाम्रो विपक्षमा केपी गुट पूरै लागिपरेको छ। र उसले अनावश्यक आरोप लगाइरहेको छ। झुटा प्रचार गरिरहेको छ। यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनुपर्नेछ।’

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने बताए। उनले राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनमा सत्तारुढ दलले मिलेर उम्मेदवारी दिने सहमति गरिएको पनि बताए। सत्तारुढ गठबन्धनलाई तोड्न नदिनका लागि आफूहरूले सत्तारुढ दलबीच समन्वय समिति बनाउनुपरेको पनि उनले स्पष्ट पारे।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनबीच बनेको समन्वय समितिले सरकारको काममा कुनै हस्तक्षेप नगर्ने बताए।

उनले भने, ‘यो हाम्रो गठबन्धन चुनावसम्म जानेछ। अहिलेको सन्दर्भमा हामी राष्ट्रियसभाको निर्वाचनमा मिलेर उम्मेदवार खडा गर्छौैैं। दोस्रो कतिपय प्रदेशसभा र प्रतिनिधिसभाको स्थानमा हुने उपनिर्वाचनमा पनि हामी मिलेर जानेछौं। यस काममा हाम्रो पार्टीले सम्पूर्ण तयारी गर्नुपर्छ। कसै–कसैले प्रचार गरेजस्तो सरकारको मामिलामा सत्तारुढ गठबन्धन दलले बनाएको समन्वय समितिले हस्तक्षेप गर्दैन।’

अध्यक्ष नेपालले निर्वाचनको तयारीमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए। उनले तीन वटै तहको निर्वाचनमा एकैपटक गर्ने आफूहरूले सोच बनाए पनि त्यसरी गर्न कानुन, नियमले मिल्ने–नमिल्ने छलफल गरेर अघि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्