Logo

नेविसंघ र तरुण दल अध्यक्षसहित जीवीत तीन पूर्व जिल्ला सभापति मध्ये २ जना बालकृष्णको पक्षमा


नेपाली कांग्रेसको ओखलढुंगाको १४ औं अधिवेशनको मिति नजिकिदै जाँदा उमेदवारहरुले जोडघटाउ सुरु गरेका छन् । केन्द्रीय निर्वाचन समितिले नयाँ कार्यतालिका सार्वजानिक गरेसंगै नेपाली कांग्रेस ओखलढुंगाको अधिवेशनको सरगगर्मी बढेको छ । योसंग नेपाली कांग्रेसको जिल्ला सभापतिमा उमेदवारी घोषणा गरेका बालकृष्ण दाहाल पक्षले प्रचार प्रसारलाई तिव्र बनाएको छ । नेपाली कांग्रेस ओखलढुंगाका तीन जना जीवीत पूर्व सभापतिहरु मध्ये दुई जना बालकृष्ण दाहालको पक्षमा खुलेका छन् ।

पूर्वसभापति महेश कोमोर्चा लामो समय सभापतिको जिम्मेवारी सम्हालेका पूर्वसभापति हुन् । उनी अहिले दाहाल समुहबाट संघीय महाधिवेशन प्रतिनिधिको उमेदवार भएका छन् । कोर्मोचा नेपाली कांग्रेसको साख जोगाउनका लागि कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनका लागि बालकृष्ण दाहालको विकल्प नभएको भन्दै प्रचार अभियानमा जुटेका छन् । कोमोर्चा ओखलढुंगा काण्डका जिउदा शहिद समेत हुन् । जिल्ला विकास समितिको सभापति भइसकेका कोमोर्चा कांग्रेसको संगठनमा सवैभन्दा बढि पहुँच राख्ने नेतामा पर्दछन् ।

बालकृष्ण दाहालको पक्षमा खुलेकी पूर्व सभापति गोमा केसी नेपाल महिला संघ ओखलढुंगाको पूर्वसभापति समेत भइसकेकाले उनी पनि संगठनमा राम्रो पहुँच भएकी नेतृमा पर्ने गर्दछिन् । केसी नेपाली कांग्रेस विभाजनका बेलामा शेरबहादुर देउवाले नेतृत्व गरेको तत्कालिन प्रजातान्त्रीक कांग्रेसको समेत सभापति भइसकेकोले अहिले सभापति शेरबहादुर देउवा गुटको लिगेसी समेत केसीसंग रहेकाले संगठनमा केसीको राम्रो पहुँच रहेको छ । जुझारु र कर्मठ महिला नेतृका रुपमा परिचय बनाएकी केसीसंग महिला र युवाहरुको ठूलो जमात रहेको छ । ओखलढुंगा कांग्रेसका जीवीत मध्येका अर्का पूर्वसभापति चन्द्रकान्त दाहाल भने कुनै टिममा नभई तटस्थ छन् ।

त्यस्तै नेपाल तरुण दलका अध्यक्ष प्रविण हाङ राई भरखरै मात्र अर्को समुह छाडेर बालकृष्ण दाहालको समुहमा समावेश भएका छन् । नेपाल तरुण दलका अध्यक्ष सभापति प्रदीप सुनुवार निकट मानिन्थे तर अहिले उनी प्रदीप सुनुवारको समुहलाई छोडेर बालकृष्ण दाहाललाई सभापति बनाउने अभियान अन्तरगत सोही समुहबाट संघीय महाधिवेशन प्रतिनिधिका उमेदवार बनेका छन् । नेपाल विद्यार्थी संघका अध्यक्ष गोविन्द कोइराला सुरुदेखि नै बालकृष्ण दाहालको समुहमा छन् । उनी पनि दाहालको समुहबाट प्रदेश क तर्फको प्रदेश अधिवेशन प्रतिनिधिको उमेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्