Logo

किन ओखलढुंगामा बालकृष्ण दाहालको बिकल्प बालकृष्ण दाहाल हो ?



अनिश कट्वाल
नेपाली कांग्रेस ओखलढुंगा अहिले आफ्नो १४ औं जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । वडा र पालिका तहको अधिवशेन सम्पन्न भइसकेको छ । प्रदेश निर्वाचन क्षेत्र र जिल्ला नेतृत्व चयनका लागि क्षेत्रिय प्रतिनिधिहरु तयारीका साथ जुटेका छन् । नेताहरु पनि आ–आफ्नो पक्षमा लविङमा लागेका छन् ।

ओखलढुंगाको दुईवटा अधिवेशनमा लगातार एउटै पक्षमा नेतृत्व हात पार्दै आएको छ । दुईवटा अधिवेशन भनेको एक दशक हो । एक दशकको यो अवधिमा अहिले नेतृत्वमा भएकाहरुले कांग्रेसको संगठन र कांग्रेसलाई कुन अवस्थामा पु¥याए, यो प्रश्न आम कार्यकर्ताहरुले गर्ने बेला भएको छ । अबपनि यो प्रश्न ओखलढुंगा कांग्रेसको नेतृत्वमा रहेकाहरुलाई आम कार्यकर्ताहरुले गर्न सकिएन भने ढिला हुनेछ ।

हिजो बलबहादुर राई, गोपाल राई, बालाराज कार्कीहरुले अहिलेको नेतृत्वलाई सुम्पेको कांग्रेसको संगठन अहिलेको नेतृत्वले भावि पुस्तालाई सुम्पिने कि नसुम्पिने भन्ने प्रश्न आम कार्यकर्ताले नेतृत्वलाई गर्नुपर्छ । र आम ओखलढुंगाका कांग्रेस कार्यकर्ता नेतृत्वलाई यो प्रश्न नगर्ने र ओखलढुंगा कांग्रेस अहिलेको शुन्य अवस्थामा कसरी पुग्यो भन्ने मनन नगर्ने हो भने ओखलढुंगा कांग्रेस त केहि स्वार्थी समुहले कब्जा गर्लान तर अबको आम चुनाव, प्रदेश चुनाव र स्थानीय चुनावमा अहिलेको भन्दा हालत कमजोर हुनेछ ।

अब, पनि हिजो कांग्रेस कमजोर बनाउने समुहलाई ओखलढुंगा कांग्रेसका कार्यकर्ताले संगठनको ताला चावी सुम्पने हो भने कस्तो कांग्रेस बन्छ एक पटक मनन गर्नुपर्ने अवस्था आएको छ । आज ओखलढुंगा कांग्रेसमा क कसको हालिमुहाली छ । कांग्रेसमा जीवन लगानी गरेका दुख पाएका कार्यकर्ताहरुको हालत के छ र यो अवस्थामा पु¥याउने नेतृत्व को हो भन्नेमा ओखलढुंगाका कांग्रेस नेता कार्यकर्ता तयार हुनुपर्छ ।
जिल्ला सभापतिका लागि नेता बालकृष्ण दाहाल र जिल्ला उपसभापति तेजेन्द्र खनालले तयारी थालेका छन् । सभापतिमा नेता बालकृष्ण दाहालको उम्मेदवारी घोषणाले तरंग सृजना भएको छ । दाहालले नेपाली कांग्रेस ओखलढुंगाको संगठनलाई संस्थागत रुपमा संचालन गर्ने, आर्थिक पारदर्शीता कायम गर्ने, कांग्रेसको गौरबमय इतिहाँसलाई जोगाउने तथा संगठनमा देखिएका विकृतीलाई हटाउने नारासहित उमेदवारी घोषणा गरेका छन् । दाहालको उमेदवारी घोषणाले इमान्दार र पार्टीको नेतृत्वबाट अन्यायमा परेका आम नेता कार्यकर्ताहरुमा उत्साह जागेको छ । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका दाहालले अनुशासित र जुझारु नेपाली कांग्रेस निर्माणका लागि सभापतिमा उमेदवारी दिने घोषणा गरेका हुन् ।

आम कार्यकर्तामा घुलमिल गर्ने सक्ने क्षामता भएका दाहाल जिल्लावासीका हरेक समस्यामा सहभागि हुने, जिल्लाको समग्र विकासमा दाहालको उल्लेख्य भूमिका रहेको छ । त्यती मात्र होइन बालकृष्ण दाहाल प्रतिनिधिसभामा दुई पटक पराजित भए । जिल्ला सभापतिमा एक पटक पराजित भए । तर दाहालले जिल्लाको विकास र कांग्रेसको राजनीतिमा आफ्नो उपस्थितिमा कुनै कमी हुन दिएका छैनन् । धेरै नेता कार्यकर्ताहरु यति लामो समयसम्म प्राप्ति विना राजनीतिमा टिकेको पाइदैन् । तर बालकृष्ण दाहाल ओखलढुंगा प्रतिको लगावमा कुनै कमी हुन दिएका छैनन् । दाहालले प्रतिनिधिसभाको उमेदवार बन्ने मौका पाए । प्रतिनिधिसभा सदस्य भएर ओखलढुंगावासीको सेवा गर्ने अवसर पाएनन् । जिल्ला सभापतिको उमेदवार बने तर जिल्लाको कांग्रेस सुधार गर्ने मौका पाएका छैनन् ।

त्यसैले ओखलढुंगा कांग्रेसलाई अब सुधार गर्ने हो भने यो अधिवेशनमा बालकृष्ण दाहालको विकल्प पनि बालकृष्ण दाहाल नै हुनुपर्छ, र कार्यकर्ताहरुले बनाउनुपर्छ । बालकृष्ण दाहाल सभापति बन्दा अग्रज नेतृत्वको सम्मान हुनेछ, युवा तरुणहरुको आशा जाग्नेछ, निष्ठा र इमान्दारीताको राजनीति जोगिनेछ । राजनीतिलाई ठेक्का पट्टा गर्ने माध्याम बन्दैन् । होला, बालकृष्ण दाहालले कांग्रेस कार्यकर्ताहरुलाई पैसा दिन सक्दैनन् होला, होला उनको व्यवस्थापन गर्ने क्षामता कमी होला तर कांग्रेसको नाम बेचेर दाम पनि कमाउदैनन् नि । त्यसैले यो पटक बालकृष्ण दाहालको विकल्प बालकृष्ण दाहाल हो ।

प्रतिक्रिया दिनुहोस्