Logo

चन्द्रागिरिः घाम र कुहिरासँग लुकामारी।



चन्द्रागिरि, ९ असोज रासस फुस्फुस उड्डै आउने कुहिरोको शीतल स्पर्श । फेरि छिनमै पारिलो घामको न्यानोपन । बादलसँगै कुहिरोको शीत र घामको किरणको लुकामारी चल्छ । यही स्वर्णीम मौसमका कारण काठमाडौँका शिर झैँ उभिएको अग्लो चन्द्रागिरिको चुचुरो अचेल बादलभित्रको स्वर्ग झैँ रमणीय बनेको छ । यति बेला चन्द्रागिरि पुग्ने पर्यटक त्यसैमा रमाएर फुरुङ्ग छन् ।

आगन्तुक हरियो डाँडामा कुहिरो र घामकोे अलौकिक दृष्यलाई पृष्ठभूमि पारेर हतारहतार क्यामेरामा कैद गर्न मरिहत्ते गर्छन् । बढ्दै गएको चिसोकैमाँझ जाडो याममा भने यहाँ हिउँ खस्छ । हिउँसँग खेल्ने प्रतिक्षामा धेरै छन् । मनसुन घर्किंदै गएको बखत, बिहीबार घरी आकास खुल्ने त घरी डम्म बादलले भरिनेक्रम दिनभरजसो नै जारी रह्यो । बेलाबेलामा प्राप्त हुने तापिलो सूर्यको किरणले आगन्तुकलाई शरद् ऋतुले स्वागत गरेएको झैँ मौसमको अनुकूलता अनुभूत गरायोे । सिङ्गो काठमाडौँ उपत्यकालाई चन्द्रागिरिको टुप्पोबाट नियाल्न पाउँदा आगन्तुक दङ्ग पर्छन् । “खाल्डोभरिका घर त सानासाना बट्टा जस्ता ओइ हेर न”, एक युवती सङ्गीसँग भन्दै छ ।

पश्चिम नेपालबाट घुम्न आउनुभएकी ८७ वर्षीया आमा भद्रकला र श्रीमती नन्दासँगै ६६ वर्षका प्रमा थानीले त्यही मौसमको मजा लिए । चन्द्रागिरि यात्रा भद्रकलाका लागि पहिलो हो । उनले जीवनकै नौलो क्षण बटुल्नुभयो । आउँदा वनको माथिमाथि मन्द गतिको केबलकार यात्राले उहाँलाई थप पुलकित बनायो । केबलकारबाट तल हरिया थुङ्गा झैँ रुख देखिए । सयौँ थरीका बोटबिरुवाको रौनक अर्कै थियो । केबलकार वनको केही नजिक पुग्दा लता लहरामा फुलेका वनफूलको सौन्दर्यले मन उसै लोभ्याउँथ्यो । “यो बुढेसकालमा नयाँ ठाउँ घुम्न पाउँदा कति रमाइलो कति, पुरानो महत्व बोकेको ठाउँ पनि हो, एकपटक हेरौँ भनेर आएको”, भद्राकुमारीले पहिलो अनुभव रासससँग सुनाए ।

माथि पुगेपछि ठाउँठाउँ सामूहिक अनि ठाउँठाउँ एक्लाएक्लै तस्वीर लिने आन्तरिक पर्यटक बाक्लै थिए । फाट्टफुट्ट विदेशीसमेत मिसिन्थे । पृथ्वीनारायाण शाहको शालिक नजिक पुगेर औँलो उठाएको भान पार्दै पालैपालो तस्वीर कैद गर्न कसैले छुटाएनन् । यहाँ रहेको भालेश्वर मन्दिरसँगै मानव निर्मित आकर्षक संरचनामा रमाउन पाउँदा पर्यटक खुसी देखिन्थे । पर्यटक समूहगतरुपमै धेरै थिए । त्यसबीच काठमाडौँ बस्ने कल्पना शर्मा पनि साथीभाइसँग सेल्फीमा रमाउनुभयो । ठाउँठाउँमा प्रेमिल जोडी फरकफरक दृष्यमा रमाइरहेका भेटिए । समूहमा आएका एकै स्थानमा बसेर टिकटक बनाउँदै गीतमा नाँच्ने गाउने गरिरहेका भेटिए । त्यतिमात्र हैन विद्यालय खुल्ने वा बन्द हुने अन्यौलका बीच रमाइलो गर्न पुगेका बालबालिका पार्कमा खेलकुदको मजा लिन भ्याए ।

लामो समयदेखि बन्द रहेर गत भदौ १९ बाट यहाँको केबलकार सञ्चालनमा आएपछि झनै चहलपहल थपिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण उक्त केबलकार गएको वैशाख १६ गतेदेखि बन्द थियो । चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेखविक्रम शाहले स्वास्थ्यका मापदण्ड पालना गरेर केबलकार सञ्चालन गरिएको र अहिले विस्तारै विभिन्न जिल्लाबाट मानिस घुम्न आउन थालेको जानकारी दिए । यहाँ अहिले जीपलाइन र रिसोर्टसमेत सञ्चालनमा छ । दैनिक एक हजार पर्यटक पुग्न थालेका छन् । बिदाको दिनमा बढी पुग्छन् । चन्द्रागिरिको फेदबाट अलिक उकालिएपछि केबलकारको व्यवस्थापन क्षेत्र सुरु हुन्छ ।

यहाँ पुग्ने पर्यटक छोटो समय जीप लाइनको मजा लिन पनि हौसिन्छन् । उनीहरु आकर्षक संरचनालाई पृृष्ठभूमि पारेर सेल्फी लिन्छन् । चन्दागिरिबाट देखिने काठमाडौँ उपत्यकाको मनोरम दृष्यले जो कसैलाई लोभ्याउने गरेको उहाँ सुनाउछ । सहरको भिडभाड र सवारी साधनको हो–हल्लाबाट पर प्रकृतिको काखमा रहेको चन्द्रागिरि पर्यटकका लागि आजकाल मन बिसाउने चौतारी बनेको छ । यहाँ पुगेपछि व्यस्त सडकको धुवाँ धुलोबाट केही समय राहत मिल्छ ।

काठमाडौँ जिल्लाको दक्षिण पश्चिममा पर्छ चन्द्रागिरि । छोटो समयमा मजा लिएर फर्कनसक्ने क्षेत्र हो । त्यसमाथि केबलकारले थप सहज र छिटो बनाइदिएको छ । चन्द्रागिरि सधैँ व्यस्त रहेने उपत्यकावासीको थकान भुल्याउने मुख्य थलोका रुपमा पछिल्लो समय उदाउँदो छ ।

त्यसो त उपत्यका आसापासका धेरैजसो पहाड र पर्यटकीय क्षेत्रमा यसैगरी पर्यटक जाने गरेका छन् । चन्द्रागिरि मात्रै होइन कोभिड–१९ सङ्क्रमणका कारण प्रभावित पर्यटन क्षेत्रमा विस्तारै चहलपहल बढ्न थालेको छ । आन्तरिक पर्यटक घुम्नेक्रम बढेको तत्क्षेत्रका पर्यटन व्यवसायीले बताएका छन् । फूलचोकी, काठमाडौँ, भक्तपुर र ललितपुरका दरबार स्वायर, सुन्दरीजल, स्वयम्भु, बौद्ध, बूढानीलकण्ठ, शिवपुरी, चोभार, नगरकोटलगायत क्षेत्रमा विस्तारै चहलपहल बढेको छ ।

चन्द्रागिरि प्राकृतिक सुन्दरतासँगै धार्मिक तथा ऐतिहासिक महत्वसमेत जोडिएको छ । राष्ट्र निर्माता श्री ५ बडामहाराजा पृथ्वीनारायण शाहले ससुराली मकवानपुरबाट फर्किंदा यहाँबाट खाल्डोलाई नियाल्नुभएको इतिहास छ । गोर्खा राज्यलाई एकीकृत गर्ने पहिलो योजना उनले यहीँ बसेर बनाएको भन्ने विभिन्न ऐतिहासिक दस्तावेजमा उल्लेख छ
रासस।

प्रतिक्रिया दिनुहोस्