Logo

काङ्ग्रेस बाजुरा सभापतिमा त्रिपक्षीय भिडन्त


बाजुरा । नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति कविराज पण्डितले एक पटक पुनः पार्टी सभापतिमा आफ्नो उम्मेदवारी रहेको बताएका छन् । आगामी सातौँ जिल्ला अधिवेशनमा जिल्लाको नेतृत्वका आकाङ्क्षी बढिरहेको बेला पार्टी सभापति पण्डितले शनिबार दिउँसो सदरमुकाम मार्तडीमा पत्रकार भेटघाट कार्यक्रममा सभापति पण्डितले उम्मेदवारी दिने अभिव्यक्ति सार्वजनिक गरेका हुन् । बाजुरामा हालका अन्य प्रतिस्पर्धीभन्दा पुराना र अग्रज मानिएका पण्डित जिल्ला पार्टीमा पुनः दोहोरिनेमा सभापतिका प्रवल दाबेदार मानिन्छन् ।

शेरबहादुर देउवा निकट मानिने पण्डितले २०४३ सालदेखि विद्यार्थी सङ्घको राजनीतिबाट राजनीति यात्रा तय गरेका हुन् । बाजुराको पहिलो अधिवक्तासमेत रहेका पण्डितले २०४८ सालदेखि नै बाजुराका राजनीति मुद्दा अधिवक्ता हेर्दै आएका छन् । उनीमात्र होइनन् बाजुरा जिल्लामा काङ्ग्रेस नेतृत्वका लागि रामसिंह रावल पनि आकाङ्क्षी छन् । पार्टीका वरिष्ठ नेतासमेत रहेका रावल २०४६ साल शिक्षण पेशा त्यागेर नेपाली काङ्ग्रेसको राजनीतिमा प्रवेश गरेका हुन् । विसं २०४९ मा कैलाशमाडौँ गाविस अध्यक्ष, २०५४ मा गाविस उपाध्यक्षबाट जिविस सदस्यमा निर्वाचित २०७४ को स्थानीय निवार्चनमा त्रिवेणी नगरपालिकाको नगरप्रमुखमा विजयी भएका हुन् । उनी रामचन्द्र पौडेल समूहको नेताका रूपमा चिनिन्छन् ।

यस्तै, २०४६ सालदेखि नेपाली काङ्ग्रेसमा रही २०५४को स्थानीय निर्वाचनमा निर्विरोध वडाध्यक्ष, २०५७ सालमा तरुणदल सदस्य, २०६०र०६१ मा जिल्ला दलित नेटवर्क अध्यक्ष , २०६२/०६३ मा नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सदस्य र २०६४ सालमा समानुपातिक सभासद , दलितसङ्घ केन्द्रीय सदस्य महा नेपाली पनि जिल्ला हाँक्न सक्ने बलियो नेताका रूपमा आफूलाई उभ्याएका छन् । पार्टी सचिव एवम् बूढीगङ्गा नगरपालिकाका नगरप्रमुख दीपकविक्रम शाहले पनि सामाजिक सञ्जाल मार्फत आफ्नो उमेद्धवारी घोषणा गरेका छन् । यसैगरी, विद्यार्थी राजनीतिदेखि राजनीति यात्रा तय गरेका नेविसङ्घ पूर्वपार्टी सचिव धनराज पण्डित पनि पार्टी सभापतिको बलियो उम्मेदवार भएको नेविसङ्घ अध्यक्ष जनकबहादुर थापा बताउँछन् । युवाहरू धनराज पण्डितको पक्षमा रहेको दावी नेविसङ्घ अध्यक्ष जनक थापालगायतका युवाको छ ।

उता एकमात्र प्रतिनिधिसभा क्षेत्र रहेको बाजुरामा क्षेत्रीय सभापतिको उम्मेदवारमा भने अहिलेसम्म कसैले सार्वजनिक गरिसकेका छैनन् । यद्यपि, प्रदेश “क”मा रामबहादुर बोहरा र नारायण उपाध्याय चर्चामा छन् । प्रदेश “ख” मा देवबहादुर रोकाया र सुरेन्द्र सिंहको नाम चर्चा हुन थालेको छ । यता, काङ्ग्रेस महासमिति सदस्य एवम् नेपाली काङ्ग्रेसका अग्रज नेता जनकराज गिरी भने आपसी छलफल नगरी नेतृत्वका लागि उम्मेदवारी दिनुको तुक नभएको बताउँछन् । यस्तै, नेपाली काङ्ग्रेस महासमिति सदस्य काङ्ग्रेस नेता संविधान सभासदस्य एवम् पूर्व–सांसद देवराज जोशी पनि नेतृत्वको लागि आ–आफुले उम्मेदवारी दिएपनि आपसी सहमति र छलफलका आधारमा साझा धारणा आउने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्