Logo

डडेल्धुरामा देउवा समूह ‘स्वीप’ हुने देखिएपछि ११ सय क्रियाशील थपिए, प्रहरी घेरामा जबर्जस्ती अधिवेशन हुँदै

अधिवेशनमा सभापतिको हस्तक्षेप सहन नसकेर निर्वाचन संयोजकको राजीनामा


काठमाडौं । पार्टीको जिल्ला समितिलाई ‘बाइपास’ गरेर ११ सय क्रियाशील सदस्य थप्दै कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार डडेल्धुरामा अधिवेशन गराउँदैछन् ।

सभापति देउवाले जिल्लामा वडा अधिवेशन गराउन लोकेन्द्र बमलाई निर्वाचन अधिकृत बनाएर तीन दिन अघि डडेल्धुरा पठाएका थिए । बमले जिल्ला समितिसँग बिना कुनै समन्वय दीपायलको एक होटलमा बसेर अधिवेशन योजना तयार पारेका छन् ।

डडेल्धुराको सवालमा विमलेन्द्र निधिले विज्ञप्ति नै निकालेर क्रियाशील सदस्यताको विवाद निरुपण नभएसम्म अधिवेशन गर्न नमिल्ने धारणा राखेका थिए । शेखर कोइरालाले समेत सामाजिक सञ्जालमार्फत यस्तै धारणा राखेका थिए । तर अप्रत्याशित रुपमा जिल्ला समितिको सिफारिसमै नपरेका ११ सय व्यक्तिलाई सभापति देउवाले क्रियाशील सदस्य बनाएर पठाए ।

जिल्ला पार्टी सभापति कर्ण मल्ल समूहले देउवाको यो कदममा असहमति जनाएको छ । समूहको तर्क छ — क्रियाशील सदस्यलाई जिल्ला समितिले नै चिनेको अवस्था छैन । उनीहरुलाई सोझै केन्द्रले कसरी चिन्छ ? के आधारमा क्रियाशील सदस्य बनाइए ?

थपिएका तिनै ११ सय क्रियाशील सदस्यको भरमा केन्द्रबाट खटिएका लोकेन्द्र बमले वडावडामा निर्वाचन अधिकृत तोकेर शुक्रबार अधिवेशन गराउन लागेपछि डडेल्धुरा कांग्रेसमा भाँडभैलोको स्थिति सिर्जना भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै गृहजिल्लाको राजनीति आफ्ना पक्षमा पार्न सकेका थिएनन् । आफ्नो विपक्षी समूहका कर्ण मल्ल जिल्ला सभापति भएपछि जिल्लामा आफ्नो प्रभाव कायम राख्न पदीय अधिकार दुरुपयोग गर्दै ११ सय क्रियाशील थपेर अस्तित्व जोगाउने प्रयास गरेको आरोप लागिरहेको छ ।

जिल्ला सभापति मल्लले तीन दिन अघि क्रियाशील विवादकै कारण वडा अधिवेशन स्थगित भएको सूचना जारी गरेका थिए । तर अप्रत्याशित रुपमा पार्टी सभापतिले निर्वाचन अधिकृत पठाएका थिए । केन्द्रबाट खटिएका लोकेन्द्र बमले बिहीबार निर्वाचन अधिकृत तोकेर शुक्रबार वडा अधिवेशनको गराउँदैछन् ।

केन्द्रका निर्वाचन संयोजकले दिए राजीनामा

यसैबीच १४ औं महाधिवेशनका लागि केन्द्रीय संयोजक तोकिएका महादेव यादवले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापतिको हस्तक्षेपकारी र मनोमानी शैलीका कारण निष्पक्ष महाधिवेशन गराउन सम्भव नदेखिएपछि कलंकको दाग भिर्नु भन्दा राजीनामा दिनु ठिक मानेर संयोजक यादवले राजीनामा दिएको बुझिएको छ ।

११ सय क्रियाशील सदस्य थपेर जिल्लाको नेतृत्व भिम साउदलाई सुम्पिने योजनामा सभापति देउवा रहेको बताइन्छ । देउवा पक्षका साउद निर्माण व्यवसायी पनि हुन् । आर्थिक स्रोत परिचालन गर्ने, पैशाकै खोलो बगाएर पनि जिल्लाको नेतृत्व लिने योजनामा साउद रहको बताइन्छ ।

एकातिर जिल्लामा कर्ण मल्लको दबदबा, अर्कोतिर भिम साउदको पैशा, पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय सत्ताको प्रभावका कारण जिल्लामा झडपको स्थिति बनेको छ । बिहीबार पनि सभापति देउवा र जिल्ला सभापति कर्ण मल्लका कायकर्ताबीच झडप भएको थियो । त्यही झडपलाई ध्यानमा राखेर डोटीबाट हिजै ६ सय प्रहरी डडेल्धुरा पठाइएको छ ।

प्रहरी घेरामै राखेर भए पनि वडा अधिवेशन आफ्नो पक्षमा पार्ने रणनीतिमा पार्टीको केन्द्रीय नेतृत्व नै लागि परेको छ ।

प्रतिक्रिया दिनुहोस्