Logo

तीज पर्वको परम्परागत महत्व र वर्तमान यथार्थ


निशा ठकुरी
हरितालिका तीज तमाम हिन्दू महिलाहरुको महान पर्व हो । तीज पर्व परापूर्व कालदेखि चलिआएको पूर्वी संस्कृति र धर्मको धरोहर मानिन्छ । यस पर्वको महत्वको बारेमा श्री स्वस्थानी व्रतकथाको प्रसंगलाई लिइएको धर्मशास्त्रमा उल्लेख छ । श्री स्वस्थानी व्रतकथाको प्रसंगलाई हेर्ने हो भने हिमालय पर्वत पुत्र भगवान् शिवलाई पार्वतीले पतिको रुपमा पाउन गरेको व्रत, तपस्या र ध्यान नै तीज हो भनेर उल्लेख गरिएको छ ।

हरितालिका शब्दको व्याख्या खोज्दा पार्वतीले साथीसंगीलाई आफ्नो व्रतको महत्व बारेमा उल्लेख गरेपछि हरित गरेर एकान्त स्थानमा लुकाएपछि यो शब्द प्रचलनमा आएको धर्मशास्त्रमा उल्लेख छ । हिमालयले भगवान विष्णुसँग पार्वतीको विवाह गर्न चाहेपछि साथीहरुले पार्वतीलाई हरेर गोप्य ठाउँमा लुकाएका थिए । तर, पार्वतीलाई भने भगवान् शिवबाहेक अन्य पुरुषसँग विवाह गर्न मान्य थिएन ।

शिवजीलाई पाउन पार्वतीले कठोर व्रत, ध्यान, तपस्या गरेर बसेकी थिइन् । कठोर ध्यान, वर्त र तपस्यादेखि शिवजी खुसी भएर पार्वतीसँग विवाह गरेको प्रसंग श्री स्वस्थानी ब्रत कथामा उल्लेख छ । तपस्या, व्रत र ध्यान गरेर एकचित्त भएमा सोचेको कुरा पूरा हुन्छ भन्ने जनविश्वास अहिले पनि रहिआएको छ । उक्त जनविश्वास नै तीजको मु्ख्य सन्देश हो ।

पार्वतीको देखासिखी गरेर उनका साथीसंगीहरुले पनि त्यसरी नै व्रत बसे र आफूलाई मन परेको व्यक्ति पति पाएको कथामा उल्लेख छ । त्यसपछि तीजमा व्रत बस्ने र आफूलाई मन परेको व्यक्लिाई पतिको रुपमा पाउँ भनी प्रार्थना गर्ने परम्परा चल्दै आएको हो । तीजको अवसरमा हिन्दू महिलाहरुले पानीसमेत नखाई व्रत बस्ने र पूजा आरधना गर्ने गर्दछन् ।

विवाहिताले आफ्ना पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिका लागि कामना गर्दै व्रत बस्छन् । शिवजीको पूजा, आरधना,ध्यान र नाच गान गर्ने गर्दछन् । अविवाहित महिलाले पार्वतीले जस्तै योग्य वरको कामना गरी त्यसरी नै कठोर व्रत बस्ने गर्दछन् । तीजमा हिन्दू महिलाहरुले शताब्दीयौँदेखि यस्तै खाले कठोर ब्रत बस्दै आएका छन् । तीजमा दिनभर निराहार बस्ने र साँझ शिवजीको पूजा गरेपछि फलआहार गर्ने चलन छ ।

फलआहार अर्थात् फलफूल, चोखो परिकार वा सात्विक भोजन गर्ने आम चलन छ । व्रतालु महिलाले तीजको भोलिपल्ट मात्र अन्य खाद्य पदार्थ खाने चलन छ । यसरी तीजको दिन कठोर व्रत बस्नुपर्ने भएकाले अघिल्लो दिन महिलाहरुले दर खाने पनि परम्परा बस्दै आएको हो । राति उठेर दर खाँदा तीजको दिनभरि भोकै बस्दा पनि महिलाहरु सामान्य कामकाज गर्न सक्षम हुन्छन् । मन्दिर जाने शिवजीको आरधना गर्न र तीजका गीत गाएर नाच्न सक्छन्।

तीजका गीतको पनि आफ्नै मौलिकता र महत्व छ । भगवान् शिवजीको भक्ति गाथा गाउँदा–गाउँदै केही महिलाले आफ्ना जीवनमा आइपरेका दुःख पोख्ने पनि गर्न थालेका छन् । छुट्टै लय, भाका र शब्दहरुले भरिएकाले तीजका गीतमा आफ्नै मौलिकता देखिन्छ । आजभोलि तीजका गीतमा टिपिकल मौलिक भाकाका हराउँदै गएको पाइन्छ । पुराना पुस्ताका महिलाहरुले भने ती मौलिक भाका, लय र शब्दलाई पूर्ण रुपमा बिर्सेका छैनन् । तर, पहिलाको जस्तो खाँटी तीज गीतका भाका सुन्न पाइँदैन ।

पुस्तान्तरणसँगै टिपिकल शब्दले सिंगारिएका लय र भाका लोप हुँदै गएका छन् । अहिलेका नयाँ पुस्ताले चाड, पर्व र परम्परालाई चटक्कै बिर्सेर पश्चिमा संस्कृतिलाई प्रसय दिन उन्मुख छन् । धर्म, संस्कार, संस्कृति, परम्परा र पहिचानसँग जोडिएका हिन्दू चाड, पर्वलाई बङ्ग्याएर उछृंखलतातिर उन्मुख गराइँदै छ । धर्म, संस्कार, संस्कृति र पहिचानलाई व्यापार र फेसनको रुपमा धज्जी उडाउने काम भइरहेको छ ।

यसप्रति सम्बन्धित निकायको चिन्ता र चासो भएको देखिँदैन । वास्तवमा तीजमा गाइने परम्परागत गीतका खाँटी लय, शब्द र भाकालाईसंरक्षण गर्ने दायित्व राज्यको हो । त्यसप्रति राज्य पूर्ण रुपमा चुकिरहेको छ । अझै पनि देशका कुना काप्चामा लोपोन्मुख तीजका खाँटी, लय, शब्द र भाका बाँकी छन् । त्यसको संरक्षण कसले गर्ने ? धर्म, संस्कार, संस्कृति, परम्परालाई बौद्घिक सम्पत्तिको रुपमा लिन सकिन्छ ।

ती बौद्धिक सम्पत्तिको संरक्षण कसले कसरी कहिले गर्ला चासोको विषय बन्न थालेको छ । यी प्रश्न अनुत्तरित छन् । तीजको व्रतको मौलिक स्वरुप आजभोलि पूर्ण रुपमा फेरिएको छ । पवित्र पर्वमा भगवानको नाममा व्रत बस्ने भन्दा अरुको देखासिकी गर्ने चलन बढिराखेको छ । अरु बसेकाले व्रत बसेकी हुँ, लोकाचार पूरा गर्नैप¥यो भन्ने महिला पनि समाजमा प्रशस्त छन् । त्यस्तै कतिपय महिलालाई परिवार र समाजले के भन्ला भन्ने डर छ ।

त्यो जवर्जस्ती गरिएको ढाेंगी खालको व्रत हो । त्यस्तै स्वास्थ्य कमजोर हुँदा र विभिन्न रोगले सताउँदा पनि केही महिलाले सकी नसकी व्रत बस्छन् । यस्ता महिलाहरु तीजका बेला बिरामी पर्छन् । आफ्ना श्रीमान् वा परिवारका सदस्यलाई अनावश्यक तनाव थप्ने महिलाहरु समाजमा प्रशस्तै छन् ।

तीज पर्वको नाममा आएको अर्को विकृति गहना र कपडाको प्रदर्शन वा तडक भडक हो । तीज पर्व महँगा र थरीथरी डिजाइनका गहना देखाएर समाजमा आफ्नो बडप्पन प्रदर्शन गर्ने र धाक लगाउने अवसर बन्दै गएको छ । यस्ता महँगा गहना र लत्ताकपडा कुन आयस्रोतबाट किनिएको हो भन्ने कुराको कतै कसैलाई जवाफ दिनु पर्दैन । समाजमा भ्रष्टाचार बढाउने एउटा कारक तत्व गहना र फेसनको अस्वस्थ प्रतिस्पर्धा पनि हो ।

एउटा समारोहमा लगाएका लुगा र गहना अर्को समारोहमा जाँदा लगाउन हुँदैन भन्ने मान्यताले क्रमशः ठाउँ लिँदैछ । आयस्रोत राम्रो नहुनेले यस्ता गहना र फेसनको कसरी अनुसरण गर्दछन् ? यो अर्को विकृति हो । दर खाने प्रसंगमा पनि आजभोलि विकृति, विसंगतिले राम्रो डेरा जमाएको छ । तीज आउनु महिना दिन अघिदेखि टोल–टोलमा समूह बनाई दर खाने÷नाच्ने गरिएको गरिएको पाइन्छ ।

कतिपय विपन्न वर्गका महिलाले दर खान÷खुवाउन समेत नपाएर हीनताबोध गर्नुपर्नै अवस्था सिर्जना भएको छ । दरमा पनि अनेक खालका महँगा परिकार प्रयोगमा ल्याइन थालिएको छ । चौरासी व्यञ्जन जुटाएर दर खाने नाच्ने आम चलन भइसकेको छ । कतिपय महिलाहरुले त दरमा मासु मदिरा आदि पनि पनिसमावेश गर्न थालेका छन् । यो अर्को विकृतिको रुपमा विकास भएको फेसन हो । यसलाई सामाजिक रुपले रुचाइएको पाइँदैन।

तर पनि समाजमा यसले व्यापक जरा गाडिसकेको छ । तीजको अघिल्लो दिन आफ्ना चेलीबेटी बोलाएर घरपरिवारमा खाइने दरो भोजन अर्थात ‘दर’ लाई पार्टी प्यालेसमा पु¥याइएको छ । दर खाने नाममा मदिरा सेवन गरेर घरमा श्रीमान्लाई घरको काममा कजाउने महिलाको संख्या ह्वात्तै बढेको छ ।

यसरी तीज मनाउँदा भनिने गरेको श्रीमान्को आयु र श्रीवृद्धिमा सहयोग हुन्छ त ? एक महिनाअघिदेखि घर–घर, होटल, पार्टी प्यालेस वा सरकारी अड्डामा दर खाने चलन संस्कृतिको रुपमा विकास भइसकेको छ । यस्तै होडवाजीले चाडपर्वलाई विकृत र विसंगतिको रुपमा अगाडि बढाउँदै लगेको छ । पहिला तीजको गीतमा महिलाले आफ्ना देश परिवेशका अवस्था दर्शाउने गर्दथे । समाज र परिवारमा भोगेका कथा सुनाउँथे ।

खासगरी आफ्ना सासू ससुरा, श्रीमान्, आमाजू, नन्द, देवर जेठाजु, दाजुभाइले गरेका राम्रा नराम्रा व्यवहारको चर्चा गर्थे । माइती पक्षबाट तीजमा चेलीलाई लिन नआएको पीडा सुनाउँथे । कसैले दुःख र कसैले सुखका कथा गीतमार्फत् अभिव्यक्त गर्ने गर्दथे । आजभोलि गाइने तीजका गीत पनि फरक शैली र ढाँचामा तयार भएका छन् ।

पुराना भन्दा नयाँ आधुनिक गीत संस्कृतिका रुपमा विकसित छ । गीत र नाचमा एक प्रकारको छाडापन छ । तीज पर्वको नाममा आधुनिक शैलीले परम्परागत शैली र खाँटीपनको धज्जी उडाएको छ । सम्बन्धित निकायले यसलाई सुधार गर्दै तीज पर्वको परम्परागत गरिमा जगाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्