Logo

तिज ब्रतको विधि हो अन्धविश्वास र कुसंस्कार होईन


राम प्रसाद सेढाई

हामी नेपाली धर्म संस्कार ,परम्परागत सामाजिक मूल्य मान्यताका धनी छौं । निरास र खल्लो जीवनलाई रङ भर्नको लागि हामीसग अनेकौं चाडपर्व छन् , अनेकौं सामाजिक क्रियाकलाप छन् । यसरी प्राचीन समयदेखि चल्दै आएका र आजको पुस्तासम्म पुस्तान्तरण हुँदै आएका वैदिक सनातन धर्म , सामाजिक मूल्य(मान्यता ,संस्कार र संस्कृती तथा परम्परा हाम्रा धरोहर हुन, हाम्रा चिनारी हुन् , पुर्वजले दिएका अमुल्य निधि हुन ,यिनिहरुले हाम्रो सामाजिक जीवनलाई जिवन्तता प्रदान गरिदिनेछन। हाम्रा सामाजिक परिवेशहरुलाइ रंगिन बनाएर गतिशीलता थपिदिनेछन। उत्साह र उमङ्ग भरिदिनेछन। त्यसैले आस्था र बिश्वास सहित यिनको जगेर्ना, परिपालना र संरक्षण हाम्रो कर्तब्य हुन आउँछन। हो यिनिहरुलाई हामीले जोगाएनौ भने अगाडिका पुस्तालाई हामी कस्तो समाज हस्तान्तरण गरौंला रु रस नभएको खोक्रो रंगबिहिन समाज दिने त पक्कै होईन । त्यसैले यिनिहरुको संरक्षण र सम्बर्द्धन गरिनुपर्छ यसमा दुइमत छैन।
तर समाजमा चलिआएका पुराना धर्म ,संस्कार र परम्परा जोगाउने नाममा त्यस्ता संस्कार, परम्परा जोगाउनु कुनै जरुरी छैन जुन आधुनिक बिज्ञान र मानव चेतनाले गलत ठहर्‍याएका छन् । म यस लेखमा महिलासग सम्बन्धित चाडपर्वका बारेमा उल्लेख गरिरहेको छु। हाम्रो समाजमा कतिपय यस्ता कुरिती र कुसंस्कारले जरो गाडेर बसेका छन् , जुन धर्म हुन कि अन्धविश्वास हुन भेद छुट्याउन नसक्नु बिडम्बना बनेको छ। यस्ता कुरिती प्रती नतमस्तक भएर सहर्ष स्विकार्ने पढेलेखेका शिक्षित जमातको नै लगाव देख्दा दोष उनिहरुमै छ जस्तो लागेपनी वास्तवमा यी बिभेदकारी कुसंस्कारहरु पितृसत्तात्मक समाजले सुषुप्त रुपले उनीहरुको मन मस्तिष्कमा बर्षौदेखी मलजल गरेर जरा गाडेर राखिदिएको छ। जुन रिति रिवाज पुरा नगरे पाप लाग्छ , नर्कमा परिन्छ , स्वर्गको ढोका बन्द हुन्छ भन्ने एक किसिमको डर पैदा गरिदिएको छ। मनोरञ्जन ,सस्कृती र बिचारधाराका माध्यमबाट राजिखुसीका साथ धर्मको नाम दिएर मन मस्तिष्कमा हुलिदिएपछी उनिहरु पनि त्यसैमा रमाइरहन बाध्य भए। आज हजुर आमाको पालादेखी चलिआएको परम्परा भनेर नातिनी सम्मको पुस्ताले रमाइ रमाइ त्यस्ता परम्परा मानिरहेका छन् । म यहाँनेर तिज र ऋषि पन्चमीको बारेमा केही प्रष्ट पार्न चाहान्छु।
तिज पर्व जुन महिलालाई नै प्राथमिकतामा राखी महिलाकै बिशेष चाड भन्दै नेपाली समाजले अति नै महत्त्व दिएको छ । नेपाली महिलाहरु यस पर्वमा नाचगान गर्दै दिनभर निराहार व्रत बसि पतिको सु स्वास्थको कामना गर्छन अनि खुट्टाको पानीले आफुलाइ अभिसिन्चित गर्दै जलपान गर्छन् , तिज ब्रतको विधि यो हो। अझ अहिले त तिज सुरु हुन पाएको छैन एक महिना अघिदेखि नै आफ्नो सान र शौकात प्रदर्शन गर्ने होडबाजीले भड्किलो पोषाक र महङ्गो गहना पहिरिएर महँगै पार्टी प्यालेस , होटेल बुक गरि पार्टी आयोजना गर्ने प्रचलन बढेको छ , तिजको नाममा यो अर्को बेथितिले समाजलाई गलत दिशातर्फ अग्रसर गराउदैछ। त्यस्तै अर्को ऋषि पन्चमी नुहाउने चलन छ ,जुन चाहिँ महिलाहरु रजस्वला हुदा बर्ष भरी छोइछाइ भएको हुन्छ , त्यसरी छुदा महिलाको शरीर पापले भरिएको हुन्छ। त्यो पाप मोचनको लागि ऋषिपन्चमी नुहाउनुपर्छ भन्ने मान्यता छ। सुन्दा पनि हासो लाग्ने यस्ता चाड पर्वहरु र यसका बिधिहरु आफैमा अन्धविश्वास र कुसंस्कार हुन। व्रत बस्नु आफैमा सकारात्मक भएपनी पुरुषहरूको खुट्टाको पानी नखाए व्रत पुर्ण नहुनु र महिलाको शरीरमा नियमित प्रक्रिया अन्तर्गत हुने रजस्वला लाई पापको रुपमा ब्याख्या गर्नु कतिसम्म जायज हो पितृसत्तात्मक सोचलाई नै मलजल गर्ने ,पुरुषहरु मालिक हुन, देवता हुन, महिलाहरु चाहिँ पुरुषहरूका दासी हुन , सेविका हुन् भन्ने मानसिकतामा रहन बाध्य पार्ने , चरणधुली लाई मस्तकमा धारण गर्ने, खुट्टाका पानी खाने , दास मनोवृत्तिलाई फैलावट हुन सहयोग पुर्याउने जस्ता घोर रुढीबादी परम्परा र कुसंस्कार हरुलाइ मान्नैपर्छ, निरन्तरता दिनैपर्छ भन्ने कुनै जरुरी छैन। यसो भन्दैगर्दा धर्मान्धहरुका नजरमा उग्रवादी बिचार हो भन्ने लाग्न सक्छ । तर धर्म र संस्कारका नाममा यस्ता परम्परा सर्वथा गलत छन् । दास मानसिकताले ग्रसित छन् । त्यसैले यिनिहरु त्याज्य छन् ।
यिनिहरु त्याज्य किन छन् त
सयौं बर्ष अगाडिको परम्पराहरुलाइ आजको आखाले हेरेमा आफै प्रष्ट हुन सकिन्छ कि अब यी परम्पराहरुलाइ निरन्तरता दिनु जरुरी छ कि छैन । के मानिसको चेतना र समाज त्यै अवस्थामा छ त जुन दासयुगमा थियो, अह छैन बिल्कुलै छैन । जङ्गल युग,दासयुग , सामन्त युग पार गर्दै चेतना , बिकास , ज्ञान् बिज्ञान र प्रबिधिको यो युगमा आइसक्दा पनि दासयुग र सामन्त युगकै झल्को दिने यस्ता रिति थिती र गलत परम्परा हरुलाइ निरन्तरता दिनु कुनै जरुरी छैन। कुनै कोणबाट पनि यी र यस्ता परम्परा हरु व्यक्तिगत स्वतन्त्रता र स्वास्थ बिज्ञानको नजरमा उपयुक्त ठहरिदैनन। आजको युगमा हरेक मानिस मानिस नै भएर बाच्न पाउनुपर्छ आफ्नो सत्व र निजत्वमा आफू भएर बाच्न पाउनुपर्छ । अब हामीलाई कुनै पथ, धारणा र परम्पराले होइन आजको उद्दात्त चेतनाले मार्गनिर्देश गर्नेछन् । ज्ञान् ,बिज्ञान र प्रबिधिले दिशानिर्देश गर्नेछन् । जुन आधुनिक ज्ञान बिज्ञान र प्रबिधिको कसिमा प्रमाणीकरण भएका छन , अब्बल ठहरिएका छन् । र अन्तमा यस्ता कुरिती कुसंस्कारहरु हामिले बोकिरहेसम्म मात्र रहने हुन , बोक्न छोडेपछि आफै हराउदै जानेछन। सबैभन्दा महत्त्वपूर्ण कुरा महिलाहरु दास मानसिकता बाट मुक्त हुन जरुरी छ। त्यसपछि आफुलाइ दासतातर्फ लम्काउने हरेक कुरिती र कुसंस्कारहरु आफैलाइ घृणित लाग्नेछन चाहे ती धर्म र परम्पराको नाममा मखमली खोल ओढाइएका किन नहुन।

प्रतिक्रिया दिनुहोस्