Logo

‘देवकोटाको जन्मस्थानमा होइन, ‘डेरा’लाई संग्राहलय बनाउन लागियो’


काठमाडौं । काठमाडौंको वडा नम्बर ३० मैतिदेवीस्थित कविकुञ्जले चर्चेको १२ आना १ दाम जमिनमा अहिले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्राहलय’ बनाउने तयारी सुरु भएको छ । सरकारले २ करोड ६० लाखमा त्यो जमिन महाकविका सन्तानसँग खरिद गरेर नेपाल प्रज्ञा प्रतिष्ठानको स्वामीत्वमा राखिदिएको थियो । संग्रहालयको डिपिआर अनुसार नयाँ संरचना बनाउन अहिले त्यहाँको पुरानो घर भत्काइँदैछ ।


सामान्यतः विराट व्यक्तिहरुको स्मृतिमा संग्रहालय बनाउँदा जन्मस्थानमा बनाउने गरिन्छ । महाकवि देवकोटाको जीवनशैली सम्बन्धी पुस्तकका लेखक नरेन्द्रराज प्रसाई भन्छन्, ‘संग्रहालय बनाउने भनेको जन्म स्थानमा हो, डेरामा होइन । अहिले जुन स्थानमा संग्राहलय बनाउन खोजिदैछ, त्यो स्थानमा देवकोटाको १८ वर्ष व्यतित भयो । देवकोटाले ३२ वर्ष बिताएको जन्मस्थानबारे चर्चै भएन ।’


संग्राहलय बनाउने स्थानको उत्तरतिर देवकोटाका जेठा छोरा डा. पद्म देवकोटाको घर छ । पूर्व—दक्षिणमा छोरी अम्बिका रिमालको घर छ । तर देवकोटा त्यो स्थानभन्दा केही पूर्व डिल्लीबजार — धोबीधारामा जन्मेका थिए । जहाँ उनको महत्वपूर्ण समय व्यतित भयो । रोगले च्याप्दै गएपछि देवकोटा धोबीधारामा रहेका आफ्ना दाजुभाई कहाँ बारम्बार गइरहन्थे ।

६६ सालमा संग्राहलय बनाउन भनेर धोबीधारास्थित देवकोटाको जन्मस्थानको जमिन खरिदका लागि लेखक नरेन्द्रराज प्रसाई र मोदनाथ प्रश्रित पुगेका थिए । प्रसाई सम्झिन्छन्, ‘त्यो बेला देवकोटाका दाजुभाईहरुले ६० लाख जति मूल्य सुनाएका थिए । त्यति पैशा हामीले जुटाउन सकेनौं ।’
अहिले देवकोटाका सन्तानको नाममा भएको जमिन उनीहरुले भनेकै मूल्यमा सरकारले खरिद गरिदियो । प्रसाईं भन्छन्, ‘देवकोटाका छोरा पद्मलाई आर्थिकरुपमा समृद्ध बनाउन यो काम गरियो ।’


पद्म देवकोटा अंग्रेजी भाषाका विज्ञ हुन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेको कृति ‘अस्वत्थामा’लाई उनले मोटो रकम सरकारबाट असूलेर अंग्रेजीमा रुपान्तरण गरे । तर उनी विभिन्न मञ्चहरुमा ‘मेरो बुवाका कृतिहरु सरकारले अंग्रजीमा अनुवाद गरिदिएन’ भन्दै रुवाबासी गर्थे ।

लेखक प्रसाई भन्छन्, ‘यसकारण सरकारले पद्मको हितलाई ध्यानमा राखेर जमिन खरिद गरिदियो । तर अब जे भए पनि, ढिलो भएपनि, डेरामै भए पनि संग्राहलय बन्ने भयो । यहि कुरामा खुसी मान्नु पर्छ ।’

हाल भत्काउँदै गरिएको घर देवकोटाले ९० सालतिर किनेका थिए । पछि ४५ सालतिर घर जीर्ण भएपछि भत्काएर पुरानै शैलीमा बनाइयो । अहिले भत्काउँदै गरिएको घर देवकोटाले नै किनेको घर पनि होइन । उनले किनेको घर त धेरै पहिले नै भत्केर नयाँ बनाइयो । त्यही नयाँ पनि ७२ सालको भूकम्पमा परेर भित्र भ्वाङ परेको थियो । भित्र जान पनि डरलाग्दो देखिन्थ्यो ।

यसकारण त्यो घर नभत्काई जीर्णोद्वार गनुपर्छ भन्ने तर्कमा खास दम छैन ।

प्रतिक्रिया दिनुहोस्