Logo

नेप्से हालसम्मकै उच्च बिन्दुमा, १५ अर्ब १७ करोडको कारोबार


काठमाडौँ । मंगलबार नेपाली शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । गएको आइतवार तीन हजार ५८ विन्दुमा पुगेर कीर्तिमान बनाएको नेप्सेमा आज तीन हजार ७९ विन्दुको नयाँ कीर्तिमान बनेको छ ।

आज सूचक २९.२३ अंकले बढेर ३०७९.६७ को विन्दुमा पुगेको छ, जुन हालसम्म कै उच्च अंक हो ।

आज बैंकिङ, व्यापार, होटल र माइक्रोफाइनान्सबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से २९ दशमलव २४ अङ्कले बढेर तीन हजार ७९ दशमलव ६७ विन्दुमा पुगेको छ । आज विकास बैंक समूहको शेयर साढे ३५ अङ्कले बढेको छ ।

यस्तै जलविद्युत् समूहको एक सय १९ अङ्कले, फाइनान्स समूहको ७१ अङ्कले, जीवन बीमा समूहको दुई सय ६० अङ्कले, निर्जीवन बीमा समूहको एक सय २० अङ्कले, उत्पादन समूहको तीन सय पाँच अङ्कले, अन्यको ६० र लगानी समूहको शेयर तीन अङ्कले बढेको छ ।

आज दुई सय २५ कम्पनीका तीन करोड २३ लाख कित्ता शेयर १५ अर्ब १७ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ४९ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज मल्टिपर्पोज फाइनान्स, खानी खोला हाइड्रो, युनाइटेड मर्दी हाइड्रो, नेपाल हाइड्रो, सिनर्जी पावर, जोशी पावर, घलेम्दी हाइड्रो, हिमालय ऊर्जा विकास कम्पनी, युनिभर्सल पावर र जानकी फाइनान्स गरी १० कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि सर्पोट माइक्रोफाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज कारोबारमा आएका मध्ये ११० कम्पनीको मूल्य बढेको छ भने ६७ कम्पनीको मूल्य घटेको छ ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये बैंकिंग, ट्रेडिङ, होटेल तथा पर्यटन, लघुवित्त बाहेक सबै सबै समुहगत सूचक बढेका छन् । आज उत्पादन तथा प्रशोधन समुह सबै भन्दा धेरै ४.७४ प्रतिशत र हाइड्रो समुह सबै भन्दा धेरै ३.७५ प्रतिशतले बढेको छ । लघुवित्त समुह सबै भन्दा धेरै २.०६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्