Logo

संस्थापन इतरले जोगाउन सक्ला जिल्लामा १३ औं महाधिवेशनको साख ?



कांग्रेस महाधिवेशनको सरगर्मी सँगै महाधिवेशनमा सदा झैँ कांग्रेस भित्र दुई खेमाको बिषेश प्रतिष्पर्धा हुने देखिएको छ । कांग्रेस महाधिवेशनका अघिल्ला प्रतिस्पर्धा हेर्ने हो भने पनि संस्थापन र संस्थापन इतर पक्षको भीडन्त हुँदै आएको छ । यसपटक पनि कांग्रेस भित्र संस्थापन र इतर पक्षबीच भीडन्त निश्चित छ । कांग्रेस महाधिवेशनको १४ औं संस्करणमा संस्थापन इतर पक्षबाट झण्डै एक दर्जन आकांक्षी देखिएका छन् ।

यसभन्दा अघि तेर्हो महधिवेशनको नतिजा हेर्ने हो भने जिल्लागत नेतृत्वमा कांग्रेस संस्थापन इतर पक्षको बर्चस्व रहेको छ । कांग्रेसको १३ औं महाधिवेशन पछि स्याङ्जाका सभापति कमल पंगेनीको निधन भएको छ । बाँकी ७६ जिल्ला हेर्दा ४६ ठाउँमा कांग्रेस संस्थापन इतर पक्षको नेतृत्व छ ।

थप भएका जिल्ला नवलपरासी पश्चिम र रुकुम पूर्वमा केन्द्रीय समितिले जिम्मेवारी दिएको छ । तीसहित ७६ जिल्लामध्ये ३० जिल्लामा सभापति देउवानिकट सभापति छन् भने ४६ जिल्लामा इतर पक्षका सभापति छन् । देउवाको संस्थापन पक्षको सबैभन्दा कम पकड प्रदेश १ मा देखिन्छ जहाँ १४ जिल्लामा अहिले २ जना कांग्रेस संस्थापन पक्षका नेताहरु जिल्ला सभापति रहेका छन् ।

धनकुटाका अग्निप्रसाद पौडेल र ओखलढुंगाका प्रदीपकुमार सुनुवार मात्रै संस्थापनमा छन् । त्यसबाहेक १२ जिल्लामा संस्थापनइतर समूहको नेतृत्व छ । ताप्लेजुङकी लीला बोखिम, पाँचथरका नरेन्द्रकुमार केरुङ, इलामका हिमालय कर्माचार्य, झापाका उद्धव थापा, संखुवासभाका दीपनकुमार श्रेष्ठ, तेह्रथुमका गोविन्द ढुंगाना, भोजपुरका नन्दमणि राई, मोरङका डिकबहादुर लिम्बू, सुनसरीका राजीव कोइराला, सोलुखुम्बुका विनोदकुमार बस्नेत, खोटाङका नरेशकुमार श्रेष्ठ र उदयपुरका विदुर बस्नेत संस्थापनइतर पक्षमा छन् ।

मोरङका सभापति लिम्बूले १३औँ महाधिवेशनमा देउवा समूहबाट जितेका थिए । तर, अहिले उनी इतर पक्षसँग जोडिएका छन् । यसपटकको निर्वाचनमा पनि कांग्रेस संस्थापन इतर एकढिक्का भए प्रदेश १ मा संस्थापन इतरकै बर्चस्व हुने देखिन्छ ।

प्रदेश २ को नेतृत्व भने प्रदेश १ को भन्दा फरक छ । यहाँ संस्थापन पक्षको एकल बर्चस्व रहेको छ । तर यसपटक प्रदेश २ मा आफ्नो पकड बनाएका बिमलेन्द्र निधि देउवाको साथ छाडेर चुनावमा जाने हुँदा यहाँ संस्थापन इतरलाई फाइदा पुग्ने देखिन्छ । यसअघिको चुनावमा देउवालाई बिमलेन्द्र निधिको दर्हिलो साथ हुँदा प्रदेश २ मा संस्थापन पक्षको बर्चस्व रहेको थियो ।

त्यस्तै, प्रदेश २ मा भने संस्थापन पक्षको एकलौटी नेतृत्व छ । सप्तरीका दिनेश यादव, सिराहाका रामचन्द्र यादव, धनुषाका महेश शंकर गिरी, महोत्तरीका महेन्द्रकुमार राय, सर्लाहीका नागेन्द्रकुमार राय, रौतहटका कृष्णप्रसाद यादव, पर्साका अजयकुमार द्विवेदी र बाराका जयचन्द्र चौरसिया पनि देउवा समूहमै छन् ।

देशको राजधानि रहेको प्रदेश बाग्मतिमा अहिले ५ जना संस्थापन समूहका नेता जिल्ला सभापतिमा छन् । तुलनात्मक हिसावले हेर्दा यो संस्थापन इतर पक्षको भन्दा कम संख्या हो । यहाँ १३ मध्ये ८ ठाउँमा संस्थापन इतर पक्षनै बलियो छ ।

बागमती प्रदेशमा रसुवाका पेम्बाछिरिङ तामाङ, भक्तपुरका दुर्लभ थापा, ललितपुरका मदन अमात्य, दोलखाका रुद्रबहादुर खड्का र मकवानपुरका इन्द्रबहादुर बानियाँ संस्थापन समूहका हुन् । धादिङका रमेश धमला, नुवाकोटका जगदीश्वरनरसिंह केसी, काठमाडौंका कृष्ण (सबुज) बानियाँ, चितवनका जितनारायण श्रेष्ठ, रामेछापका लवश्री न्यौपाने, सिन्धुपाल्चोकका विकास लामा, काभ्रेका मधु आचार्य र सिन्धुलीका उज्ज्वल बराल भने संस्थापनइतर समूहमा छन् । 

गण्डकीको मामलामा यसअघिसम्मको भीडन्तमा संस्थापन र इतर पक्षको बराबरीमा थिए गण्डकीका १० जिल्ला मध्ये ५ जिल्लामा संस्थापन र ५ जिल्लामा संस्थापन इतर पक्षको पहुँच छ ।

गण्डकी प्रदेशमा गोरखाका हरिबहादुर घले, बाग्लुङका दीपेन्द्रबहादुर थापा, म्याग्दीका खमबहादुर गर्जुवा, पर्वतका खिमप्रसाद भुसाल र मनाङका टेकबहादुर गुरुङ संस्थापन समूहमा छन् । यस्तै, नवलपुरका विष्णु लामिछाने, लमजुङका भेषबहादुर पौडेल, कास्कीका कृष्णबहादुर केसी, तनहुँका वैकुण्ठनाथ न्यौपाने र मुस्ताङकी यान्जिना विष्ट संस्थापनइतर समूहका हुन् । 

लुम्बिनी प्रदेशमा संस्थापनइतर समूहको वर्चस्व छ । गुल्मीका भुवन श्रेष्ठ, अर्घाखाँचीका विष्णुप्रसाद खनाल, कपिलवस्तुका सुरेन्द्रराज आचार्य, पाल्पाका वीरबहादुर राना, रोल्पाका अमरसिंह पुन, प्युठानका अमरप्रसाद भण्डारी, बाँकेका किरण कोइराला, रुकुम पूर्वका केशरमान रोका र बर्दियाका सञ्जयकुमार गौतम संस्थापनइतर समूहका हुन् । संस्थापन समूहमा रुपन्देहीका अब्दुल रज्जाक, नवलपरासीका अर्जुनप्रसाद पोखरेल र दाङका कीर्तिबहादुर खड्का छन् । 

कर्णालीका १० जिल्लामा पनि संस्थापन इतरकै हालिमुहाली छ ।

कर्णाली प्रदेशमा हुम्लाका जयपति रोकाय, डोल्पाका अंगतकुमार बुढा, मुगुका खड्गबादुर शाही, देवापक्षिय हुन् भने  जुम्लाका दीपबहादुर शाही, कालिकोटका हर्षबहादुर बम, सल्यानका गणेश चन्द, रुकुम पश्चिमका प्रेमप्रकाश वली, जाजरकोटका दीपकजंग शाह, दैलेखका कृष्णकुमार बिसी र सुर्खेतका कमलराज रेग्मी संस्थापनइतर समूहमा छन् ।

सुदूरका ९ जिल्लामध्ये ६ अघिल्लो निर्वाचन सम्म संस्थापन पक्ष केहि बलियो देखिएको थियो । संस्थापन पक्षका नेता देउवाको गृह प्रदेश भएकै कारण पनि यहाँ देउवा पक्ष स्वभावैले केहि बलियो देखिनु स्वभाविक हो । यसअघिको निर्वाचनसम्म ९ जिल्लामध्ये ३ जिल्लामा संस्थापन इतरको बर्चस्व रहेको थियो भने ६ जिल्लामा देउवा पक्ष बलियो थियो ।

सुदूरपश्चिम प्रदेशमा कैलालीका नरनारायण शाह, कञ्चनपुरका हरि बोहरा, बाजुराका कविराज पण्डित, डोटीका प्रदीप देउवा, अछामका भरतबहादुर स्वाँर र बझाङका हर्कजंगबहादुर सिंह देउवानिकट हुन् । यस्तै, दार्चुलाका ललितसिंह बोहरा, बैतडीका नरेन्द्रसिंह थापा र डडेल्धुराका कर्णबहादुर मल्ल संस्थापनइतर समूहसँग छन् ।

यसपटक देउवाका केहि विश्वासपात्रले केन्द्रमा संस्थापन पक्ष छाडेका कारण जिल्लामा संस्थापन इतर पक्षलाई केही सहज हुने देखिन्छ । यसअघि सम्म ४६ जिल्लामा बर्चस्व बनाएको इतर पक्षले यसपटक जिल्ला नेतृत्वको संख्या बढाउने अनुमान लगाउन सकिन्छ । पार्टीमा देउवाको महत्वकांक्षाको कारण पनि धेरै उनिसँग रुष्ट छन् । यो अवस्थामा कांग्रेस केन्द्र देखि संस्थापन इतर पक्ष एकजुट भएमा केन्द्र देखि जिल्लासम्म संस्थापन इतरको छाप अझ गाढा हुने अनुमान लगाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्