Logo

लुम्बिनीमा बजेट पास असफल, कर्णालीमा यसरी हुँदैछ बजेट पास


काठमाडौं । लुम्बिनी सरकार असार मसान्तभित्र प्रदेशसभाबाट बजेट पास गर्न असफल भएको छ । अब शुक्रबारदेखि मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारले राज्यकोषबाट एक रुपैयाँ पनि रकम खर्च गर्न पाउँदैन । यद्यपि प्रदेशसभा अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउन सक्ने अनुमान छ ।

आर्थिक वर्ष ०७७/७८ को अन्तिम दिन बिहीबार मन्त्रीहरुका साथै मुख्यमन्त्री पोखरेलले विनियोजन विधेयकमाथि भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिए । त्यसक्रममा एमाले संसदीय दलका नेतासमेत रहेका पोखरेलले सहमतिबाट बजेट पास गर्न दलहरुलाई आग्रह गरे ।

सरकार अल्पमतमा परेको विपक्षी नेताहरुको दाबीलाई आफूले पनि सुनेको भन्दै उनले भने, ‘विश्वासको मत लिनुपर्‍यो भन्नुहुन्छ, त्यसका लागि म तयार छु । तर त्यस पछाडिको परिणाम के त ? त्यो तपाईं हामी सबै विचार गरौं ।’

यस्तै कर्णाली प्रदेशको मन्त्रिपरिषद बैठकले बजेट अध्यादेश स्वीकृतिका लागि प्रदेश प्रमुख समक्ष पेश गरेको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेश विनियोजन अध्यादेश, २०७८ र कर्णाली प्रदेश आर्थिक अध्यादेश, २०७८ जारी गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशसभा बैठक अवरुद्ध पारेको कारण देखाउँदै कर्णाली सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्