Logo

एकल नेतृत्व कांग्रेसका लागि घातक हुन्छ, यो फाब्दैन





नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउन अब २ महिना बाँकि छ तर, जुन रुपमा तयारी हुनुपर्ने हो त्यो भएको देखिदैन, कसरी सम्भव छ ?
अहिले कोभिडका कारण पनि महाधिवेशनको तयारी जुन रुपमा हुनुपर्ने थियो त्यो अनुरुप हुन नसकेको पक्कै हो । कोभिडसँगसँगै देशको तरल राजनीतिक अवश्थाले पनि महाधिवेशनको तयारीमा केहि समस्याहरु देखिएका छन् । यद्यपी हामी संवैधानिक रुपमा पनि महाधिवेशन सम्पन्न गराउनै पर्ने बाध्यात्मक अवस्थामा छौँ । भदौमा महाधिवेशन गर्न नसकिएको खण्डमा कांग्रेस संवैधानिक जटिलतामा पर्ने सम्भावना छ । यिनै कुराहरुलाई मध्यनजरगर्दै कांग्रेस केन्द्रीय समितिले पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्ममा सम्पन्न गर्ने निर्णय पनि गरिसकेको छ । कांग्रेसको गाउँ तथा नगरको वडाको अधिवेशन, गाउँपालिका, नगरपालिकाको अधिवेशन, क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला र एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा अधिवेशन गराउने कार्यतालिका पनि आइसकेको छ । यस हिसावले जटिलता धेरै भएपनि तोकिएको मितिमा महाधिवेशा सम्पन्न गराउनका लागि सम्बन्धित निकायहरु लगिरहेकै छन् । संविधान, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा र वर्तमान ओली सरकारका गैरसंवैधानिक कृयाकलापलाई रोक्नका लागि पनि कांग्रेसले एकताको संदेश दिँदै यो महाधिवेशन सम्पन्न गर्नुपर्छ र गर्छ । कोरोना कहरका बेला कसरी महाधिवेशन सम्पन्न गर्न सकिन्छ भन्ने सम्बन्धमा विभिन्न उपाय र विधिबारे छलफल गर्नुपर्छ र यसमा आयोजक समितिले ध्यान दिनुपर्छ ।
अहिलेसम्म नबनेको महाधिवेशन आयोजक समिति कहिले बन्छ ? यो समिति बन्न त क्रियाशील सदस्यहरुको विवाद पहिले मिल्नुपर्ने होला ?
यस विषयमा केन्द्रीय समितिको बैठक डाकेर चाँडै निर्णय लिनुपर्छ । समय घर्किदै गएको छ । हुनत म केन्द्रीय समितिको छैन् । तर, महाधिवेशन सम्पन्न गराउनका लागि आवश्यक पहल गर्ने र आवश्य समितिहरु गठन गर्ने काम केन्द्रीय समितिको हो । माहाधिवेसको तयारीका लागि अहिले सम्ममा कुन विधि र प्रक्रियाबाट जाने भन्ने निधो भइसक्नुपर्ने हो । तर, अहिले सम्म के कसरी जाने भन्ने विषयमा टुंगो नलाग्दा कार्यकताहरुमा संसय बढेर गएको छ । अब चाँडो भन्दा चाँडो महाधिवेशन आयोजक समिति बन्नुपर्यो र त्यो समितिले काम सुरु गनुपर्यो । समिति बनेपछि कसरी र कुन विधिबाट महाधिवेशन सम्पन्न गर्ने भन्ने निर्णय गर्नुपर्यो । आयोजक समिति नबने सम्म कुन प्रक्रियाबाट जाने, कसकसले कुनकुन जिम्मेवारी निर्वाह गर्ने भन्ने कुराको टुंगो लाग्न सक्दैन । अहिले क्रियासिल सदस्यहरुको विवाद पनि मिलाउन बाँकि छ । यो महाधिवेशनमा १० लाख सदस्यहरु थपिन सक्ने सम्भावना छ । उनिहरुको व्यवस्थापन गर्नुपर्यो । कोभिडको यस्तो महामारी छ । सवैलाई एकैठाउँमा जम्मा गरेर गर्न सकिने अवस्था पनि छैन । त्यसकारण यी सवै कुराको बन्दोबस्ती गर्ने भनेको आयोजक समितिले हो । यसैले सवै विषयको छिनोफानो गर्ने भएकाले यो समिति बनाउन केन्द्रिय समितिले ढिलो गर्न हुदैन ।
अहिले नेतृत्व तहमा रहेका नेताहरु महाधिवेशन सम्पन्न गर्ने तयारीमा भन्दा उम्मेदवारी घोषणाको होडबाजिमा छन् यो अलि हतारो भएन ?
नेताहरुले पहिले कुन विधि र प्रक्रियबाट महाधिवेशन सम्पन्न गर्ने भन्ने तयारी सकेर उम्मेदवारी तर्फ लाग्दा सहि हुन्थ्यो । किन भने पार्टीको नेतृत्वमा को जान्छन, को जाँदैनन्, कस्ले उम्मेदवारी दिन्छन र कस्ले दिदैनन् भन्ने कुरा अलग विषय हुन । निती, नियम, विधि र प्रक्रिया अनुसार मापदण्ड पुगेकाहरुले उम्मेदवारी दिने हो । को केमा लड्ने ? कस्ले कसलाई छाड्ने ? यसमा पनि सहमति हुँदै जाला । तर, महाधिबेशन कसरी गराउने, आर्थिक स्रोतहरुको व्यवस्थापन कसरी गर्ने ? वडादेखिका अधिवेशनहरु कसरी गराउने ? । कति ठाउँमा गराउने ? कुन विधि र प्रक्रियाबाट गराउने ? जिल्ला जिल्लमा गराउने वा प्रदेश प्रदेशमा गराउने भन्ने त पहिले तय हुनुपर्यो । यसको लागि आयोजक समिति बनाउनुपर्यो । उपसमितिहरु बनाउनुपर्यो । ति समितिहरुको कार्य विभाजन हुनुपर्यो । यति भएपछि मात्रै केन्द्रीय पदाधिकारीहरुमा को को जाने हो ? कसकसले उम्मेदवारी दिने हो ? कहाँ सहमति गर्ने हो भन्ने कुरा आउँछ । यो विषयमा पहिले निर्णय गर्नुपर्छ । अर्को तर्फ १० लाख क्रियासिल सदस्य भएभने अरु २ लाख थपिन्छन् । यत्रा १२ लाख कांग्रेसहरुलाई कसरी व्यवस्थापन गर्ने । एकै ठाउमा कोभिडका कारण भेला गराउन सकिने अवस्था छैन । यस्तो महामारीमा एकै ठाँउ भेला गराउन पनि भएन । अधिवेशनमा भेला भएका सवैको सुरक्षा पनि गर्नुपर्यो । स्वास्थ्य जस्तो विषयमा हेलचेक्रई गर्न सकिदैन । काठमाडौँमा ल्याएर कार्यकर्ता राख्न सकिने अवस्था छैन । त्यसकारण भर्चुअल गर्ने हो कि अरु उपाय अपनाउने हो । त्यो पदीय जिम्मेवारीमा बसेका साथिहरुले गनुपर्छ । अहिले उम्मेदवारी घोषणालाई भन्दा तयारीलाई प्राथमिकता दिनुपर्छ । केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशनका लागि कुनकुन समितिहरु बनाउने हो त्यसमा तत्कालै निर्णय गनुपर्छ ।
कांग्रेस नेतृत्वमा पुस्तान्तरणका कुरा पनि आइरहेका छन् यो महाधिवेशनबाट कति सम्भव होला ?
पहिलो कुरा त म चुनाव लड्ने कुरामा फलानाले पाउनुपर्छ र फलानाले छोड्नुपर्छ भन्ने पक्षमा छैन । हाम्रो विधान छ । विधानले के भन्छ, नियमले के भन्छ । जुनजुन पदका लागि जेजे क्राइटेरिया तोकेको छ र त्यो पुगेकाले लड्न पाउनुपर्छ भन्ने मेरो मान्यता हो । जहाँ सम्म तपाइले पुस्तान्तरणको कुरा उठाउनु भएको छ यसमा मैले हेर्दा के देख्छु भने अहिले पनि धेरै सिनियर नेताहरुनै पदाधिकारीमा लालयीत देखिनु भएको छ । उहाँहरुनै अहिले लड्ने हो भने अर्को महाधिबेशन आउँदा अहिले पदाधिकारीमा जाने सवै नेताहरु रिटायर्ड हुन्छन् । उहाँहरु रिटायर्ड भएपछि त्यो भन्दा तल्लो पुस्ताको हातमा नै नेतृत्व जाने हो । मेरो विचारमा युवा पुस्ताको पालो भनेको यसरी नै आउने हो । यसमा विवाद गरिरहनु उपयुक्त देख्दिन म । अर्को कांग्रेस पुरानो पार्टी हो, यहाँ धेरै पुस्ताको सम्मिश्रण छ तर पार्टीभित्र विधि, पद्धति कमजोर भएर गुटवाद हाबी हँुदा अधिकांश युवाहरू निराश पनि छन् । अन्य पार्टीभित्र काम गरेका समकालीन पुस्ता उपल्लो तह र जिम्मेवारीमा पुग्दा पनि नेतृत्व र संगठन समयानुकूल गतिशील नहँदा हजाराँै युवाहरू भूमिकाविहीन छन् अहिले पनि कांग्रेसमा । तर, अबको पाँच सात वर्ष पछाडी वहाँहरुकै हातमा स्वतहः नेतृत्व हस्तान्तरण हुन्छ । बरु रिटायर्ड भएका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा अबको पुस्ताले विचार गर्ने समय चाँही आएको देख्छु म ।
तपाइले भने जसरी अर्को अर्थात १५ औँ महाधिबेशन हुँदा रिटायर्ड हुने नेताहरुको व्यवस्थापन कसरी गर्ने ? तपाइको आफ्नै धारणा पनि त होला ?
राजनीतिक दलको र राजनीतिक नेताहरुको मुख्य काम भनेको नीति नियम बनाउने र त्यसलाई कार्यन्वयनमा लाने हो । सवैलाई मान्यहुने सिस्टम बनाएर त्यसलाई कार्यन्वयनमा लग्यो भने समस्याको प्रश्नै आउँदैन । हामी कहाँ सिस्टम बनाउने तर, कार्यन्वयन नगर्ने रीत बसेकाले हरेक ठाउँमा समस्या आएका हुन् । देश र समाज भनेको नीति र नियमले चलाउने हो । कुनै नेताको स्वार्थ अनुसार देश र समाज चल्न सक्दैन । यसका लागि सिस्टम बनाउनुपर्छ । मेरो भनाइको अर्थ केहो भने अहिले पनि रिटायर्ड लाइफमा गएकाहरुलाई राज्यले भत्ताको व्यवस्था गरेको छ । यसरीनै उहाँहरुलाई पनि व्यवस्थित गर्न सकिन्छ । पार्टीले उहाँहरुका लागि छुट्टै भत्ता र सुविधाको पनि व्यवस्था गर्न सक्छ । यस्ता नेताहरुको पार्टीलाई सरसल्लाह आवस्यक पर्न सक्छ । कसैले बौद्धिक सिर्जना पनि गर्न सक्नुहुन्छ । जसलाई पार्टीले संरक्षण गर्न सक्छ । यस्ता धेरै तरिकाहरु हुनसक्छन् । तर, नियम बनाएपछि त्यसको पालना सवैले गनुपर्छ । यसो गर्दा नयाँ र पुराना दुवै पुस्ताकाबीचमा मतभिन्ता हराउँछ र आत्मियता पनि बढेर जान्छ ।
सत्तापक्षको व्यवहारले आजित एउटा ठूलो जमात कांग्रेसप्रति आसावादी छ । तर,उसले कांग्रेसको यहि नेतृत्वमाथि भरोसा गर्न सकिरहेको छैन, यो यथार्थलाई चिर्न कांग्रेसले के गर्नुपर्छ ?
एकल नेतृत्वमा आफुलाई चलाउन खोज्ने र गुटमा रमाउने प्रबृतिको परिमाण मान्छु म यसलाई । कांग्रेसको इतिहास हेर्ने हो भनेपनि कांग्रेसले जहिले पनि सामुहिक नेतृत्वमा मात्रै सफल भएको छ । कांग्रेसमा विवाद २००७ सालमा पनि थियो । तर, इतिहासदेखि नै देशका मुल मुद्धा कांग्रेलेनै उठाएकको हो । नेतृत्व सक्षम भयो भने विवाद भएपनि अन्तिम निर्णय सामुहिक नै गर्छ र कांग्रेसको इतिहासले यहि भन्छ कि तिमि सामुहिक नेतृत्वमा जाउँ । अहिले पनि एकल नेतृत्वमा जान खोज्य भने कांग्रेस डुब्छ । किन भने एकल नेतृत्व कांग्रेसका लागि घातक हो यो फाव्दैन । अहिले नेतृत्वमा भएकाहरुले त्यो इतिहासलाई पनि मन् गर्नुपर्छ । सुरुमा चार जना नेताले यो पार्टीलाई नेतृत्व दिएर ल्याउनु भएको हो । त्यसपछि ३ जना नेताले नेतृत्व गर्दा पनि कांग्रेसले धेरै खालका परिवर्तहरु गर्यो । विवाद त उहाँहरुमा पनि थियो । तर, अन्तिम निर्णय त सामुहिक र एकतामै भयो । २००७ सालको परिवर्त, १५ सालको आम चुनाव,३६ सालको जनमत संग्रह, २०४६ सालको जनआन्दोलन, २०६२/०६३ को जनआन्दोलनदेखि शुशिल कोरालाई नेतृत्वमा संविधान जारी एकल नेतृत्वबाट भएको होइन । त्यो कलेक्टिभ नेतृत्वमा अगाडी आयो । अहिले एकल नेतृत्व र गुटमा गएपछि कांग्रेस खस्किएको छ । त्यसैले म भन्छु अझै पनि समय छ सामुहिक नेतृत्वमा जाऔँ र देशलाई नयाँ सन्देश दियौँ । अब पनि एक्लो लिडरसिपमा पार्टी अगाडी जान सक्दैन । गिरिजाप्रसादको देहवासन पछि पनि तीनजनाको नेतृत्वमा संविधान आएको हो । चुनाव पनि जितिएको हो । तर, अहिले कलेक्टिभ लिडरसिपमा कम्जोरी देखिएको छ । कांग्रेसलाई एकल नेतृत्व फाब्दैन भन्ने कुरा यस अगाडीका तथ्यहरुले पनि देखाएका छन् । यो महाधिबेशनमा सामुहिक संन्देश दिनुपर्छ । अहिले व्यक्तिको हैन पार्टीको भविस्य हेन्र्नुपर्छ । कांग्रेसमा एकता र मेलमिलाप आवश्यक छ । मुलुकको वर्तमान गम्भीर परिस्थितिलाई कांग्रेसले आँकलन गर्न सकेन भने स्थिति भयावह हुन्छ । ससंघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनमा थप जटिलता आउँछ । पार्टीभित्र विवाद र बहस हुनु स्वभाविक हो । केवल नेतृत्वले आफ्नो कार्यशैली बदल्न र एकता कायम गर्न सक्नुपर्छ ।
क्रियाशील सदस्यता वितरणमा पनि धेरै ठूलो विवाद छ, कतिपय पाउनुपर्नेले नपाएको गुनासाहरु धेरै आएका छन्, तपाइलाई के लाग्छ यो सहजै समाधान होला ?
क्रियाशील सदस्यता वितरणमा पनि केहि कमिकम्जोरीहरु नभएका होइनन् । कस्तो र कुन लेवल पुरा गरेकालाई सदस्यता दिने भन्ने मापदण्ड बनाएर सदस्यता वितरण गरेको भए समस्या कम आउने थियो । यो वडा तहबाटै मिलाएर ल्याउनुपर्नेमा कतिपय ठाउँमा त्यसो गरिएन भन्ने गुनासाहरु आएका छन् । यसलाई पनि विधि र विधान अनुसार गरिएको भए मलाइ लाग्छ यति धेरै विवाद आउने थिएन । केहि त गुटको प्रभाव पनि परेको छ । तेरो र मेरो नभनी उनिहरुको कार्यक्षमता र पार्टीप्रतिको लगनशीलतालाई आधार बनाइनु पथ्र्यो । जे भएपनि यसमा आएका विवादलाई हल गर्नका लागि समिति बनेको छ र उसले काम पनि गरिरहेकै छ । मैले जानकारी पाए अनुसार १६५ निर्वाचन क्षेत्रमध्ये धेरैको विवाद मिलिसकेको छ । क्रियाशिल छानबिन समितिले पनि यसैका कारण महाधिवेशन प्रभावित नहुने भनिरहेको छ । अघिल्लो महाधिवेशनमा पाँच लाख क्रियाशील सदस्य रहेको कांग्रेसमा यसपटक दोब्बर बनाइदैछ । यो १४औं महाधिवेशनमा १० लाखभन्दा बढी हुने अनुमान गरिएको छ । कांग्रेसमा क्रियाशील सदस्यतालाई लिएर हरेक महाधिवेशनमा विवाद हुँदै आएको हो, यो पटकमात्र आएको हैन । क्रियाशील सदस्यमार्फत् नै वडादेखि केन्द्रीय नेतृत्वसम्म चयन हुने हो । क्रियाशील सदस्यबाटै पार्टीका महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । तिनीहरुले नै केन्द्रीय नेतृत्व छनौट गर्ने भएकाले महाधिवेशनको परिणाम आफ्नो पक्षमा पार्न पनि क्रियाशिल सदस्यता केहि चलखेल भइहाल्छ ।
संगठन निर्माण र भातृसंगठनहरुको परिचालनमा कांग्रेस निकै कम्जोर देखिएको छ, यसले आगामी महाधिवेशनलाई कति प्रभाव पार्ने देख्नुहुन्छ ?
पार्टीलाई जीवन्त राख्न र मूलप्रवाहमा सञ्चालितच गर्न भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको भूमिका अहंम हुन्छ । भातृ तथा शुभेच्छुक संस्थाहरुबाटै पार्टीले तयार गरेका विचारहरूलाई समाजमा सम्प्रेषण गर्न र नीति तथा कार्यक्रमलाई लागू गराउन सकिन्छ । तर, अहिले पार्टीका यस्ता अभिन्न अङ्गहरुलाई सामूहिक भावना र उद्देश्यबाट विमुख हँुदै चरम गुटवाद र व्यक्तिवादको दलदलमा फसाइएको छ । यो हाम्रो पार्टीको सबैभन्दा ठूलो समस्या हो । पार्टीको तल्लो तह र शुभेच्छुक संस्थाहरूलाई निश्चित लक्ष्य र उद्देश्य प्रदान गरेर परिचालन गर्न नसक्दा पार्टी संगठन लथालिङ्ग मात्र भएको छैन गुटवाद र व्यक्तिवादमा फसेर संगठनभित्रै चरम अराजकता सृजना हुने स्थिति देखिदैछ । अहिले सबैभन्दा शक्तिशाली र ठूलो भ्रातृ संस्था नेविसंघ आन्तरिक द्वन्द्वमा फसेको छ । महिला संघको अवस्था उस्तै छ । तरुण दलको अवस्था उस्तै छ । यसमा नेतृत्वले समयमै विचार पुर्याएन भने आपसी खिचातानी र स्वार्थले गर्दा पार्टीभित्र चरम अराजकता र गुटवाद हाबी हुन सक्छ र यसले महाधिवेशनलाई मात्र हैन, सिङ्गो राजनीतिलाई नै प्रभावित बनाउन सक्छ ।
सरकारका विपक्षमा सर्वोच्च अदालतले दिएका केहि आदेशपछि प्रधानमन्त्री ओलीले कांग्रेस महाधिवेशनलाई देखाएर आम निर्वाचन किन नहुने भन्ने प्रश्न उठाउनु भएको छ, यसमा तपाईको धारणा केहो ?
यो तपाइले उठाएको विषय अलिक गम्भिर पनि छ । कांग्रेस कानूनी राज्यको खिलापमा जान सक्दैन । सर्वोच्चको अन्तरिम आदेशले केहि प्रश्नहरु एठाएको छ र त्यो विषयमा कांग्रेसले सोच्नै पर्ने अवस्था पनि छ । सर्वोच्चको विषयमा पार्टीको केन्द्रीय समितिले केहि निर्णय वा धारणहरु बनाउला । मेरो निजि विचारमा पनि पार्टीले यसमा सोच्नै पर्छ । पार्टीले यस अघिनै सर्वोच्चको अन्तरिम आदेशलाई स्वीकार गरिसककेको छ । सर्वोच्चले कम्युनिष्ट सरकाररका विधि र विधानका विषयमा, सरकारका विधि र नियमका विषयमा प्रश्न उठाएको हुनाले लोकतन्त्रको पक्षधर कांग्रेसले यसका धेरै कुराहरुमा हेर्नुपर्ने र विचार गरेर निर्णय गनुपर्ने अवस्था छ । किन भने कांग्रेसभित्रै पनि विधि र विधानका कुराहरु आइरहेका छन् । संविधानका यि विषयहरुलाई पार्टीले कसरी लिन्छ । त्यो म केन्द्रीय समितिमा नभएकाले भन्न सक्दिन तर, पार्टीले यो विषयमा सोच्नैपर्छ । उता प्रधानमन्त्रीले पनि च्यालेन्ज गरिरहनु भएको छ । कांग्रेसको महाधिबेशन हुन सक्छ भने मैले घोषण गरेको चुनाव किन हुन सक्दैन ? । यो हाम्रो लागि ठूलै च्यालेन्ज हनुसक्छ । तर, मलाई लाग्छ केन्द्रीय समितिको बैठकबाट यसबारे केहि न केहि धारणा बाहिर आउँछ ।
महाधिवेशनको मिति त घोषणा भयो । तर, विधानका, भातृ संगठनका, केन्द्रीय विभागका समस्या ज्यूँ का त्यूँ छन । यसमा नेताहरुबीच सहमतिको सम्भावना पनि छैन ?
हो, समस्या छन् । तर, सहमतिको विकल्प पनि छैन । एक त तोकिएको समयमा हुनुपर्ने महाधिवेशन सर्दैसर्दै भदौमा पुगेको छ । विधानमा भएको व्यवस्था अनुसार न विभाग बने, न कसैलाई मनोनित गरियो । अहिले आएर पनि मान्छे थप्ने काम भइरहेको छ । एकथरिले विभागको संख्या थपेको ठिक भनिरहेका छन भने अर्को थरिले हुदैन भनिरहेका छन् । अब दुवै पक्षको आफ्नै आफ्नै अडानले त यो समस्या समाधान हुदैन । जसरी हुन्छ कुरा मिलाएरनै जानुपर्छ । १३ औँ महाधिवेशनले उठाएका विवादहरु १४ औँ महाधिवेशनमा लान पनि भएन । विभागका विषयमा सहमति गर्नुपर्छ । पहिलेका ठिक थिएकी अहिलेका ठिक हुन भन्ने विषयमा महाधिवेशन अगाडीनै निक्र्यौल गर्नुपर्छ र एउटा खाका तयार पारेर अगाडी जानुपर्छ । अर्को कुरा अब नेताहरुले पार्टीमागर्ने निर्णयहरु मनासिव र कार्यन्वयनमा जाने हुनुपर्यो । अहिलेको समस्या भनेको कसरी म्यानेज्मेन्ट गर्ने भन्ने नै हो । यसमा नेतृत्वमा बसेकाले मिलाउनुपर्छ । शैदान्तिक रुपमा कसरी जाने भन्ने कुरा तय गरी संगठनलाई निर्विबाद परिचालन गर्ने वातावरण मिलाउनुपर्छ । पहिलेका विवादलाई अब पनि संगै लिएर जान सकिदैन ।

प्रतिक्रिया दिनुहोस्