Logo

जुम्लामा पहिरो जादाँ चार जना बेपत्ता



काठमाडौं । जुम्लाको पातारासी गाउँपालिकाको टुङटुङ लेकमा गएको पहिरोमा परेर चार जना बेपत्ता भएका छन् । पहिरोमा परेर बेपत्ता भएकाको खोजी कार्यका लागि आफन्तजन पहिरो गएको स्थानतर्फ गइरहेको प्रहरीले जनाएको छ ।

पाटन क्षेत्रमा फोन नलाग्ने भएकोले सम्पर्क हुन सकेको छैन । पहिरोमा परेर घाइते भएकामध्ये सुकबहादुर नेपाली र तारा नेपालीको अवस्था गम्भीर रहेको स्थानीयलाई उद्घृत गर्दै जुम्लाका प्रहरी प्रमुख दानबहादुर थापाले बताए । अरु दुई जना घाइतेको नाम खुलिसकेको छैन ।

उनीहरु केही समय पहिले जडिबुटी खोज्न पाटन गएका थिए । निरन्तर बर्षा भएपछि गाउँफर्कन थालेका उनीहरु पहिरोमा परेका हुन् । बुधवार बिहान पहिरोमा परेका उनीहरुले आफन्तलाई फोन सम्पर्क गरेर जानकारी गराएका थिए । पानी परिरहेकाले मौसम खुलेको छैन । मौसम खुल्ने वित्तिकै उद्धार शुरु हुने स्थानीय प्रशासनले जनाएको छ ।

घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गर्ने तयारी गरिएपनि खराब मौसमका कारण हेलिकोप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी दानबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्