Logo

भीमदत्त नगरपालिकाले दियो मझगाउँ विमानस्थल सञ्चालनका लागि एक करोड



काठमाडौं । मझगाउँ विमानस्थल सञ्चालनका लागि भीमदत्त नगरपालिकाले एक करोड रुपैयाँ जम्मा गरेको छ। लामो समयदेखि बन्द रहेको विमानस्थल संचालनका लागि नगरपालिकाले नागरिक उड्डयन प्राधिकरणसँग गरेको सम्झौताअनुसार रकम जम्मा गरेको हो।

विमान स्थल सञ्चालन गर्न र स्तरोन्नतिका लागि संघीय, प्रदेश र स्थानिय सरकारबीच भएको त्रिपक्षीय साझेदारी बमोजिमको व्यहोर्नु पर्ने रकम रकममध्ये एक करोड रुपैयाँ आइतबार प्राधिरकणको बैंक खातामा जम्मा गरेको हो। बाँकी रकम असोज मसान्तसम्म उपलब्ध गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुष्करप्रसाद भट्टले बताए।

विमान स्थल सञ्चालका लागि भौतिक पूर्वाधार निर्माण गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहबीच गत फागुनमा सम्झौता भएको थियो। सम्झौतामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लगानीको ५० प्रतिशत, सुदूरपश्चिम प्रदेशले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा चाँदनी नगरपालिकाले १० प्रतिशत रकम व्यहोर्ने उल्लेख छ।

‘विमानस्थलका लागि भवन निर्माण, उपकरण जडान, मर्मतसँगै एक हजार ६८५ मिटर रनवे कालोपत्रे गर्ने कार्य अगाडि बढाउन सम्झौता भएको हो,’ भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भने, ‘विमानस्थलको सुरक्षाका लागि तारबार गर्ने कार्य पूरा भएको छ।’

विमान स्थल सञ्चालनका लागि यसअघि सम्भाव्यता अध्ययनको कार्यसँगै लागत अनुमानको कार्य पूरा भैसकेको छ। विमान स्थलको रनवे निर्माण गर्नका लागि ३७ करोड लाग्ने अनुमान गरिएको छ। रनवेको लम्बाई एक हजार ६०० मिटर हुने बताइएको छ।

२०२५ सालमा निर्माण गरिएको विमानस्थल माओवादी सशस्त्र द्वन्द्वका कारण २०५५ सालदेखि बन्द भएको हो।

प्रतिक्रिया दिनुहोस्