Logo

एकान्तबासको सदुपयोग – आफैतिर फर्केर हेर्ने कि ?



बिगत केही समय यता कोरोना महामारी, मानव समाजमा यसले निम्त्याएको बिनाशलिला लगाएतका समाचारहरु सुन्दा, पढ्दा र हेर्दा हाम्रो मन मस्तिष्क र दिमाग नै कोरोनामय भएको छ। हाम्रा अमुल्य जिवन हरु अकालमै यसको मुखमा परिसकेका छन् । राष्ट्रिय जिवनका कतिपय महत्त्वपूर्ण व्यक्तिहरु समेत यसको शिकार बनिरहँदा आफन्तलाई प्रिय मानिस गुमाउनुपरेको पीडा एकातिर छ भने अर्कोतिर देशलाई नै अपुरणिय क्षति हुन पुगेको छ । महामारीको कारण अकाल मृत्यु वरण गर्न बाध्य सबैमा श्रद्धासुमन अर्पण गर्दै हाम्रा अरु जीवनहरु क्षति हुन नपरोस भन्ने कामना गर्दै आजको यो लेख महामारीबाट मृत्यु वरर्ण गर्न बाध्य सबैमा समर्पित हुनेछ। हाल विश्वनै एकजुट भएर यस महामारीको विरुद्ध संघर्षरत छ र पनि यो पराजित हुनु त कता हो कता झन नया नया भेरियन्टका रुपमा अझ बलियो बनेर मानव समुदायमाथि तवाही मचाइरहेछ । यस लेखमा बाच्नका लागि विभिन्न समयमा मानव समुदायले गरेका संघर्ष, महामारीका कारण सिर्जित समस्या तथा एकान्तबासको समयलाई सदुपयोग गर्ने तौरतरिका तथा महामारी अगाडिको हाम्रो जीवन पद्धतिबारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।

संघर्ष

हरेक प्राणीले पृथ्वीमा आफ्नो अस्तित्व कायम राख्नको लागी संघर्ष गर्नुपर्छ, डार्विनको जीव बिकासको सिद्धान्तले त्यसै भन्छ। बैज्ञानिकहरुका अनुसार पृथ्वीमा लगभग दुई अर्ब बर्ष पहिलेबाट प्रारम्भिक जीवहरुको उत्पत्ति भयो । त्यसयता यस पृथ्वीमा पैदा भएका हरेक जीवजन्तु बाच्नका लागि कुनै न कुनै तवरबाट संघर्षरत नै छन् । यस्तै संघर्षबाट डाइनोसर जस्ता भिमकाय जीवहरु धर्तीबाट लोप हुन पुगे भने कुनै जिवहरु अस्तित्वमा आए। पृथ्वीमा मानिसको प्रादुर्भाव भएको लगभग एकलाख बर्ष भएको मानिन्छ, त्यसयता विभिन्न कालखण्डमा मानिसले अनेकौ किसिमका महामारी, रोग, विश्वयुद्ध , खाद्यान्न संकट, सुनामी, भुकम्प , बाढी पहिरो लगाएत मानव सृजित तथा प्राकृतिक बिपत्तिहरुसग संघर्ष गर्दै , हजारौं हन्डर, ठक्कर खादै र यसलाई झेल्दै यहाँसम्म आएको छ। जसरी हिमाली गोरेटोबाट सुरु भएको एउटा नदिको यात्रा समुन्द्र सम्म पुग्दा त्यसले कति संघर्ष गर्नुपर्दो हो,कति गल्छी र कन्दराहरु पार गर्नुपर्दो हो, कति पहाड फोर्नुपर्दो हो ? के हाम्रो जीवन पनि यस्तै संघर्षकै अर्को नाम त होइन कतै ?

यसै सिलसिलामा आज फेरि पृथ्वीमा निवास गर्ने विश्वको सिङ्गो मानव समुदाय धर्तिमा आफ्नो अस्तित्व कायम राखिराख्न कोरोना नाम दिइएको एउटा अति सुक्ष्म जीवाणु विरुद्ध अलग्गै प्रकारको संघर्ष गर्दैछ। बाच्नको लागी यो पुस्ताको मानिसले गर्नुपरेको अनेकौं संघर्ष मध्ये यो अलि अनौठो छ, यो संघर्षमा मानिस युद्धको मैदानमा पक्ष विपक्ष भइ आधुनिक हातहतियारद्वारा आफू आफू लडिरहेको छैन । बरु नदेखिने जीवाणु विरुद्ध एक मानिस अर्को मानिस बिच सामाजिक दुरि कायम राख्दै आफ्नै घर भित्र लुकेर लडिरहेको छ। यसलाई अझ जोड दिएर भनौ, हामी घरभित्रै छौ किनकी हामिलाइ बाच्नु जो छ । समग्रमा जीवन जिउने जिजिविषाले वाह्य जगतका सारा काम छोडेका छौ । काम गर्नुनपरेका कारण हामीसग हिजोको भन्दा अतिरिक्त समय छ । यसप्रकारको अतिरिक्त समय हामीसित कहिल्यै थिएन। समयले हामीलाई समय नै उपहार दिएको छ । यो अनौठो संयोग हुन सक्छ, त्यसैले यो समयलाई भरपुर सदुपयोग गरौं । हाल हामीसँग अतिरिक्त समय छ, समयले केहि समस्याहरू पनि खडा गरेको छ ।

समस्या

मानिस एक गतिशील र चेतनशील प्राणी हो उ एकै ठाउँमा गतिहीन भएर एकछिन पनि बस्न सक्दैन, तर समयले आज हामीलाई त्यस्तै बनाइदिएको छ, समयलाई पल, सेकेन्ड, मिनेट, घन्टा आदिमा बिभाजन गरेर घडीभित्र कैद गरि आफ्नो नाडीमा सिमित गरिदिएको मानिस आज आफै समयको कैदमा परी घरभित्रै थुनिनुपर्दा एकातिर सारा दैनन्दिन कार्य , पेशा व्यवसाय, जीवन गुजाराका माध्यमहरु बन्द भएको र अर्कोतिर यो महामारीको चपेटामा परि आफू पनि कुन दिन यसको सिकार बनिने हो कि भन्ने अज्ञात भयले मानसिक तनाव र चिन्ता बढ्न गै आत्माबल कमजोर हुनपुग्दछ । अनिश्चित कालसम्म एकै स्थानमा बिनाकम रहनुपर्दा खाली दिमाग सैतानको वास भनेझैं मानिस नैराश्यता, छट्पटी पैदा हुनगइ अनेकौँ मानसिक रोग, डिप्रेसन आदिको शिकार बन्न बाध्य हुन्छ, फलस्वरूप मानिस आत्महत्या जस्तो डरलाग्दो बाटो समाउन पुग्दछ , पछिल्लो समयमा आत्महत्याको दरमा वृद्धि हुनुको मुख्य कारण यिनै हुन ।

समस्याहरू निराकरणका उपायहरू

हाम्रो देश पुर्वीय दर्शनको उद्गम स्थल हो । हामीलाई हाम्रा ऋषि मुनि तथा पुर्वजहरुले बिराशतको रुपमा स्व-अनुभवद्वारा प्रतिपादन गरेका बेजोड ध्यान, योग, साधाना तथा मनलाई शान्त राख्ने अनेकौ तौरतरिका अमुल्य निधिको रुपमा दिएका छन् । हामी तिनै उपाय अवलम्बन गर्दै आफ्नो जीवन सकारात्मक मार्गमा लैजान सक्नेछौ । मनलाई यति दर्हो बनाउ कि आफू भित्रको शान्ती र आफ्नो अवस्थितिलाई जस्तोसुकै परिस्थितिले पनि खलबल्याउन नसकोस, जसरी पहाडी कन्दराबाट निस्केर वेगले गडगडाउदै नदि समुन्द्रलाइ भेदन गर्न पुग्छ तर समुन्द्र त्यसबाट किन्चित पनि प्रभावित नभै बहन्छ आफ्नै लयमा, हामी समुन्द्र बनिदियौ। हामीले हाम्रो दिमागमा कुनै पनि किसिमका नकारात्मक सोच आउन नदिनु नै उत्तम हुन्छ। अनावश्यक चिन्ता बिल्कुल लिनुहुदैन, हरेक परिस्थितिमा शान्त र धैर्य रहने कोशिस गर्नुपर्छ। भगवान कृष्णले गितामा भन्नुभएझैं भोलिको कुनै भरोसा छैन । अनिश्चित भविष्यको चिन्ताले वर्तमानलाई किन निराश तुल्याउने, भोलि के होला आज त्यसको चिन्ता गर्नु बेकार छ, हामीले बाचेको वर्तमानलाई सुन्दर बनाउनेतर्फ प्रयत्नशील हुनुपर्छ । जीवन वर्तमान पलहरुमा खोज्न सकिन्छ। हामिले यो बुझ्न जरुरी छ कि यहाँ जे जति भैरहेको छ सबै वर्तमानमै भैरहेको छ। भुतकाल डरलाग्दो छ, भविष्य भ्रम हो । वर्तमान यथार्थ हो। वर्तमानमा निस्फिक्री जीवन जिउन सकियो भने जीवन जिउन जानियो। त्यसैगरि प्रयाप्त आराम, ध्यान-योग साधना,शारीरिक ब्याम, मनोरञ्जन, सन्तुलित खानपिनतर्फ ध्यान दियौं भने हामी मानसिक तथा शारीरिक रुपले बलियो बन्नेछौ । ध्यान र योगले मन र शरीरलाई जोड्ने काम गर्छ भने सन्तुलित खान र मनोरञ्जनले शरीरमा बल तथा सकारात्मक उर्जा पैदा गर्छ, अनिमात्र हामी यो प्रतिकुल परिस्थितिलाई आफू अनुकुल बनाउन सक्नेछौ ।

त्यसैगरी आफुलाइ चाख लाग्ने विभिन्न दर्शन र बिचारका पुस्तक पढेर यो समयको सदुपयोग गर्न सक्छौं, हिन्दु दर्शनमा आधारित पौराणिक ग्रन्थहरु रामायण, महाभारत, गिता, लगाएत भौतिकवादमा आधारित अन्य उत्कृष्ट पुस्तक अध्यन गर्न सकिन्छ यी पुस्तक अध्यनले जीवन र जगतलाई हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन गर्न मद्धत गर्दछ, ज्ञान बिज्ञानका बारेमा बुझ्न सहयोग पुर्याउँछ । जीवन जगत,अध्यात्म ,ईश्वर ,परमार्थ , ब्रह्माण्ड, ब्राह्मणको सृष्टि , प्रकृतिको अनेकौ आयम र तिनिहरुको जटिल रहस्य बुझ्न सहज हुन्छ । पहिले सत्य र अकाट्य ठानिएका कतिपय धारणा उपर सन्देह गर्न सिकाउँछ । तुलनात्मक विश्लेषण गर्ने क्षमता दिलाउछ। त्यसैगरी अध्यात्मको अध्यनले भौतिक सन्सारको नियमलाइ बुझ्दै आत्मिक उन्नतिका मार्गमा आफुलाइ अग्रसर गराउन सहयोग पुर्याउछ, साथै आत्मिक चिन्तन मनन तर्फ लाग्न उत्प्रेरित गर्दछ, आफुभित्र रमाउन सिकाउछ । आफुतर्फ फर्केर हेर्न सिकाउछ, मानिस जब आफुतर्फ फर्किन्छ अनि अनेकन प्रश्न र त्यसका स्वाभाविक र जटिल उत्तर आफू भित्रैबाट पाउछ र अपार आनन्दको महसुस गर्न थाल्छ। भौतिक उन्नति मात्रले हामिलाइ त्यो परम आनन्द बिल्कुल दिदैन।

हिजोलाई हेरौं

हामीसग प्रचुर समय छ, यो समयमा हामीले हिजो बाचेको जिवनलाइ मुल्यांकन गर्दै र विश्लेषण गर्दै एक पटक आफू तर्फ फर्कौ न । अनि विगत र ती दैनिकीलाई आँखा चिम्लेर राम्रोसँग नियालौ त। हिजो अस्ति हामी यति व्यस्त थियौ कि क्षणिक रुपमा मिल्ने भौतिक सुख सुबिधा प्राप्ति हेतु दिन रात भाग दौड, कुदाकुद न खानाको टुंगो न सुत्नको टुंगो । खाली आफ्नो पेशा व्यवसाय, जागिर ,नोकरी, काम, पैसा धन सम्पती सङ्ग्रह, तेरो मेरो, माया मोह, लोभ लालच, ईष्र्या, घमण्ड, तछाड मछाड आदि । न आफ्ना आफन्त लाई समय दिन सकिएको छ न परिवार सग समय बिताउन पाएको छ । ‘जीवन भन्दा माथी आमा बुबाको लागि गरिने त्याग छ’ हामीमा त्यो त्याग त परै जावस, आफ्ना जन्म दिने बाबु आमा सग एक दिन फुर्सदले कुराकानी गर्ने ,उनिहरुको सुखदुःख, पिर मर्का, इच्छा चाहनाबारे सोध्ने फुर्सद छैन । जन्म दिने आमालाई छोरो आज त एकैछिन मेरो काखमा ढल्कियोस र म उसलाई प्यारभरी माया पोख्नेछु भन्ने चाहाना छ। आफ्नी श्रीमती र छोराछोरीलाई आफ्ना बाबासगै खाना खाने र सुखदुःख साट्ने इच्छा छ । तर हामिलाइ भने सधै हतार छ, जाने चाहिँ कता हो केही थाहा छैन । साच्चै भन्ने हो भने भौतिक सुख सुबिधा र साधन श्रोत सङ्ग्रह गर्ने अतृप्त चाहानाले हामिलाइ स्वार्थको यस्तो जञ्जालमा फसाइसकेको थियो कि हाम्रो हृदय बाट मानवता मरिसकेको थियो । के असल के खराव , को आफ्नो को बिरानो , कुन उचित कुन अनुचित भन्ने भेद पर्गेल्न समेत नसक्ने भैसकेका थियौं । यो भागदौडको जिन्दगीमा हामीले आफुतर्फ फर्किएर सोच्न भ्याएनौँ ।

भौतिक जगतको यो चमक दमक , माया, मोह, सुख सयल र भोग बिलासले मानिसलाई कतिसम्म मदहोश बनाउछ भन्ने कुरा बुझ्न पौराणिक कालको यो कथा राम्रो उदाहरण हुन सक्छ । एक समयका प्रतापी चन्द्रबंशि राजा पुरुरवा स्वर्गकी अत्यन्तै सुन्दरी अप्सरा उर्वशीको मोहपाशमा परेछन र उनिसग बिबाहको प्रस्ताव राखेछन् । उर्वशीले पनि आफ्ना केही शर्त मानेको खन्डमा बिबाह गर्न मन्जुर गरिछन । अप्सराको सुन्दरतामा पागल झै बनेका राजाले उनको सबै सर्त मानेर बिबाह पनि गरेछन्। एकदिन राजा पुरुरवाले शर्त उलंघन गरेकोले उर्वशीले छोडेर जान लाग्दा उर्वशीको प्रेममा लट्ठ राजा नाङ्गै रानीका पछि पछि लागेछन । अब हेरौं यो माया मोह र तृष्णाले मानिसको हालत कस्तो बनाउछ। शक्तिशाली सम्राट् जसलाई यो माया मोहको बन्धनले नाङ्गै बनायो। हामी पनि आज राजा पुरुरवाकै हालतमा छौं जुनसुकै शर्तमा हामीलाई भौतिक सुख सुबिधा चाहिएको छ। शारीरिक सुखभोग, मोजमस्ती, सुरा सुन्दरीको अतृप्त चाहानाले हामीलाई सदैव आकर्षित गरिरहेको हुन्छ । हामीलाई बङ्ला गाडी चाहिएको छ, अकुत धनसम्पती चाहिएको छ। तर शान्ति र आनन्द तुच्छ यिनका अगाडी तुच्छ हुन पुग्यो। ती चिज वस्तु पाउनको लागि हामीले कतिपय अवस्थामा आफ्नो इमान र नैतिकतालाई पनि बन्धक बनाउन पुग्यौं होला, पद र शक्तिको दुरुपयोग गर्यौ होला। क्षणिक सुख सुबिधाको स्वार्थान्धले कलुषित हुन पुग्यौं होला तर अरुको भलाइ हेरेनौ। मानव कल्याणका खातिर अलिकति पनि सोचेनौ। हामीलाई आफ्नै मृत्युले शिरमा आइ घण्टी बजाउदा पनि होस खुलेन, यहि होइन हाम्रो हिजोको दैनिकी रु आखै अगाडि यत्रो नरसंहार र मृत्युको तमासा चलिरहदा अब पनि हामिले जीवन जिउने तौरतरिकामा फेरबदल ल्याउन सकेनौ भने पश्चाताप गर्ने पनि समय पनि नमिल्न सक्छ ।

आफैतिर फर्केर हेरौं न

फेरि अर्को एक पटक बिल्कुल आफू तर्फ फर्कौ र केही प्रश्न आफैले आफैलाइ गरौं, जीवन लाई अझ नजिकैबाट नियाल्ने कोशिश गरौं । हिजोको दिनहरूमा मैले सम्पादन गरेको हरेक क्रियाकलाप मानव हित र भलाइका मार्गमा अग्रसर थिए कि थिएनन् ? मानव जातीको अग्रगमनमा मेरो योगदान कस्तो रह्यो ? प्रकृतिबाट मैले ज्ञान र विवेक सहितको जीवन त पाए तर यो मेरो चेतना कस्तो कार्यमा प्रयोग भयो ? मैले परउपकारमा आफुलाइ कति लगाएछु, मेरो कारण अरुको जीवन जिउन सहज असहज के भो ? मेरो बुद्धि बिवेक मानव मात्रको हितका पक्षमा हुन सक्यो या अहितमा ? यस दुनियाँले म बाट राम्रो के पायो र मैले के सिके ? कि कतै म अन्य पेटु प्राणी झै जन्मेर जीवन गुजाराको लागि सामान्य दैनिकीमा मात्रै आफ्नो अमुल्य जीवन खर्च गरिरहेको त छैन ? खाने र सन्तानोत्पादनको मेलोमेसो त अरु प्राणी ले पनि गरिरहेका छन् , जीवन त तिनीहरुले पनि बाचिरहेका छन् । जिवनको अर्थ यतिमै सिमित कदापि छैन। अथ! जिवनको अर्थ यतिमै खोज्ने हो भने त्यो जीवन को सार्थकता बाकी छैन । किनभने आज विश्वका अनेकौ महान मानिस जो जो छन यदि ती मानिसले आफ्ना लागि मात्रै बाचिदिएका भए हामी पक्कैपनी यो सहज जीवन बाच्न पाउने थिएनौ । उदाहरणको लागि हामो देशका गौतम बुद्धले दरवारको सुखसयल त्यागेर नगएको भए, भारतका महात्मा गान्धिले अंग्रेजविरुद्ध अहिशात्मक आन्दोलन नगरेको भए, दक्षिण अफ्रिकाका नेल्सन मन्डेलाले रङभेदी आन्दोल नगरेको भए, अल्वर्ट आइस्टाइन्टले गणितको सुत्र e=mc2 पत्ता नलगाइदिएको भए , थोमस अल्वाले बिजुलीको आविस्कार नगरेको भए , जेम्स वाटले वाष्प इन्जिन पत्ता नलगाएको भए रु हामी कल्पना गरौं त आज जुन जीवन बाचिरहेका छौं यसमा तिनै महामानवहरुको जिवनको सम्पुर्ण समय, मेहनत परिश्रम र उर्जा खर्च भएको छ, मानव भलाइका खातिर बितेको छ। यी बिषयमा गम्भीर भएर आफ्नो आत्मा समिक्षा गरौ, प्रकृति ले हामीलाई चेतना सहितको उत्कृष्ट मानव जीवन उपहारमा दिएको छ, त्यो चेतना पृथ्वीका अन्य प्राणीमा छैन यस हिसाबले हामी भाग्यमानी सम्झनुपर्छ र त्यो चेतनालाई यस जगतको भलाइमा खर्च गर्नुपर्दछ। प्राणी मात्रको हित र परउपकारमा लगाउनुपर्छ ।

सबैभन्दा ठूलो कुरा यो धर्तीमा जीवन जिउन आवश्यक पर्ने प्रमुख कुरा भनेको भातृत्व,भाइचारा र मानवता हो। हामीभित्र मानवताको त्यो बिराट भावना छ कि छैन त्यो हेरौ र छैन भने कसैगरी फर्काउ त्यसलाइ र पुर्ण मानव बनेर बाच्ने कोशिस गरौं । खुसी साथ जीवन बाच्न अर्को प्रमुख तत्व शान्ति र आनन्द हो, यी दुबै अभौतिक वस्तु हुन , भावनात्मक कुराहरू हुन । जुन बजारमा पैसाले खरिद गर्न सकिने बिषय होइन। यिनिहरु आफै भित्र छन् ,यिनको खोजी गरौं । भौतिक उन्नति मात्रले हामिलाइ त्यो परम आनन्द बिल्कुल दिदैन, दिएपनी त्यो अस्थायी प्रकृतिको छ, स्थाइ रुपमा प्राप्त हुने आनन्द र आध्यात्मिक उन्नतिलाई हृदयमा स्थापित गर्दै मानव कल्याणको लागि आफ्नो जीवन समर्पण गरेर बाचौ त्यो जति परमार्थ अरु के हुनसक्छ र । अन्तमा जिवनलाइ अझ नजिकबाट नियाल्दै र आफ्ना कमिकमजोरी सच्याउदै बाच्ने कोशिश गरेको खन्डमा महामारीको प्रकोपका बिचमा पनि अरु सुन्दर जीवन जिउन सक्नेछौ ।

प्रतिक्रिया दिनुहोस्