Logo

पर्यटकको प्रतिक्षामा सन्दकपुर



ईलाम । पूर्वी ईलामको सदरमुकाम बाट ३६ किलोमिटर उत्तरमा पर्ने पर्यटकीय स्थल सन्दकपुर यतिवेला सुनशान छ । कोरोना महारीमा कारणले निम्याएको असरले सन्दकपुर पनि अछुतो छैन । इलाम जिल्लाको सन्दकपुर गाँउपालीका पर्ने यो ठाँउ प्रकृतिक रुपले पनि अलौकीक छ । यस ठाउँबाट कुम्भकर्ण, मकालु हिमालको मनमोहन दृश्यका साथै  नेपाल, भारत, भुटानका विभिन्न भाग मज्जाले नियाल्न सकिन्छ।

यहाँ  बसन्त र  शरद ऋतुमा नेपाल  भारत, भुटान, पाकिस्तान, अमेरिका, युरोप लगायतका हजारौं पर्यटन आउने गरेका छन् । समुन्द्र सतहबाट ३६३६ उचाईमा रहेको सन्दकपुर क्षेत्र दुर्लभ बन्यजन्तु र सुन्दर चराचुरुङ्गीको बासस्थानको रुपमा पनि चिनिने गर्दछ ।

विश्वमै सबैभन्दा महंगो मानिएको रेड पाण्डा पनि यहि क्षेत्रका बनजंगलमा पाईने गर्दछ । सन्दकपुर २८ प्रकारका लालिगुरास ,विभिन्न जडिबुटीको भण्डार पनि हो । सूर्योदय ,सूर्यास्त आँखै आगाडी हेर्न मिल्छ सन्दकपुरबाट ।

तर यतिबेला भने सन्दकपुरले पर्यटकलाई स्वागत गर्न सकेको छैन । यहाँ बनाईएका होटल अनि लजहरु यतिबेला ठप्प छन् । सफा मौसम र घमाईलो वातावरण चैत बैशाख र जेठ पर्यटक धेरै आउने महिना हो तर यस अघि पनि यहि समयमा कोरोना संक्रमणका कारण देश लकडाउनमा गएपछि यस क्षेत्रको पर्यटकीय आम्दानी २ वर्ष नै रोकियो ।

“पर्यटक शुन्य बराबर छन् बिगत २ महिना अगिबाट सन्दकपुर घुमाउनलाई पर्यटक लैजान सकिएको छैन” प्रायजसो नेपाल तथा भारतबाट सन्दकपुर घुमाउन लैजाने डि.डि ट्राभल्स एण्ड टुर्सका संचालक दिपक दाहाल बताउछन् । इलाम माईजोगमाई बस्ने उनि घरमै सिमित भएका छन् । उनि भन्छन् – मासिक ७-८ समूह पर्यटक त ट्राभल्स एण्ड टुर्सकै माध्यमबाट लैजाने गर्थे अहिले काम ठप्प भयो ।सन्दकपुरको बेसक्याम्प मानिने कालपोखरीमा होमस्टे गर्ने छेत्तन सेर्पाले पनि पर्यटक नभएर होमस्टे नै बन्द गर्नुपरेको गुनासो पोखे । सधैँ यस समयमा होमस्टे भरिभराउ हुन्थ्यो कत्तिलाई त बस्ने ठाउँ नै छैन भने फर्काउनु पर्थ्यो अहिले भने ताल्चा लगाएर बस्नुपरेको छ ।

सन्दकपुर भ्रमण आसपास नै रहेका अन्य धार्मिक तथा पर्यटकीय स्थलमा पनि पर्यटक छैनन् । पर्यटक लिएर सन्दकपुर जाँदा बाटैमा पर्ने माईपोखरी अनि टोड्के झरनाले पनि आफ्नो सौन्दर्यता पर्यटकलाई देखाउन पाएका छैनन् ।

दिपक अनि छेत्तेन कोभिड नियन्त्रणको पर्खाईमा छन् । तर अब असार साउनमा बर्खा लाग्ने भएकाले दशैँ आसपास सम्म सन्दकपुर एक्लो बन्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्