Logo

हात थियो गिटार थिएन, गिटार छ हात छैन–टिका बम्जन



                  

काठमाण्डौ । मानिस पुर्ण हुनका लागि शारिरिक रुपमा पनि पुर्ण हुनु पर्दछ भन्ने आम मान्यता छ । शारिरिक रुपमा पुर्ण मानिसले मात्रै जीवनलाई सार्थक बनाउन सकिन्छ भन्नेमा चाहिँ पुर्ण सत्यता छैन । शरिरका हरेक अंगहरु ठिक भएका मानिसले समाजमा अनुकरणीय काम गर्नु सामान्य नै हो तर जब शारिरिक रुपमा अपुर्ण मानिसहरुले अनुकरणीय कार्य गर्दछ, त्यसलाई असाधारण मानिन्छ । उदाहरण बन्दछ, नयाँ मुल्य मान्यता समाजमा स्थापित हुन्छ । समाजमा नयाँ मनोविज्ञानको निर्माण हुन्छ । कतिपय खराब विश्वासहरु हराउछन् पनि ।

जीवनमा केही चिज गुमाउदैमा भएका सबै थोक बिर्सनेहरुका लागि, शारिरिक रुपमा पुर्ण भएर पनि अपुर्ण जीवन बाँचिरहेकाहरुका लागि, अथवा भनौ हात भएर पनि अरुको साथ विना बाँच्न नसक्नेहरुका लागि गतिलो उदाहरण हुन् गीतकार, गायक तथा संगितकार टिका बम्जन । उनको परिचय यतिमै सिमित कहाँ छ र ? एक राष्ट्रसेवक सपुत पनि हुन् टिका बम्जन ।

कसैले सफलता प्राप्त गरेको देखेमा उसको सफलतामा फलानोको हात छ भन्छौं हामी । कहीले काहीँ, फलानोको साथ छ पनि भन्छौं हामी । किन की हात र साथ एक अर्काका परिपुरक भनेर बुझेका छौैं हामीले ।

हात नै नभएकाले के नै पो गर्न सकिन्छ र ? हाम्रो बुझाई । तर यस किसिमको मानसिकता बोकेकाहरुका लागि गतिलो झापट हो टिका बम्जन ।
आफना दुवै हात छैनन् तर राष्ट्रको सुरक्षामा अहोरात्र खट्छन् उनी । देश र जनताको सुरक्षाकै क्रममा दुवै हात काटिदा पनि अविरल सेवा गरिरहने राष्ट्रका सच्चा सपुत हुन् टिका बम्जन ।

२०३७ साल कात्र्तिक १६ गते सर्लाहीमा जन्मिएका बम्जन सानै उमेरदेखि राष्ट्र सेवक बन्ने सपना बोकेर हुर्केको बताउँछन् । उनी भन्छन्–‘नेपाली सेना बनेर राष्ट्रको सेवा गर्ने इच्छा सानैदेखि पलायो।’ नेपाली सेना बनेर देश र जनताको सेवा गर्ने सपना देख्नुको कारण पनि गज्जवकै छ—बम्जन भन्छन्–‘आफु पनि बाँच्ने र राष्ट्रको सेवा पनि गर्ने गज्जवको बाटो नेपाली सेना बन्नु नै थियो । आफुलाई समाज र देशको सेवा गर्ने रहर पनि भएको र बाँच्नका लागि पैसा पनि चाहिने भएर नेपाली सेना बनेको हो ।’

पाखुरीमा बल, मनमा अदम्य जोस जाँगर अनि शरिरमा फुर्ती भएको १९ बर्षको उमेरमा २०५६ मा नेपाली सेनामा भर्ती भए उनी । सेना बनेर राष्ट्रको सेवा गर्ने टिकाको सपना पुरा हुदैँ थियो ।

तर दुर्भाग्य २०५९ साल मंसिर १३ गते बम्जनको सपना, खुशी अनि जीवनमा कालो बादल मडारियो । देशमा द्धन्दकाल थियो । तत्कालीन विद्राही माओवादीसंगको सामान्य मुठभेठपछि भत्केको टहरा सफा गर्ने क्रममा विजुलीको तार समाउन पुग्दा करेन्ट लागेर घाइते भएपछि उपचारको क्रममा दुवै हात काटिए ।

‘द्धनद्धकालको शिकार म पनि बने’, सेना बनेको तीन बर्ष पछि २१ बर्षको उमेरमा कर्तव्य पालनाकै क्रममा दुवै हात गुमाउनु परेको पिडो पोख्दै बम्जनले भने–‘जीवनको सबैभन्दा उर्वर उमेर र समयमा दुवै हात गुमाउनु पर्दा बाँकी जीवनको कल्पना गर्न सम्म पनि जो कसैले सक्दैनन् । मेरो लागि पनि त्यो जीवनको कालो दिन नै थियो । जीवनलाई यत्तिकै विसाइदिँउ जस्तो पनि लागेको थियो तर हात बाहेक म सँग अरु सबै बाँकी नै थियो । छोडेर जान सकिन ।’

उनले फेरी दोहा¥याए–‘मैले हात मात्रै गुमाएको हो, हात बाहेक अरु सबै चिज बाँकी थियो मसँग, त्यसैले मर्न सकिन ।’ यस्तो विचार मनमा आएको दिनलाई आफनो पुनर्जन्म भएको मान्छन् उनी । भन्द्धछन्–‘जब मैले हात बाहेक अरु भएका चिजहरु सम्झिन थाले, तव ममा बाँच्ने रहर पलाएर आयो ।’

राष्ट्रको सुरक्षामा खटिएका बम्जनले दुवै हात गुमाए । बन्दुक बोकेर देशको सुरक्षा गर्ने एउटा सिपाहीका लागी बन्दुक समाउने दुवै हात गुमाउनु पर्दाको पिडा कल्पना गर्न पनि गाह्रो हुन्छ । तर टिकाले भोगे, पचाए अनि निरन्तर हिँडिरहे गन्तव्यतिरै ।

त्यो घटनाले टिकालाई शारिरीका रुपमा बदले पनि मानसिक रुपमा भने बदल्न सकेन । शारिरिक रुपमा कमजोर बनायो तर मानसिक रुपमा झनै बलियो बनाएको बम्जन बताउँछन् । झमक कुमारी घिरिमिरे, सुदर्शन गौतम जस्ता व्यक्तिहरुबाट आफुले प्रेरणा पाएको बताउँछन् उनी ।

सानैदेखि गीगसंगीतमा आफुलाई रुचि भए पनि आर्थिक अभावका कारण संगीतको क्षेत्रमा होमिने अवसर नमिलेको बताउने टिका घटनापछि भने मुखले कलम समाएर गीत लेख्न थाले । आफना जीवनका पिडाहरुलाई गीतसंगितको माध्येमबाट पोख्ने निर्णय गरी यस क्षेत्रमा होमिएका टिकाको यात्रा पिडा बिसाउने चौतारीमै सिमित कहाँ भयो र ? बरु मुखले कलम समाएर सर्वाधिक गीत लेख्ने गीतकारको विश्व रेकर्ड सम्म पु¥यायो ।


बम्जनले सन् २०१२ मा एकै चोटी मिराकल वल्र्ड रेकर्ड, युनिक वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्ड गरी तीन वटा विश्व रेकर्ड प्राप्त गरे ।

मुखले कलम समाएर गीत लेख्नु आफैमा चुनौति भए पनि आफुले यसलाई निरन्तरता दिएकोले आफनो यात्रा गिनीज बुक अफ वल्र्ड रेकर्ड सम्म पुगेको टिकाको भनाई छ । उनी भन्छन्–‘जहाँ चुनौति छ, त्यहाँ सफलता पनि छ ।’

हात नभएका टिकाका लागी गितसंगितको यात्रा भने सहज कहाँ थियो र ? भावुक हुँदै उनी भन्छन्–‘जति बेला मसँग हात थियो, त्यतिबेला मसँग एउटा गिटार पनि थिएन । तर जति बेला मसँग गिटार भयो तर बजाउने हात भएन ।’

टिकाको शब्द, संगीत र स्वरमा हालसम्म तीन सय भन्दा बढी गीतहरु नेपाली सांगितिक बजारमा आइसकेका छन् । नेपाली आधुनिक, तामाङ सेलो, पप, लगायत सबै विधाका गीतहरु लेखन गायन र संगित भर्नमा दखल राख्ने बम्जनको सांगितिक उचाई नेपाली सांगितिक बजारमा चुलिंदो छ ।
दर्जनौ देशहरुमा सांगितिक प्रस्तुती दिईकेका उनी हाँस्दै भन्छन्–‘मैले बाँचेर गज्जव गरेछु ।’ पछिल्लो समय आफुलाई गीतकार, संगीतकार भन्दा पनि गायकको रुपमा चिन्न थालेको बताउँछन् टिका ।


“कस्तो भाग्य” नामक गीति एल्बम बाट गीतसंगितको क्षेत्रमा हाम्फाल्नु भएका बम्जनको ‘छाँगाबाट झर्न झ¥यो’ कर्णदास २०६०, ‘मा¥यो मलाई मायाले मा¥या’े इश्वर अमात्य २०६०, ‘दुखै दुख पाए’ जगदिश हमाल २०६०, ‘बारा प्रिय बारा, काँडे तारले बारा’ अञ्जु पन्त २०६३, ‘तिमी मेरो हुनै पर्छ भन्ने भनेको पनि होइन’ २०६६, ‘मेरी सान’ु प्रमोद खरेल २०६८, ‘रोशी खोला’ शिव परियार २०७१, ‘फुलबारीमा फुल फुल्या’े २०७३, आदि चर्चित गीतहरु हुन् ।

देशका सुरक्षार्था खटिएकै ठाउँमा हात गुमाए, तैपनि टिका लेख्छन्–‘माटोले माग्दैन आफै दिनु पर्र्छ ।’ उनको यो गीतले चर्चा त कमायो नै उनको सांगितिक उचाई चुलिँदै गयो । उनको यो सिर्जनाबाट नै थाहा हुन्छ उनको राष्ट्रप्रेमको हुटहुटी ।

हातमा बन्दुक बोकेर राष्ट्रको सुरक्षामा खटिएका सेनाहरुका लागी टिका बम्जनको गीत नै उर्जाको स्रोत बनेको पुर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रि बताउँछन्–‘टिका जी को ‘माटोले माग्दैन, आफैले दिनुपर्छ’ भन्ने गीत सुनेपछि म उहाँबाट प्रभावित भएँ’, क्षेत्रि अगाडी थप्नछन्–‘उहाँको बन्दुक बोकेर अगाडी जान सक्नुहुन्न तर बन्दुक बोक्नेहरुलाई उर्जा दिनु भएको छ ।’

‘संगितको सिर्जना हातबाट नभई आत्माबाट हुन्छ । टिकाको हात छैन तर संगितमय आत्मा छ’, वरिष्ठ अरेन्जर तथा संगितकार उत्तम लामा बताउँछन्–‘टिका बम्जन साँच्चैको कलाकार हो ।’

टिका बम्जनले प्राप्त गरेको सांगितिक उचाई लोभ लाग्दो नै छ । यस क्षेत्रमा लाग्ने जो कसैलाई पनि बम्जन प्रेरणाको स्रोत बनेको छ । पछिल्लो समय निकै चर्चा बटुल्न सफल गायक सुरेश लामा पनि टिका बम्जनबाट नै प्रभावित भएर संगितको क्षेत्रमा होमिएको बताउँछन् । उनी थप्छन्–‘टिका दाईको प्रेरणाले नै म यस क्षेत्रमा आएको हूँ, मैले जेजति प्राप्त गरेँ, उहाँकै देन हो ।’


‘टिका बम्जन गुलाफको फूल जस्तै हो’, गीतकार, गायक तथा संगितकार जीवन लामा भन्छन्–‘काँडै काँडाका बीच पनि ढकमक्क फुलेका छन् ।’

टिका बम्जनले शारिरीक अपुर्णताका वावजुद पनि आफनो जीवनलाई सार्थक बनाए । यति मात्र नभएर जीवनको पुर्णता र सार्थकताको परिभाषा पनि बदलेका छन् । जीवन जीउने क्रममा मानिस लड्न सक्छन् तर उठेर हिन्नु पर्छ । केही कुरा गुमाउछन् तर अरु धेरै कुराहरु बाँकी नै रहका हुन्छन् । गुमाएको कुरामा भन्दा बाँकी रहेको कुरामा ध्यान दिन सके जति पटक लडे पनि उठ्न सक्ने उनको जीकीर छ ।

अन्त्यमा उनी भन्छन्–‘मानिसहरु जीवनमा हार्न सक्छन् तर जब सम्म हार स्विकार्दैन तब सम्म सफलताको ढोका खुल्लै रहन्छ । मानिसहरु पटक पटक लड्न सक्छन् तर उठ्ने कोसिस जारी रहुन्जेल गन्तव्य टाढा भाग्दैनन् ।’

जीवनले लडाए , तर उठेर हिँडिरहे । शारिरिक रुपका केही कमजोेर बन्न पुगे तर मानसिक रुपमा विचलित भएनन्, र त बन्न सफल भए आजको टिका बम्जन । अनि हात नभए पनि उठाउन सक्छन् जीवनहरु, हात नभए पनि दिन सक्छन् सहाराहरु, अनि प्रमाणित गर्न सक्छन् आफनो अस्तित्वका कारणहरु ।

उम्रने विउ पत्थर फोडेरै उम्रन्छन्, संसारका लागि ल्याएको कलारुपी उपहार छाडेरै जान्छन् । जसका लागी सकारात्मक सोच, आशा अनि लगनशिलता अनिवार्य सर्तहरु हुन् ।

प्रतिक्रिया दिनुहोस्