Logo

युवा पुस्ता नेताहरुको पुच्छर होइन, दिमाग बन्नुपर्छ



मूलतः राजनीतिमा युवाहरु को वितृष्णा बढ्दै गएको छ । राजनीतिमा युवाको संलग्नता ज्यादै कम छ । राजनीतिक दल सँग आबद्द युवाहरु क्रान्तिको चाहना भन्दा पनि कुनै न कुनै स्वार्थ लिएर बसेको देखिन्छ । युवा शब्द बिशेष गरी उमेरलाई दर्शाउछ , तर राजनीतिमा सोच र जनता को सेवा को प्रतिनिधीत्व गर्ने लाई युवा मान्दा उचित होला । युवा शब्दलाई समय सँगै परिवर्तन हुने मानिए को जमात पनि मान्न सकिन्छ । सिङ्गापुरका लीह्सिएन लूङ उनको जनताप्रतीको प्रतिबद्दता , सेवा र युवा सोचले चर्चित छन । युवा भनेका देशका कर्णधार हुन् । परिवर्तनका संवाहक हुन् । उर्जा, आँट र साहस भएका जनशक्ति हुन् । देशका कर्णधार युवा, जोश र उर्जा भएका युवा आज घण्टौं परराष्ट्र मन्त्रालयमा पासपोर्टको लाइनमा बसेर आफ्नो उर्जा र साहसलाई उपयोग गरिरहेका छन् । दैनिक १०००–१२०० उर्जाशिल युवा विदेश पलायन भइरहेका छन् । ती युवाहरुको उर्जालाई उपयोग गर्नको लागि देशको नेतृत्व पंक्ति रत्तिभर पनि अग्रसर देखिँदैन ।

नेपाली राजनीतिप्रति घृणा जागेर युवाहरु राजनीति देखि टाढा हुँदै छन । भनिन्छ, एउटा रुखको छायाँमा कुनै बिरुवा हुर्किन सक्दैन , तर लहरा रुखको हाँगा समातेर टुप्पासम्म पुग्छ । त्यस्तै नेपाली राजनीतिमा पनि बुढा नेताहरुको छायाँले युवा नेताहरु माथि बढ्न नपाउँदै हराएर जाने गरेका छन् । युवाहरु लहरा जसरी एउटा रुखको टुप्पासम्म पुग्ने चेस्ठा नै गर्न पाउदैनन् । नेपाली राजनीति मा पुराना सोच भएका नेताहरुलाई आरम गर्न लगाएर युवा ले नेत्तित्व लिने बेला भएको छ । पुराना नेतालाई अभिभाबकत्व को जिम्मा दिने र युवाले देश हाक्ने बेला भएको छ ।

नेपालमा भएका परिवर्तनका प्रत्येक आन्दोलनमा युवाहरुको ९० प्रतिशत उपस्थिति रहेको छ । त्यो २००७ सालको होस् वा २०३६ को जनमत संग्रहहोस् वा २०४७ को प्रजातान्त्रिक आन्दोलन वा २०६२-६३ सालको जनान्दोलन नै किन नहोस्, प्रत्येक आन्दोलन युवाका कारण नै कम क्षतिमै निष्कर्शमा पुगेका छन् । ती सबै परिवर्तनका आन्दोलनपछि देशले स्थायीत्व नपाउँदा र राजनीतिक नेतृत्वमा युवाको सहभागिता नहुँदा युवाहरुमा चरम निरासा छाएको छ । नेपालमा अधिकांस युवा नेता ५० वर्षभन्दा बढी उमेर समुहका छन् । जबकी विकसित राष्ट्र नर्वेको अवस्था हेर्ने हो भने अधिकांस व्यक्तिले महत्वपूर्ण जिम्मेवारी ४० देखि ५० को उमेर समुहमा प्राप्त गर्छन् । ५० देखि ६० वर्षको उमेर पुग्दै गर्दा अवकाश लिई सक्छन् । तर, नेपालका मुख्य राजनीतिदलको अवस्था हेर्ने हो भने ४० देखि ५० वर्षको उमेर सम्म युवा विद्यार्थी राजनीतिमा सरिक हुन्छन् । नेपालको राजनीतिक चरित्र हेर्दा नेतृत्वमा पुग्नको लागि २० देखि ३० वर्षसम्म लाग्ने गर्छ जबकी त्यो समय सम्म त्यो व्यक्ति ६० वर्ष पार गरिसकेको हुन्छ ।

नेपालको कुल जनसंख्याको ३८।८ प्रतिशत युवाले ओगटेको छ । जनसंख्याको तुलना गर्दा युवाको प्रतिनिधित्व अहिलेको संसदमा उल्लेखनीय हुनुपर्ने हो तर नेपालको संसदमा युवाको प्रतिनिधित्व जम्मा १४ प्रतिशत मात्र रहेको छ । जुन सन्तोषजनक होइन र ४१ देखि ६० वर्षसम्मका सांसदको संख्या ६८ प्रतिशत रहेको छ । नेपालका प्रधानमन्त्री, मन्त्रीहरुको औसत उमेर नै ६० वर्षभन्दा माथि रहेको छ । विकसित देशहरुको आँकडा हेर्ने हो भने अमेरिकाको राष्ट्रपति हुँदा ओबामा ४० वर्षका थिए , डेविड क्यामरुन बेलायतका प्रधानमन्त्री हुँदा ४३ वर्षका थिए । नेपोलियन बोनापार्ट ३० वर्षमा फ्रान्सका सम्राट भएका थिए । क्युबाका नेता फिडेलक्यास्त्रो ३३ वर्षको उमेरमा राष्ट्रपति भएका थिए ।

नेपाली युवाहरुमा पनि राजनीति फोहोरी खेल हो राजनीति त राम्रो मान्छेले गर्नै हुन्न भन्ने छाप परेको छ । अब नेपालका युवाहरुले त्यो छाप मेट्नै पर्छ र राजनीतिको फोहोरी कुवामा हाम फालेर सफा गर्नै पर्ने भएको छ । नेपाली युवाहरुलाई फोहोर कुवा हेरेर बस्ने छुट अब छैन । युवाले अब पनि हेरेर मात्र बस्ने हो भने देशले यस्तै दुर्गति भोगि नै रहनेछ । देशको राजनीति सफा नगरेर देश कदापि पनि सफा हुन सक्दैन ।अहिले देखिएको पहाडदेखि मधेस सम्मको समस्या समाधान गर्नको लागि युवाले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बेला भएको छ । युवा पुस्ताले नेताहरुको पुच्छर होइन दिमाग बन्नुपर्छ ।

भारत को दिल्ली प्रान्त का मुख्यमन्त्री अर्विन्द केजरिवाल उसै चर्चित भएका हैनन् । उनले मनिषसिसोडिया , भगवतमान , राघवचडा र अन्य युवा र युवा सोच भएका ब्यक्तीको समुह बनाएका छन । जो दिल्ली का जनतामा समर्पित भएर काम गरी रहेका छन र जनता माझ पनि चर्चित छन । यो माहामरी मा धरै यस्ता नेताहरु चर्चित भएका छन तर दुर्भाग्य बस नेपालमा नेताभन्दा सामाजिक अभियन्ताहरु खटेर जनताको सेवा गरेको देखिन्छ ।

नेपाल मा सामाजिक अभियन्ता र युवा जस्तै रबी लामिछाने , भिम उपाध्याय , के पि खनाल , सन्दुक रुईत , कुलमान घिसिङ र अन्य जसले जनता को मनमा हालका बरिष्ठ नेताहरु भन्दा उच्च स्थान पाउँन सफल भएका छन । युवा ले आफ्नो ठाउँ बाट गर्न सक्ने गर्दै जान पर्दछ , र राजनीति मा आउनु पर्दछ । हाल नेपाल मा नयाँ पार्टी खोल्ने र युवा को प्रतिनिधित्व गरेका छौ भनेर भोट मग्ने पनि गरिएको छ । यस्को दुई पाटा हुन सक्छ , पहिलो यदी भारत को आमआदमि पार्टी जस्तै जनता को मनमा बस्न सक्नु पर्दछ र छोटो समयमा कम्तिमा पनि एउटा क्षेत्र को बिकासमा टेवा पुराउनु पर्दछ । दोस्रोमा यसरी खोलिएको पार्टी ले नेपालका ठुला भनिएका पार्टी को भोट काट्ने र फेरी सत्ता मा २ व सो भन्दा बडी को गठबन्धन को सरकार बन्ने र सधैं को अस्थिरता रहीरहने देखिएको छ । यस्को समाधानमा कि नयाँ खोलिएको पार्टी ले जनता को मत र मन जित्न सक्नु पर्यो नत्र नेपाल को हालको ठुला पार्टी मा प्रबेश गरी सो पार्टीमा संघर्ष गर्ने र पुरानो सोच भएका नेता हरु लाई बदल्ने र आफुले नेतृत्वत लिने काम गर्र्नु पर्दछ । यसले यो सधैं को राजनीतिक अस्थिरता मा कमी ल्याउन सक्छ । एउटा पार्टी जसको सम्पूर्ण बहुमत हुन्छ र सो पार्टी मा रहेका युवा नेताले दत्तचित्त भएर जनता को सेवा गर्दछ तब देश समृद्द को बाटोमा जान्छ । उदारणका लागि सिङगापुर , चाइना , यूरोपका थुप्रै देशहरु छन ।

नेपालमा नेताहरु जनताको भन्दा पदको माया मोहमा उल्झेको देखिन्छ । बिशेष गरी स्थानिय तहदेखी केन्द्रका नेता र पदाधिकरीहरु, साम, दाम, दन्ड, भेद प्रयोग गरी सो स्थान मा पुग्छन तर त्यहाँ पुगी सके पश्चात के गर्ने र कसरी गर्ने भन्ने थाहा हुन्न । सो कमजोरी को फाईदा लिन बाह्य शक्ती हरु हाबी हुन्छन । गलत नियत भएका ब्यापारी ,गलत नियत भएका सामाजिक व्यक्ती को जालमा त्यही नेता फस्छन र गलत काममा लाग्दछन् । यस्को धरै उदाहरण हामीले सधैं जसो पत्रपत्रीका, सामाजिक सञ्जालमा देख्न पाइन्छ । तसर्थ कुनै पद मा जाँदा त्यहाँ के गर्ने भन्ने पहिले नै अध्ययन गर्न जरुरि छ वा सो पद मा उचित व्यक्ती हुँदा राज्य को र जनता को समय, पैसा र इच्छाको कदर हुन्छ ।

युवा भनेको देशको अनमोल, अनन्त शक्ति हो । देशको भविष्यको सबैभन्दा ठूलो पुँजी हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र निर्माणको सन्दर्भमा समेट्नु आजको आवश्यकता हो । तसर्थ अब युवा शक्तिलाई निराशामा होइन, आशामा बदल्नु पर्छ । जे–जे भयो, भयो अब विगतको चिन्ता होइन, भविष्यको चिन्तन गर्नुपर्छ । जय–जयकार होइन, स्वविवेक प्रयोग गर्नुपर्दछ ।

राजनीति फोहोरी खेल हो भन्दै पन्छिने होइन, फोहोर पोखरीमै पसेर सफा गरेर निस्कने आँट गर्नु पर्दछ । पूर्व–मेचीदेखि पश्चिम–महाकाली सम्मको विशाल सेरोफेरोमा फैलिएको नेपाली भूगोलको सुन्दर, सभ्य, समुन्नत एवम् विकसित मार्ग चित्र तयार गरी कर्णाली, जाजरकोट, मुस्ताङ लगायत देशका विकट वस्तीहरुमा बसोबास गर्ने आम–नागरिकहरुको दुखान्त कथा र व्यथालाई समेट्न सक्नु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्