Logo

शीलान्यासको युग





एक समयको कुरा हो । एकादेशमा एकजना व्यक्ति सबैमाथि शासन गर्थे । त्यस देशमा राजा त थिएनन् तर शासन भने राजाकै शैलीमा सञ्चालन हुन्थ्यो । शासन चलाउने ती व्यक्ति आफूलाई प्रधानमन्त्री भन्थे र आफू नै त्यहाँको सर्वेसर्वा हुँ भन्थे । दैव पनि मुर्खसँग डराउँछ भन्छन्, त्यस देशमा पनि आमजनताका लागि यस्तै अवस्था विद्यमान थियो । प्रधानमन्त्री भनाउने ती व्यक्ति सनकी मतिका थिए र सबै काम लहडमै गर्थे । ती प्रधानमन्त्रीले आफ्ना आसेपासेलाई विभिन्न मन्त्रीका रुपमा नियुक्त गरेका थिए तर ती सबै मन्त्री थपनामात्र थिए । हुन्थ्यो त्यही जो प्रधानमन्त्री चाहन्थे । ती प्रधानमन्त्रीलाई इतिहासमा आफ्नो नाम लेखाउने बडो रहर थियो । यसका लागि उनले विभिन्न निर्माणकार्यका लागि शीलान्यासको कार्यक्रम राख्थे र त्यहाँ एक ताम्रपत्र वा शीलालेख राख्थे । शीलान्यास गरिएको योजना निर्माण होस वा नहोस उनलाई कुनै मतलब हुँदैन थियो । एकपटकको कुरा हो प्रधानमन्त्रीले यही शीलान्यासका सन्दर्भमा मन्त्रीपरिषदको बैठक राखे ।
बैठकमा छलफलका लागि विभिन्न कार्यसूचिहरु पेश भए । विगतका प्रचलनअनुसार यसपटक पनि औपचारिकता निर्वाहका लागि पर्याप्त छलफल बिना नै कार्यसूचिमा रहेका विषयहरु स्वीकृत भएको जानकारी गराइयो । प्रधानमन्त्री अर्को महत्पपूर्ण कार्यक्रममा ब्यस्त हुनुपर्ने भएकोले बैठक धेरै नलम्बिने सुइँको बैठकमा उपस्थित मन्त्रीहरुले पाइसकेका थिए ।
“माननीयज्यूहरुको कुनै कुरो छ भने अर्को पटक राख्नु होला । अहिले मलाई अलि हतार भएकोले एकदुई कुरा राखेर म आजलाई बिदा हुन्छुँ ।”– बैठक समापनको क्रममा प्रधानमन्त्रीबाट आज पनि पक्कै आफ्नो मन्तब्यमा केही न केही नौले कुरो आउने भयो भनेर सबै मन्त्रीहरुले कान ठाडो पारे ।
“लोकतान्त्रिक पद्धतिअनुरुप निर्वाचन गर्न खोज्दा हमीलाई घेराबन्दीमा पारिएको विषयमा यहाँहरुलाई मैले धेरै भन्नै पर्दैन । यहाँहरुलाई अवगत नै भएको विषय हो । अब ढिलोचाँडो संविधानसम्मत तवरले निर्वाचन गर्नुपर्ने चुनौति हाम्रोसामु खडा भएको छ । विद्यमान संसदले हामीले सोचेअनुरुप हामीलाई काम गर्ने वातावरण नै दिएन । अब हामीले सोचेअनुरुपको स्पष्ट बहूमत भएको संसद निर्माण गर्नुपर्ने भएको छ । त्यसैले निर्वाचन हुनेमा शंका नगर्न र निर्वाचनमा आफ्नै दलले भारी मतले जित्ने विषयमा पनि कुनै दुविधा नराख्न म तपाईहरु सबैलाई आग्रह गर्दछुँ ।”– मन्त्रीहरुको नाडी छाम्न शिर ठाडो पार्दै प्रधानमन्त्री एक छिन रोकिए । बैठकमा एकछिन मौनता छायो ।
एक ढिक्का भएको पार्टी छिन्नभिन्न भएको अवस्थामा आगामी निर्वाचनमा बहुमत प्राप्त हुने कुरामा भने कतिपयलाई धुकचुक नै थियो । वस्तुगत आधारविना नै बोल्ने बानी भए ता पनि गफले कसैलाई जित्न नदिने, त्यसमाथि कसैको तर्कसंगत कुरो नसुन्दिने भएपछि प्रधानमन्त्रीको आशयविरुद्ध जाँदा उल्टै अरिगांलको गोलामा हात हालेको जस्तै हुने भएकोले मन्त्रीण्ंडलका सदस्यहरु एकहोरो श्रवण गर्न अभ्यस्त भइसकेका थिए । त्यसैले प्रधानमन्त्रीले बोलेको हरेक शब्दको मुक्तकण्ठले प्रशंशा गर्नु नै सबैले श्रेयकर ठान्थिए । अरु बेला पनि प्रधानमन्त्रीको बोली सुनेर नतमस्तक भएको भान दिलाउने मन्त्रीहरुले यसपटक पनि मुन्टो हल्लाएर अगाडि बढ्न सहमति दिए ।
परिस्थिति विगतभन्दा प्रतिकूल रहेको अवस्थामा बहुमत कसरी ल्याउन सकिएला भन्ने विषयमा असमञ्जसमा परेर घोत्लिएका मन्त्रीहरुको अनुहार पढेपछि प्रधानमन्त्रीले उपस्थित मन्त्रीहरुको मनोबल उच्च बनाउन मजैले ढाडस दिनुपर्ने आवश्यकता देखिएको ठहर गर्दै निर्धक्क आफ्नो धारणा राखे – “इतिहासमै नभएको विकास हाम्रो सरकारले गरेको छ । आगामी दिनमा पनि यो देश हामीबाहेक अरु कसैले बनाउन सक्दैन भन्ने कुरो जनताले बुझिसकेका छन् । बेलाबखतमा तपाई–हाम्रै कमजोरीका कारण भ्रष्टचारका केही घटनाहरु बाहिरिँदा दुई चारजानाले हल्लाखल्ला गरे पनि विगतका सरकारहरुको तुलनमा हाम्रो सरकार कम भ्रष्ट रहेको कुरा जनताले पत्याइसकेका छन् । सरकारमा आएपछि हामीले सञ्चालन गरेको विभिन्न गतिविधिबाट जनता हामीप्रति नतमस्तक छन् । जनाता हामीसंँग खुसी छन । जनता खुसी भएपछि निर्वाचनमा मत पनि हामीले नै पाउने हो । मत पाएपछि हाम्रो बहुमत नहुने कुरै भएन । खुसी जनातालाई कूप्रचार गरेर अन्य दलहरुले दिग्भ्रमित पार्न सक्छन । यसतर्फ हामी सचेत रहनुपर्छ । हाम्रा विरोधीलाई कुन बेला, कहाँ, कसरी ठेगान लाउने र आवश्यक पर्दा तिनलाई जुनसुकै बेला परास्त गर्न सक्ने अचुक औषधि मसँग भएपछि तँपाईहरुले चिन्ता गर्नै पदैन । तपाईहरुको आडभरोस भए काफी हुन्छ मलाई । जनतालाई दिग्भ्रमित हुन नदिन र खुसी तुल्याइरहन हामीले निरन्तररुपमा कुनै न कुनै अस्त्रहरु प्रहार गरिरहनु पर्दछ । यसको अर्थ हामीले सरकार विकास निर्माणका काममा अहोरात्र लागिरेहको आभास जनतालाई दिइ रहनुपर्छ । कुनै न कुनै नौला कार्यक्रमहरु ल्याइरहनु पर्छ । तत्कालै शीलान्यास वा उद्घाटन गर्ने खालका कार्यक्रमहरु छन भने ल्याउनुस । निर्माणाधीन परियोनाहरु सतप्रतिशत पुरा हुनैपर्छ भन्ने पनि छैन । ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएका छन् भने उद्घाटन गर्दिइ हालौं । यदि तपाईहरुको नजरमा तुरुन्तै उद्घाटन गर्ने परियोजना तथा कार्यक्रमहरु छैन भने शिलान्यसका कार्यक्रमहरु त गर्न सकिन्छ ।”
प्रधानमन्त्री एकछिन अडिए । बैठक कक्षवरिपरि आफ्नो आँखा घुमाए । फेरी एकपटक सबै मन्त्रीहरुको अनुहार पढे । मन्त्रीहरु भने एकछिन एकआपसमा मुखामुख गरे । अनि प्रधानमन्त्रीकै मुहारमा नजर मिलाएर अगाडि बढ्न अनुमति दिए ।
प्रधामनमन्त्रीले आफ्नो मन्तब्य अगाडि बढाए– “फेरी पनि म तपाईहरुलाई भन्छु , तपाईहरु ढुक्क हुनुस । आगामी निर्वाचनमा हामी प्रचण्ड मतले जित्छौ । तर यसका लागि बाँकी अवधिमा जनताको ध्यान निरन्तर हाम्रो सरकार र दलमा केन्द्रित गराइ राख्न जरुरी छ । तसर्थ, म तापाईहरुलाई आग्रह गर्न चाहन्छु । आआफ्ना मन्त्रालयबाट उद्घाटन÷शीलान्यासका कार्यक्रमहरु चाँडोभन्दा चाँडो पेश गर्नुहोस । हामीले जसरी पनि विकास गर्ने हो, त्यसैले शीलान्यास गर्नलाई योजना तथा बजेटमा परेकै कार्यक्रम हुनुपर्छ भन्ने पनि छैन । योजनामा, बजेटमा पार्नु पर्ने काम पछि गर्दै गरौंला । त्यसमाथि शीलान्यासका लागि तत्कालै बजेट चाहिँदैन । जति शीलान्यास गरे पनि हुन्छ । अहिले धमाधम शीलान्यास गरियो भने पछि उद्घान गर्न पाइन्छ । त्यसैले उद्घाटन गर्नका लागि पनि शीलान्यसलाई प्राथमिकता दिन जरुरी हुन्छ । हाम्रो पहिलो कार्यकाललाई हामीले शीलान्यासको युगको रुपमा लिदा पनि हुन्छ । बजेटले भ्याएसम्म कार्यान्वयन गरौंला, नभए अर्को कार्यकाल छँदैछ । आगामी निर्वाचनको आचारसहिंता घोषणापूर्व नै धेरैभन्दा धेरै शीलान्यासका कार्यक्रमहरु सञ्चालन गर्न सक्यौं भने हामीप्रति जनताको विश्वास बढेर जानेछ । प्रतिकूलताका बाबजूद पनि यो सरकार विकासप्रेमी रहेको सन्देश गाँउगाँउमा पुग्नेछ । यो सरकार काम गर्न खोज्दो रहेछ, विकासविरोधीहरुले पो काम गर्न नदिएका रहेछन भन्ने सन्देश ब्यापकरुपमा फैलिने छ । यति भएपछि निर्वाचनमा हाम्रो दलले बहुमत नल्याउने प्रश्नै भएन ।”
प्रारम्भमा अलमलमा परेका मन्त्रीहरु पनि प्रधानमन्त्रीको मन्तब्य सुनेपछि उत्तरार्धमा अलि हौसिए । सुरुमा मनगढन्ते लाग्ने जस्तासुकै विषयवस्तुहरुलाई पत्यारिलो बनाउन माहिर प्रधानमन्त्रीको वाक्कला र वाक्शैलीको कौशलताबाट यसपटक पनि सबै मन्त्रमुग्ध भए । प्रधानमन्त्रीले प्रस्तुत गरेको रोचक खुराकबाट सबैले आआफ्नो मनोबल बढेको अनुभूति गरे । उद्घाटनका लागि लायकका कार्यक्रमहरु तत्काल नरहेको हँुदा शीलान्यसका कार्यक्रमहरुको खोजी गरी छिटोेभन्दा छिटो पेश गर्ने प्रदिबद्धता मन्त्रीहरुले बैठकको अन्त्यमा जाहेर गरे ।
भोलीपल्ट मन्त्रालयमा उपस्थित हुनासाथै मन्त्रीहरुले पनि आआफ्ना मातहतका सचिवहरुलाई तत्कालै शीलान्यसका लागि कार्यक्रमहरु पेश गर्न निर्देशन दिए । पेश गरिने आयोजनाहरु जतिसक्दो आकर्षक र महत्वाकांछी हुनुपर्ने पनि जानकारी गराए । सचिवहरुबीच खैलाबैला मच्चियो । बिनापर्याप्त गृहकार्य, अध्ययन एवं छलफल र आवश्यक बजेटको पूर्वानुमान नगरी कुनै पनि परियोजना शीलान्यासका कार्यक्रमहरु गर्न उचित नहुने राय सचिवहरुले आआफ्ना मन्त्रीहरुलाई सुझाए । मन्त्रीहरुको अडानको अगाडि सचिवहरुको कुनै जोड चलेन । कुनै पनि योजना तथा कार्यक्रम तर्जुमा गर्दा ब्यक्तिगत लहडभन्दा यथार्थपरक, मौजुदा नितीनियम र विधिसम्मत हुनुपर्ने विषयमा जानकार हुँदाहुँदै पदीय जिमेवारी थाँती राखेर मन्त्रीका अगाडि लाचार हुनुपर्ने बाध्यता यसपटक पनि सचिवहरुका सामु आइलाग्यो । नचाहँदा नचाहँदै पनि शीलान्यासका कार्यक्रमहरु निर्देशन बमोजिम नै पेश भए ।
शीलान्यासका कार्यक्रमहरु पेश भएकै दिन, बेलुका समाचार आयो:
“सरकारद्वारा विकास निर्माणलाई तिब्रता दिन एक दर्जनभन्दा बढी परियोजनाहरु सार्वजनिक । सम्बन्धित मन्त्रलयहरुसंगको समन्वयमा अनुृकुल समय तय गरी सम्बन्धित आयोजनाको प्रधानमन्त्रीद्वारा क्रमिक रुपले शीलान्यास हुनेछ । सार्वजनिक गरिएका आयोजनाहरु निम्न अनुसार रहेका छन् ,
१.अन्तरप्रादेशिक विद्युत रेलमार्ग २. पालिका–पालिका विद्युत रेलमार्ग ३. प्रत्येक पालिकामा एयरपोर्ट ४. प्रत्येक पालिकामा ड्राइपोर्ट ५. पूर्व–पश्चिम पहाडी केवलकार ६. पानी जहाज पयिोजना ७. नदी अन्तरबन्धन परियोजना ८. प्रत्येक प्रदेशमा रसायनिक मल कारखाना ९.एक महानगर एक मेट्रो रेल १०. एक पालिका एक भ्यू टावर ११. एक पालिका एक प्राविधिक शिक्षालय १२. एक पालिका एक खेलकुद रङ्गशाला १३. एक पालिका एक शीतघर १४. एक वडा एक स्मार्ट कृषि बजार स्थल
यसका साथै कोभिडको महामारीलााई मध्यनजर गर्दै स्थिति सहज नहुन्जेल आयोजना शीलान्यासका कार्यक्रमहरु भर्चुअल माध्यमबाटै सञ्चालन हुने कुरा सरकारका प्रवत्ताले जनाएका छन् ।”

प्रतिक्रिया दिनुहोस्