Logo

अक्सिमिटरको कालोबजारी गर्ने सात जना प्रहरी नियन्त्रणमा



काठमाडौँ । कोरोना संक्रमितको अक्सिजन लेभल नाप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारी गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरूलाई पक्राउ गरेको हो । महाशाखाले ७ देखि ८ सय पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गर्ने ७ जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा बायोप्लस फर्माका सञ्चालक २९ वर्षीय शिखर श्रेष्ठ, बाजुरा घर भएका २१ वर्षीय थुमराज उपाध्यय, नानोटेक फर्माका सञ्चालक २७ वर्षीय शेषकान्त अधिकारी, चिरायू केडी ग्रुपका ३९ वर्षीय पुष्कर घिमिरे, अहा इन्डष्ट्रिज प्रालिका सञ्चालक ४४ वर्षीय विशाल आचार्य, सिन्धुपाल्चोक घर भएका २१ वर्षीय सन्तोष भण्डारी र भारत राजस्थान घर भएका ५५ वर्षीय जगदीशप्रसाद रानासरियालाई रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले ८ सयसम्म पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म बिक्री गरेको पाइएको छ । प्रहरीले उनीहरुको विभिन्न फर्मा तथा औषधि पसलबाट ७ सय ६५ थान अक्सिमिटरसमेत बरामद गरेको महाशाखाले जानकारी दिए । प्रहरीले बरामद गरेको केही अक्सिमिटर नक्कली र कम गुणस्तरको भएको खुलेको छ ।

पक्राउ परेका सबैलाई कालोबजारी ऐनअन्तर्गत कारबाहीको प्रकृया अगाडि बढाएको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्