Logo

माधव समूह धर्म संकटमा : प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभन्दा सामूहिक राजीनामा दिनु उत्तम



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निधो गरेसँगै माधव कुमार नेपाल पक्षका सांसदहरुलाई धर्मसंकट परेको छ । ओलीलाई प्रधानमन्त्री पदमा बसेको देख्न नचाहने तर विपक्षमा पनि भोट गर्न नसक्ने कारण उनीहरुलाई धर्मसंकट परेको हो ।

जसका कारण माधव समूहका सांसदबीच सामूहिक राजीनामा दिनेबारे छलफल सुरु भएको छ । प्रधानमन्त्री ओलीले पहिले विश्वासको मत हाल्न लगाएर त्यसपछि कारवाही गर्ने तयारी गरेको सो समूहका नेताहरुको गुनासो छ ।

बालुवाटारमा केपी ओलीको नेतृत्वमा बसेको बैठकले संसदबाट विश्वासको मत लिइसकेपछि माधव नेपाल पक्षका सांसदहरुलाई कारवाही गर्ने रणनीति तयार पारेको बुझिएकाले सामुहिक राजीनामाको विकल्पमाथि छलफल सुरु भएको माधव–झलनाथ समूहका नेता बताउँछन् ।

पार्टीभित्रको अन्तरकलह यथावत राखेर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएका छन् । प्रधानमन्त्री ओली विश्वासको मत लिने निर्णयमा पुग्‍नुमा षडयन्त्रको गन्ध आएको भन्दै आफूहरु सामूहिक राजीनामा दिने विषयमा छलफल भएको नेता घनश्याम भुसालले बताएका छन् ।

नेपाल पक्षकै अर्का एक सांसदका अनुसार ओलीलाई विश्वासको मत दिनुभन्दा राजीनामा दिएर विपक्षीलाई सजिलो बनाउने गरी रणनीति बनाउने विषयमा छलफल भएको छ । यद्यपि निर्णय नै त्यही भने भइसकेको छैन । ती नेताका अनुसार ओलीलाई भोट दिनको निम्ती आफूहरुका माग कार्यान्वयन गर्नुपर्छ । तर प्रधानमन्त्रीले भने नेपाल पक्षको माग कुनै पनि हालतमा पूरा नगर्ने अथवा आफ्ना निर्णयबाट पछि हट्ने सम्भावना छैन । त्यसकारण पनि राजीनामाको विकल्प नदेखिएको बताइएको छ ।

प्रतिनिधिसभाको गणितलाई केपी ओलीको प्रतिकूल बनाउन र माधव नपाल पक्षकै नेताहरूका भनाइमा ‘ओलीको दम्भलाई ओराल्न’ सांसद पदबाट सामूहिक राजीनामा राजनीतिक निर्णय हुनसक्छ । नेपाल पक्षका सांसदले राजीनामा दिएपछि प्रतिनिधिसभामा कांग्रेस, माओवादी र जसपाको उपेन्द्र बाबुराम पक्षको बहुमत पुग्छ ।

हाल प्रतिनिधिसभामा सभामुखसहित २६७ सांसदको बहुमतका लागि १३४ चाहिन्छ । कांग्रेसको ६१, माओवादीको छक्कवहादुर लामासहित ५० र उपेन्द्र बाबुराम पक्षको कम्तीमा १६ सांसद हुने अनुमान छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको एक भोट पनि विपक्षी गठबन्धनमा जानेछ ।

त्यति हुँदा पनि १२९ सिटमात्र हुन्छ । ओलीविरुद्ध अविश्वास प्रस्ताव आएको भए माधव पक्षले फ्लोर क्रस गरेर मत दिँदा सरकार ढल्थ्यो । माधव पक्षका सांसदहरूमाथि त्यसपछिमात्र कारवाही हुँदा कम्तीमा ओलीको साटो शेरबहादुर देउवाको नेतृत्वको सरकारले चुनाव गराउँथ्यो ।

अविश्वास प्रस्तावअघि नै प्रधानमन्त्रीले विश्वासको मत लिन खोजेपछि फ्लोर क्रस गरेर पद गुमाउनुभन्दा सामूहिक राजीनामा दिएर ओलीलाई अल्पमतमा पारेर सत्ताच्यूत गर्नु उपयुक्त हुने विकल्पमा छलफल भइरहेको माधव पक्षका एक नेताले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्