Logo

भारत पश्चिम बंगालमा ममता बेनर्जीलाई हराउदै को शुभेन्दु अधिकारी शानदार जित



भारत पश्चिम बंगालको विधानसभा चुनावमा आफ्नो पार्टीलाई शानदार जित दिलाउने ममता बेनर्जी भने आफ्नो चुनाव क्षेत्रमा पराजित भएकी छन् । विधानसभाको नन्दीग्राम क्षेत्रबाट उम्मेदवार बनेकी मुख्यमन्त्री तथा तृणमुल कांग्रेसकी नेतृ बेनर्जी पराजित भएकी हुन् । सुरुमा उनले भारतीय जनता पार्टी ९भाजपा०का शुभेन्दु अधिकारीलाई १२ सय मतले पराजित गरेको खबर भारतीय सञ्चारमाध्यममा आएको थियो । तर निर्वाचन आयोगले आइतबार अबेर जारी गरेको आधिकारिक मत परिणाममा बेनर्जी पराजित भएकी हुन् । तृणमुल कांग्रेसकी प्रमुख बेनर्जीका पूर्व सहयोगी रहेका तथा चुनावअघि भाजपामा प्रवेश गरेका अधिकारी नन्दीग्राममा विजयी भएका हुन् । अधिकारीले बेनर्जीलाई १९ सय ५६ मतले पराजित गरेका हुन् ।

सन् २०१६ को विधानसभा चुनावमा पनि नन्दीग्राम क्षेत्रमा अधिकारी नै विजयी भएका थिए, त्यो बेला उनी बेनर्जीका विश्वास पात्र तथा तृणमुल कांग्रेसका महत्वपूर्ण नेता थिए ।आइतबार भएको मतगणनामा नन्दीग्राम सिटलाई लिएर अन्त्यसम्मै अवस्था स्पष्ट थिएन । बेलुकातिर बेनर्जी १२ सय मतले जितेको खबर आयो । त्यसको केही समयपछि अधिकारी १६ सय मतले विजयी भएको खबर आउन थाल्यो । अन्ततः निर्वाचन आयोगले जारी गरेको अन्तिम परिणाममा शुभेन्दुले बेनर्जीलाई १९ सय ५६ मतले पराजित गरे । घरी अधिकारी घरी बेनर्जीको अग्रताको शिलशिला जारी रहँदा राति सवा ११ बजे निर्वाचन आयोगले अन्तिम नतिजा जारी गर्दा अधिकारी विजयी भए । अधिकारीले एक लाख ९ हजार ६७३ तथा बेनर्जीले एक लाख ७ हजार ९३७ मत पाएकी छन् । विधानसभाका २९४ मध्ये २९२ सिटको मतपरिणम पूर्ण वा लगभग अन्तिम चरणसम्मको आइपुग्दा तृणमुल कांग्रेस ९टिएमसी० ले २१३ सिटमा जित या अग्रता कायम राखेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी तथा गृहमन्त्री अमित शाह एवम् उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहितको उपस्थितिमा पूरा शक्ति लगाएर ममता विरुद्ध चुनावी अभियान चलाएको भाजपा भने पश्चिम बंगालमा स्तब्ध भएको छ । उसले ७७ सिटमा जित या अग्रता कायम गरेको छ ।यस्तै तमिलनाडूमा २३४ सिट मध्ये डिएमकेले १५८ तथा एडिएमकेले ७६ सिटीमा जित या अग्रता बनाएका छन् । केरलका १४० सिट मध्ये एलडिएफले ९९ तथा कांग्रेसले ४१ सिट जितेका छन् ।असममा भाजपाको सरकार कायम रहने भएको छ । १२६ सिटमध्ये भाजपाले ७५ तथा कांग्रेसले ५० सिट जितेका छन् । यस्तै पुद्दुचेरीका ३० सिट मध्ये एनआरसीले १६, कांग्रेसले ९ तथा अन्यले पाँच सिटमा जित हाँसिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्