Logo

मोदीको विध्वंशकारी मूर्खताः भारतबाट सिक्नु पर्ने पाठ



‘गर्वका साथ के भन्न सकिन्छ भने भारतले दुरदर्शी प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम, बुद्धिमान र प्रतिबद्ध नेतृत्वमा कोभिड १९ लाई हराएको छ। कोभिडविरुद्धको लडाइँमा भारतलाई गौरवपूर्ण र विजयी राष्ट्रका रुपमा दुनियाँसामु परिचित गराएकोमा हाम्रो पार्टी नेतृत्वको जयजयकार गर्दछ।’

भारतको सत्तारुढ दल भाजपाले फेब्रुअरीमा पारित गरेको संकल्पका शब्द हुन् यी।


तर, संक्रमण ह्वात्तै बढेपछि अहिले भारत ठूलो संकटमा छ। अस्पतालमा सघन उपचार कक्ष अपुग भएका छन्। अक्सिजन रित्तिएको छ। हतारमा तयार गरिएका चिताहरुमा सामूहिक अन्त्येष्टि गरिँदैछ। पीडाका मुटु हल्लाउने तस्बिरहरु विश्वभर प्रकाशन भइरहेका छन्। दैनिक दुई हजारको मृत्यु भइरहेको सरकारी आँकडा छ। तर, शवगृहहरुको सर्वेक्षणलाई हेर्ने हो भने सो संख्या त्योभन्दा दुईदेखि पाँच गुणा बढी हुनसक्छ।

महामारीले घमण्डलाई चकनाचुर पार्छ। साह्रै सुस्त गतिमा काम गरेको वा बेलै नभई हतारमा विजय घोषणा गर्दाको दुःखद् परिणाम भोग्ने नरेन्द्र मोदी पहिलो नेता होइनन्।


चीनको वुहानमा महामारी सुरु भएपछि सी चिनफिङको सरकारको पहिलो प्रतिक्रिया थियो– नराम्रो समाचारमा बन्देज लगाउने। अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार भाइरस चामत्कारिक रुपमा गायब हुने अनुमान गरेका थिए। ब्राजिलमा राष्ट्रपति जायर बोल्सोनारोले त लकडाउनविरोधी प्रदर्शनमा सहभागी भएर भाषण नै ठोके। बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनले निकै ढिला लकडाउन घोषणा गरे। युरोपेली संघले खोप किन्ने बेलामा गल्ती गर्यो।

तर, मोदी सरकारले ती सबैभन्दा अलि फरक र विध्वंसकारी गल्ती गरेको छ। बेला नआई संकट अन्त्यको घोषणा गरेपछि भारत सरकारले छिटो सबै क्षेत्र खुला गर्याे। पश्चिम बंगालको महत्वपूर्ण चुनाव जित्ने आकांक्षाले सत्तारुढ भाजपाले विशाल चुनावी र्‍याली आयोजना गर्‍यो। कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहँदा केही दिनअघि मात्र मोदी आफैँले विशाल भीड जम्मा गरे र त्यो देख्दा आफू ‘उल्लासित’ भएको बताए। दशौँ लाख मानिस सहभागी हुने कुम्भ मेलालाई महामारीको बीचमा पनि सञ्चालन हुन दिइयो। अझ हिन्दु राष्ट्रवादी भाजपाले मेलाको प्रबद्र्धन समेत गर्‍यो।

भाइरसको पहिलो लहर सकिएपछि संक्रमण घट्न थाल्यो। तर, त्यो समयलाई दोस्रो लहरका लागि राम्रो तयारी गर्नबाट भारत सरकार चुक्यो। आपतकालीन अक्सिजन आपूर्ति कम छ भन्ने स्पष्ट थियो। भारत विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक हो। तैपनि सरकारले स्थानीय खोप निर्मातालाई अर्डर दिन ढिलाइ गर्‍यो। फाइजरजस्ता प्रमाणित भइसकेका विदेशी खोपलाई अनुमति दिने प्रक्रियालाई पनि भारतले सुस्त पारिदियो। बरु, भारतमै विकसित खोपको प्रबद्र्धन गर्नतिर लाग्यो।

भारतमै खोपको आपूर्ति निकै कम थियो। तथापि, सरकारले खोप निर्यात गरिरह्यो। यसमा केही हदसम्म राष्ट्रिय अभिमानले पनि भूमिका खेलेको छ। ‘विश्वको औषधालय’ भारत भन्ने विचारलाई सरकारले प्रबद्र्धन गर्यो। यसको पृष्ठभूमिमा चीनसँगको भूराजनीतिक टक्करले काम गरेको देखिन्छ। किनभने चीनले आफ्नो प्रभाव विस्तारका लागि खोप कूटनीतिको प्रयोग गरिरहेको छ। अर्कोतिर अमेरिका र बेलायतले खोप निर्यात गर्न नमानिरहेको सन्दर्भमा दिल्लीले सहयोग गर्दा दिन तयार हुँदा त्यसले सकारात्मक सन्देश पनि दियो। तर, अहिले भारतले खोप निर्यातलाई प्रतिबन्धित गरेको छ। विदेशी खोपलाई अनुमति दिने प्रक्रिया पनि तीव्र बनाएको छ।

यो संकट सुरु हुँदा मोदीको लोकप्रियताले आकाश छोएको स्थिति थियो। तर, अहिले उनी आलोचनाको केन्द्र बनेका छन्। वर्षौँसम्म शक्ति केन्द्रिकृत गरेका मोदीले अहिले कोभिड–१९ सँगको लडाइँको बोझ भने राज्य सरकारको थाप्लोमा सार्न चाहेको देखिन्छ।

भारतको दुर्दशाको असर विश्वभर पर्छ। पश्चिममा महामारीलाई राष्ट्रिय संकटको शृंखलाको रुपमा हेर्ने प्रवृत्ति अहिले पनि छ। जसअनुसार मुलुकहरु भाइरससँग सफलतापूर्वक कसरी लड्ने भनेर आपसमा प्रतिस्पर्धा गर्छन्। तर, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अडानम गेब्रियसिसले भनेझैँ कोभिड १९ अन्तर्राष्ट्रिय डढेलो हो। ‘त्यसैले तपाईंले कुनै एक हिस्सामा मात्रै आगो निभाउनुभयो भने बाँकी हिस्सा डढिरहनेछ।’ अन्ततः यो आगो फेरि एक पटक फैलिने सम्भावना ज्यादा छ। आगो निभाइसकिएको ठाउँमा पनि फेरिसल्किन सक्छ।

भारतबाट फर्किएकाहरुलाई कठोर क्वारेन्टिनमा राख्न ढिला गरिएको भन्दै बेलायतमा यसअघि नै चिन्ता प्रकट गर्न थालिएको छ। किनभने भारतमा फेला परेको भाइरसको नयाँ भेरिएन्ट बढी संक्रामक र खोप–निरोधक हुनसक्ने हुनाले बढी खतरनाक मानिएको छ।

यतिबेला बाहिरी विश्वले भारतलाई स्वास्थ्य सामग्री सहयोग गर्नु मानवीय र व्यवहारिक दुवै आवश्यकता हो। भर्खरै बाँकी विश्वले सहयोग गर्न पनि थालेका छन्। अमेरिकाका लागि यो भूराजनीतिक आवश्यकता पनि हुनसक्छ। किनभने चीनसँग बढ्दो टक्करका बीच अमेरिका भारतलाई आफ्नो महत्वपूर्ण सहयोगी मान्छ। बाइडेन प्रशासनले भारतमा खोप निर्यात गर्न अस्वीकार गरेपछि मुलुकभर अमेरिकाविरोधी भावना फैलिएको छ। जुन भावना विमानबाट भेन्टिलेटर र अन्य उपकरण पठाउँदैमा सकारात्मक नबन्न सक्छ।

भारतमा भर्खरैसम्म जस्तो किसिमको आत्म–प्रशंसा देखिन्थ्यो, त्यसबाट बाँकी विश्व जोगिन आवश्यक छ। उदाहरणका लागि बेलायतमा संक्रमितको संख्या घट्दैछ, खोप लगाउनेको अनुपात बढ्दैछ। यसले खतरनाक सहजता पैदा गर्न सक्छ। जस्तो सहजता दुई महिनाअघि भारतले महसुस गरेको थियो।

भारतबाट सिक्नुपर्ने पाठ हो– हामीले असामयिक रुपमा उत्सव मनाउनु हुँदैन, अभिमान पाल्नु हुँदैन। महामारीमा देखिने कुनै पनि सुधारलाई हामीले भविष्यमा आउनसक्ने अर्को लहरका लागि तयारी गर्ने अवसरका रुपमा प्रयोग गर्नुपर्छ र महामारीविरुद्धको अन्तर्राष्ट्रिय लडाइँलाई सघाउनुपर्छ। भारत कोभिड–१९ को अर्को दुःखान्त भोग्ने अन्तिम मुलुक हुनेछैन।

(गिडियन राकमेन, बेलायती पत्रकार हुन् । अप्रिल २६ मा फाइनान्सियल टाइम्समा प्रकाशित लेख साभार)

प्रतिक्रिया दिनुहोस्